दुईजना मध्ये एकजनाको पहिचान हुन सकेको छ ।

काठमाडौं, १८ भदौ।
भोटेकोशी बाढीको ९ औ दिनमा लाङ्गटाङ्ग जलविद्युत आयोजनाको पेनस्टक टनेलबाट २ जनाको शव निकालिएको छ । लाङ्गटाङ्ग खोलाको पानीबाट संचालनमा रहेको ४० मेघावाटको आयोजनाको पावरहाउससँग जोडिएको पेनस्टक टनेलबाट २ जनाको शव हिलोमा गाडिएको अवस्थाबाट नेपाली सेना र विदेशीहरुको समेतको उद्धार टोलिले निकालेको हो ।
नेपाली सेना र आयोजनाको टिमले बिहिबार बिहानदेखि पेनस्टक टनेलमा प्वाल पारेर टनेल भित्र प्रवेश गरेको हो । आयोजनाका आवासीय ईन्जिनीयर सन्दीय कुँवरको नेतृत्वको टोलि उद्धारमा सक्रिय रहेको आयोजनाले जनाएको छ ।


नेपाल टनेल एसोसिएसनका सभापति एवं लाङ्गटाङ्ग जलविद्युत आयोजनासँग आवद्ध टनेलविज्ञ रामहरी शर्माका अनुसार जलविद्युत आयोजनाको टनेलबाट पहिलो पटक उद्धार गर्ने काम भएको छ । शर्माका अनुसार एक जनाको पहिचान भएको छ भने एक जना हुन बाँकी छ । उनले पेनस्टक टनेल लेदो र पानीले भनिएको अवस्थामा भएकोले पानी फाल्ने काम भैरहेको बताए ।
नेपाली सेनाले प्रकाशीत गरेको सूचनामा आज बिहान ११ बजेसम्मको अवस्थाबारे भनिएको छ ‘ लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो(सानो होल बनाई खोजी कार्य भइरहेको।’

नेपाली सेनाले बिहिबार ११ बजेसम्मको अवस्थाको रिपोर्ट सामाजिक संजालबाट जारी गरेको छ । रिपोर्टमा भनिएको छ :

१. खोज तथा उद्धार कार्य

  • #नेपालीसेना द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र १८ गतेको ११०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको।

२. टनेलमा खोज तथा उद्धार कार्य

  • लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो-सानो होल बनाई खोजी कार्य भइरहेको।
  • चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको।
  • त्रिशूली-3A मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा Excavator को प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब २ बजे Outlet को होललाई ठुलो बनाउन Crown लाई ब्लाष्टिङ्ग गरी सफा गर्ने कार्य भइरहेको।
  • त्रिशूली-3B मा #नेपालीसेना को ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न Excavator बाट बाटो बनाउन Bobcat को प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको।

३. जमिनी खोज तथा उद्धार र राहत

  • प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई आवश्यक उद्धार एवम् डाक्टर अधिकृत सहित स्वास्थ्य सेवा प्रदान गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायलाई स्वास्थ्य सेवा समेत प्रदान गरेको।
  • त्रिशूली पारी कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोट जिल्लाको विभिन्न स्थानहरूमा खोज तथा उद्धारको कार्य भइरहेको ।
  • #नेपालीसेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीद्वारा स्याफ्रुवेशी इलाकामा खोज तथा उद्धारको कार्य गरिरहेको।
  • डा. अधिकृतहरूबाट नुवाकोटको पिपलटार र देवघाटमा रहेको होल्डिङ्ग सेन्टरहरूमा सम्भावित सङ्क्रमण फैलिन नदिनको लागि सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको।
  • रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा #नेपालीसेना का ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

४. स्थलगत अनुगमन

  • प्रधान सेनापति महारथी अशोक राज सिग्देलले #नेपालीसेना लगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको स्थलगत (त्रिशूली, उद्धार कार्य टनेल लगातयका क्षेत्रहरूको) अवलोकन गरी सबै सरोकारवाला निकायबिच प्रभावकारी समन्वय र सहकार्य गर्दै #नेपालीसेना का सकलदर्जालाई उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ।