बाढीपछिको प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कटको जोखिम, सावधानी अपनाउन चिकित्सकको सुझाव
बाढी पछि विशेषगरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडा पखालाजस्ता पेटसम्बन्धी रोग र श्वासप्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष ख्याल दिनुपर्ने चिकित्सकले सल्लाह ।
काठमाडौं, १८ भदौ ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार त्यस विपद्मा परी ज्याउन गुमाएकामध्ये हालसम्म एक हजार २०० भन्दाबढीको शव फेला परेको छ ।
प्रहरीका अनुसार, रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासीपूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन्। बाढीपछि करिब १२ हजार उद्धार गरिएको छ। उद्धार गरिएका बासिन्दालाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले बाढीमा परी हराइरहेका व्यक्तिको नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षति भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण भइरहेको छ।
यसैबिच, बाढी पछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर सङ्कट आउनसक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.अमित गौली बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिनसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउँछन्।
बाढी पछि विशेषगरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडा पखालाजस्ता पेटसम्बन्धी रोग र श्वासप्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष ख्याल दिनुपर्ने उनी बताउँछन्। बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिम हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन डा.गौलीको सुझाव छ।
विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सको भनाइ छ। डा.गौली भन्छन्, “त्यस अवस्थामा औषधि खाइरहेका बिरामीले नियमितता कायम गर्न नसक्दा र नयाँ सङ्क्रमण थपिँदा जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक रहेको छ।”
बाढी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्यालगरी स्वास्थ्यो पचारमा प्राथमिकतामा राख्नुपर्ने चिकित्सको सुझाव छ। घरबारविहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढाउन जरुरी रहेको उनीहरुको सल्लाह छ।
ज्वरो वा सामान्य समस्या देखिनेबित्तिकै जथाभावी एन्टिबायोटिक प्रयोग पनि नगर्न तथा बरु जीवनजल, सिटामोल, स्लाइन र ड्रेसिङका सामग्रीको उचित व्यवस्थापन गरी स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न विशेषज्ञ चिकित्सको सुझाव छ।
उनीहरुले बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न ध्यानाकर्षण गराएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

