रास्वपाले सुर्खेतबाट सार्वजनिक गर्यो १०० बुँदे वाचापत्र
काठमाडौं, ७ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे बाचापत्र सार्वजनिक गरेको छ । पार्टी सभापति रबि लामिछाने, प्रधानमन्त्री प्रस्तावित बालेन्द्र शाह लगायतका पार्टीका पदाधिकारीहरुले २२ पृष्ठको वाचापत्र सार्वजनिक गरेका हुन् ।
‘रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु’ भन्दै वाचापत्रको सयवटा वाचा राखिएका छन् । पहिलो वाचामा दलित र पिछडिएको समुदायको सम्बोधन गरिएको छ । पहिलो बुँदामा भनिएको छ ‘… नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमै दलित तथा पिछडिएका समुदायमाथि भएका जातीय विभेद, अन्याय र वहिस्करण प्रति नेपाली राज्यको तर्फबाट औपचारिक क्षमायाचना गछौैं । संरचनात्मक विभेदको अन्त्यका लागि अझ ठोस, नीतिगत र संस्थागत सुधार अघि बढाउँने छौं ।’
अन्तिम १०० औ बुँदामा भने राजनीतिक पार्टीहरुको शिष्ट भाषामा आलोचना गर्दे आफूहरुले बाटो नबिराउने वाचा गरिएको छ । १०० औं नम्बरमा भनिएको छ ‘ देश बनाउछौं भन्दै उदाएका तर सत्तामा पुगेपछि बिग्रेका दलहरुको लामै इतिहास छ । हामीले बाटो नबिराउन बलियो संयन्त्र बनाउँछौं । पार्टीका प्रत्येक सदस्यले नम्रता, परिश्रम, सेवा र जफावदेहीता र सबै प्रति सम्मान गर्ने आचार संहीता पालना गर्नुपर्ने छ । हामी भष्ट्राचार विरुद्ध शुन्य सहनशीलता अभ्यास गर्ने छौं र हामी पार्टीको अनुशासन आयोगलाई थप बलियो बनाउने छौं ।’
