आफ्नै देशका नागरिक खुला आकाशमुनि आफ्ना प्रियजन सम्झेर रोइरहेका बेला, आफ्नो खुसीको प्रदर्शन खुल्लम खुल्ला अरुलाई बिपद् परेको बेला कति र कसरी गर्ने भन्ने न्यूनतम विवेक हामीमा हुनुपर्छ।
आज बिहान एउटा अखबारको पहिलो पानामा रसुवा/नुवाकोट तिरको बाढीसम्बन्धी समाचार पढ्दा म एकछिन रोकिएँ। एउटा तस्वीरमा हिलो, ढुंगा र भग्नावशेषबीच उभिएका एकजना मानिस थिए। उनको हातमा केही थिएन तर आँखामा हराएको संसारको खोजी स्पष्ट झल्किन्थ्यो।
समाचार पढ्दै जाँदा अर्को एउटा व्यक्ति बर्बराइरहेको खबर थियो, “मेरो घर कहाँ गयो? मेरी आमा कहाँ हुनुहुन्छ? मेरा बच्चा कहाँ छन्? हिजोसम्म यहीँ त थिएँ! यही आँगनमा, यही घरभित्र। आज मसँग बाँकी के छ?”
अखबारको पाना पल्टाउन खोजेँ तर सकिनँ। मन त्यहीँ रसुवाको भग्नावशेषमा गएर अडियो। एकजना आमा आफ्ना सन्तानका साना सानानसामान खोजिरहेकी छिन्। अर्को एकजना बाबु माटो र ढुंगाका थुप्रा पन्छाउँदै बराएको छोराको पुरानो तस्वीर र दाइ दाइ भन्दै रोइरहेकी छोरीको स्कुलका किताब भेटिन्छ कि भनेर शून्य दृष्टिले हेरिरहेका छन्। कसैले घरको छानो गुमाएका छन्, कसैले जीवनसाथी, कसैले सन्तान र कसैले त जीवनभरको हाँस्ने कारण नै।
सरकारले अब यी निष्ठुरी मनलाई बिउँताउन भएपनि यसमा एउटा फरक र सार्थक पहल गर्नुपर्छ। राष्ट्रिय शोक तथा ऐक्यबद्धता महिना घोषणा गरिनुपर्छ।
रसुवाको बगरमा पानी मात्र बगेको छैन। त्यहाँ सपना बगेका छन्, सम्झना बगेका छन् र जीवनभर जोडेको संसार बगेको छ। अब बाँकी छ त एउटा लामो सुस्केरा र कहालीलाग्दो शून्यतामात्र।
भाग्यमानी हामी सुरक्षित घरका झ्यालभित्र बसेर त्यो पीडाको अनुमान मात्र गर्न सक्छौँ। तर जसले आफ्नै आँखाअगाडि प्रियजनलाई उर्लिएको भेलमा हराएको देख्यो, जसले आफ्नै हातले चिसो माटो पन्छाउँदै आफ्नो रगतको नाता खोज्यो, उसको मनभित्र उठेको विपत्ति कसरी यति चाँडै शान्त हुन्छ र?
भाग्यमानी हामी समाचार पढ्छौँ, मन दुखाउँछौँ, सामाजिक सञ्जालमा केही शब्द कोर्छौँ र आँखा रसाउँछौँ। अनि केहीबेरमै आफ्नै दैनिकीमा फर्किन्छौँ। तर रसुवा र नुवाकोटमा कसैको सिंगो दैनिकी नै बाढीसँगै बगेर गएको छ। हिजो जहाँ बिहानको उज्यालो हुन्थ्यो, आज त्यहाँ भग्नावशेष छ। जहाँ बच्चाको कोलाहल सुनिन्थ्यो, आज त्यहाँ बाक्लो सन्नाटा छ। जहाँ चुलो बलेर जीवन चल्थ्यो, आज त्यहाँ भलको लेदोको थुप्रो छ।
अनि यही बेला हाम्रो डिजिटल दुनियाँमा अर्को पाटो पनि देखिन्छ। तीज र यस्तै चाडका उत्सव, नाचगान, भोजभतेर र उल्लासका दृश्य देखाउने फोटो, रील र टिकटक। चाडपर्व मनाउनु हुँदैन भन्ने होइन। हुँदै होइन! दुःखका बीच पनि जीवनले आफ्नै गति लिन्छ। तर देशको एउटा कुनामा आफ्नै देशका नागरिक खुला आकाशमुनि आफ्ना प्रियजन सम्झेर रोइरहेका बेला, आफ्नो खुसीको प्रदर्शन खुल्लम खुल्ला अरुलाई बिपद् परेको बेला कति र कसरी गर्ने भन्ने न्यूनतम विवेक हामीमा हुनुपर्छ। सायद मानवताको सबैभन्दा ठूलो परीक्षा यही हो। आफू खुसी हुँदा पनि अरूको आँसु देख्न सक्ने अन्तर्दृष्टि।
अझ ठुलै पीडाको कुरा त के हो भने, विदेश, समुद्रपारि र सीमापारिका अपरिचित मानिसले समेत नुवाकेट र रसुवाको यो व्यथा सुनेर सहानुभूतिको हात बढाइरहेका छन्। तर आफ्नै आँगनमा आफ्ना दाजुभाइ दिदीबहिनीको यो हालत देख्दा हाम्रो संवेदना किन यति सुस्त र कमजोर देखिन्छ?
सरकारले अब यी निष्ठुरी मनलाई बिउँताउन भएपनि यसमा एउटा फरक र सार्थक पहल गर्नुपर्छ। राष्ट्रिय शोक तथा ऐक्यबद्धता महिना घोषणा गरिनुपर्छ। तर यो महिना औपचारिक शोक वक्तव्य निकाल्ने वा मैनबत्ती बाल्ने कर्मकाण्डमा सीमित नहोस्। यो एकअर्काको आँसु पुछ्ने, पीडितहरूसँग काँध मिलाएर उभिने, भत्किएका मन जोड्ने र सुस्ताउँदै गएको मानवीय संवेदनालाई पुनर्जीवित गर्ने राष्ट्रिय अभियान बन्नुपर्छ।
अनि प्रत्येक संस्था र कार्यालयमा र विशेष गरेर विद्यालयमा करुणाका कुराहरू सिकाइनुपर्छ। सञ्चारमाध्यमले पीडालाई सनसनी होइन, संवेदनाका साथ प्रस्तुत गरून्। सामाजिक सञ्जालमा आरोप प्रत्यारोपभन्दा सहयोगका स्वर गुन्जियून्। सक्षम वर्गले आफ्नो सामर्थ्यअनुसार खुला हृदयले सहयोगको हात बढाओस्।
किनकि विपद्मा परेकालाई चामल, त्रिपाल र औषधिको त खाँचो छ नै तर त्यसभन्दा पनि बढी उनीहरूलाई एउटा कुराको खाँचो हुन्छ: आफू यो देशमा एक्लो छैन भन्ने बलियो अनुभूति।
कसैले उनीहरूको चिसो हात समातेर भनिदिए हुन्थ्यो। तिमी एक्लो छैनौ। तिम्रो यो कहालीलाग्दो रातमा हामी पनि तिमीसँगै छौँ। तिम्रो घरको भग्नावशेषमा तिमी एक्लै रोइरहेका छैनौ। आज सिंगो नेपाल तिमीसँगै रोइरहेको छ।
सायद अहिले रसुवालाई चाहिएको सबैभन्दा ठूलो सान्त्वना यही हो।
बाढीको पानी एक दिन सुक्नेछ। भग्नावशेषबाट फेरि नयाँ घर उठ्नेछन्, सडक जोडिनेछन् र बजार पहिलेकै लयमा फर्किनेछन्। बालबालिका फेरि स्कुलको बाटामा देखिनेछन्।
तर त्यो भौतिक पुनर्निर्माणभन्दा पहिले हाम्रो आन्तरिक मनभित्र मानवता उठ्नुपर्छ।
आउनुहोस्, यसपटक रसुवाको बाढीले माटो, ढुंगा र घर मात्र नबगाओस्। हामीभित्र जमेको कठोरता, स्वार्थ र असंवेदनशीलताका पर्खाल पनि सदाका लागि बगाएर लैजाओस् ।
र जब रसुवामा फेरि कुनै नयाँ बिहान उदाउनेछ, त्यो बिहान एउटा घरको उज्यालो नहोस्। सिंगो नेपाली समाजमा फर्किएको मानवताको उज्यालो बिहान बन्न सकोस् ।
नोट: ढकालको फेसबुकबाट साभार ।
त्रिशुलीको भेलसँगै …..