अनुभवले खारिएका सहभागीहरु । मर्यादित र अनुसासित । बढ्दो आत्मविश्वास । उच्च मनोबल । स्रोत साधन मा व्यवसायिकता । भौतिक पूर्वाधारमा व्यापक परिवर्तन । तीब्र शहरीकरण । गुणस्तर युक्त सेवा सुविधामा बृद्धि । धेरै आरोह अबरोह धेरै परिवर्तन देखियो भोगीयो ।

बुद्ध जयन्ती आउन एक महिना पनि बाँकी थिएन । काठमाण्डौ देखि लुिम्बनी शान्ति साइकल यात्रा गर्ने योजना बन्यो । हिमालय मैत्री संस्था, स्याल्पा गुम्बा र युनिभर्सल पिस स्याङ्गचुअरी संयुक्त आयोजक भए । डिजिटल पार्टनर स्टोरी साइकल । नेपाल पर्यटन बोर्डले कार्यक्रम प्रवर्धन गर्ने भयो । एन सेलले आर्थिक सहयोग । अरु पनि सहयोगी सस्था जोडिने भए । कार्यक्रम भेटघाट भयो की लुम्बिनी साइकल यात्राका बारेमा सोधिहाल्थे एक पात्रले । ती मित्र थिए पदमेन्द्र नाथ कर्माचार्य । साईक्लिङ्गका निक्कै शोखिन । पहिलो फोन उनैलाई गरें । निक्कै उत्साहित भए । पदमेन्द्र जी ले आफ्‌नो १६ बर्षे छोरा प्रसिद्ध नाथ कर्माचार्यलाई पनि लिएर जान्छु भने । अरु केहि साइकल प्रेमी साथिहरु सँग कुरा गरें । सबैले उर्जा दिए । हौसला बढाए । माहौल तात्यो । हलचल मच्चियो । बैशाख पन्ध्रमा लुम्बिनी प्रस्थान गरिने भयो । अठार गते बुद्ध जयन्ती मनाउन ।


कार्यक्रम गर्ने भएपछि लरतरो तयारीले पुग्दैन । माथा पच्चिसी गर्नु त छदैछ । यस्ता कार्यक्रमहरु व्यवशायिक रुपमा गर्न सकिएको छैन । नेपालीले नेपालीकै लागि गर्ने कार्यक्रम स्वयंसेवी काम हो । सबैका आ आफ्ना बाध्यता, व्यस्तता छन् । स्वयंसेवकका रुपमा काम गर्ने विरलै छन् । फुर्सद कसलाई होस आजकल । अर्को कुरा काम एक, गाली अनेक । काममा भन्दा गाली गलौजमा व्यस्त छ समाज । ह्या, पैसा नआउने काम के का लागि गर्ने ? भन्ने पनि छन । जीवन नदि जस्तै हो भन्छन् । अविरल बगीरहने । जीवन चलायमान छ । निस्क्रिय जीवन निरर्थक छ ।
तयारी गर्दा गर्दै बैशाख १४ गते भयो । अझै काम असरल्लै बाँकी । पहिलो दिने यात्राका लागि थोरै तयारी बाँकी थियो । प्रस्थान गर्ने ठाँउको व्यवस्थपन । चन्द्रागीरीको बाटोको अबस्था अद्यावधिक गर्नु । कार्यक्रम शुरु गर्ने स्थान स्वयम्भू शरद भवन सँगै थियो । रुट भने स्वयंभू बाट पुरानो नैकाप हुँदै थानकोट चेक पोष्ट निस्कनु पर्ने । चन्द्रागिरी भञ्ज्याङ्ग पुग्न हामीलाई दुई विकल्प थिए । एक केवलकार प्रयोग गर्ने । दुई साइकल मै उकालोको चुनौतीको सामना गर्ने । समय सदुपयोग र शक्ति संचयका लागि पहिलो उपाय ठीक । तर कुरो मिलेन । साइकल नै उकालोको सारथी हुने भयो । त्यसैले बाटोको अबस्था जाँच गर्नु पर्यो । नेपालका बाटा । खुल्ने र बन्द हुने पत्तै हुदैन । हचुवामा हिड्नु पनि भएन नि त । हस्याङ्ग फस्याङ्ग गर्दै पुगीयो । के कारण हो स्वयंभूको बाटो बन्द रेछ । फसाद । फर्कदा रात परि हाल्यो । ट्राफिक प्रहरी, प्रहरी बृत्त र महा नगर प्रहरी सँग सोधपुछ गरें । भोली बाटो खुल्ने भयो । दश घण्टामा फेरी स्वयंभू आउनुछ । अब बाँकी तयारी गर्न लागियो । व्यवस्थापन गर्ने मूख्य समूह सदस्यहरु गिता बोहरा, राजु बस्याल, रञ्जन राजभण्डारी, सुदिप पैडेल थिए । थोरै मानव संसाधनले धेरै काम भ्याउनु पर्ने । सुदिप जी नेपाल साईक्लिङ्ग महासंघका अध्यक्ष हुन भने रञ्जन राजभण्डारी महासचिव । दुवै अनुभवले खारिएका । यी दुईका साथले कार्यक्रमका बारे खासै चिन्ता रहेन ।

१५ गते पाँचै बजे सुदिप जी र रञ्जन जी को फोन आयो । रञ्जन जी ब्रेकफास्ट लिन ठमेल पुगीसके । सवा छ बजे बानेश्वरको फ्रन्ट लाईन हस्पिटल बाट डा. आशिष पौडेल र थेरापिस्ट बिराट झा जी गाडि कुरीराखेका छन । द्वय स्वास्थ्य कर्मी तयारीमा जुट्दै थिए । म भने साइकलमा कुलेलाम स्वयंभू हान्नीएँ । उद्घाटनको तयारी हुदै छ । व्यवस्थापन पक्षलाई कामको थेगी नसक्नु चाप छ । अर्को तर्फ सहभागी र आयोजकमा व्यापक उत्साह । एक दुई गर्दै पचास सहभागी साइकल यात्री भेला भए । स्याल्पा रिम्पोछे लगायत बौद्ध भिक्षुहरुले बौद्ध अनुष्ठान अनुसारका विधि विधान गरे । हिन्दू धर्मगुरुहरुले वैदिक विधि विधान अनुसार मंगल स्तोत्र वाचन गरे । स्वयंभूको स्थानीय समुदाय मार्फत प्रश्तुत गरीए । अब धेरै अलमल गर्नु हुदैन । लामो बाटो कटाउनु छ । स्याल्पा रेम्पुछे, हिमालय मैत्री संस्थाका अध्यक्ष तिलक लामा, उपाध्यक्ष राजेन्द्र लामा लगायतले खादा लगाएर विश्व शान्तिको कामना गर्न लुम्बिनी प्रस्थान गर्न लागेका शान्ति अभियन्ताहरु विधाई गर्नु भयो । शान्ति अभियान कर्मीहरु शालिन ढंगले स्वयंभू, मकालु आयल पम्प, पुरानो नैकाप, थानकोट चेक पोष्ट, गोदामचौर हँुदै उकालो लाग्यो चन्द्रागीरी भञ्ज्याङ्ग तर्फ ।

उकालोको चुनौती सहजै स्वीकारे चन्द्रागीरी भञ्ज्याङ्ग जो पहिले पुग्छ त्यो टाकुराको राजा ।

पहिलेको दाँजोमा बाटो निक्कै फराकिलो छ । नागबेली घुम्ती । सुन्दर हरियाली । सितल । साथिहरुको माझ, साइकलमा । मन हर्षले विभोर छ । उत्साह छ । जाँगर छ । मनोबल उच्च छ । उकालोको चुनौती सहजै स्वीकारे चन्द्रागीरी भञ्ज्याङ्ग जो पहिले पुग्छ त्यो टाकुराको राजा । साथिहरु निक्कै मेहेनतका साथ उकालो लागे । आधा उकालो पछि केहिको रफ्तार कम भयो । उकालो चन्द्रागिरी मात्र होइन । सिमभञ्ज्याङ्ग सिङ्गै छ । बास बस्न हेटौंडा पुग्नु छ । रफ्तार कम हुनेलाई मनाउदै गाडिको सहायतामा अगाडि पठाईयो । छिटो चलाउने समूह निक्कै माथि छन् । अच्युत कृष्ण खरेल, सन् २०२६ का राष्ट्रिय च्याम्पियन । उनी सबै भन्दा अगाडि पुगेको सूचाना पठाए । साथमा थिए हर्क लामा मास्टर समूहका पूर्व च्याम्पियन ।सन् २०२५का राष्ट्रिय च्याम्पियन सुरज राना मगर पनि पछाडि समूहका अरु साथिहरुलाई सहयोग गर्दै गईरहेका थिए ।
चन्द्रागीरी भञ्ज्याङ्ग लगभग २३०० मी. मा सबै जम्मा भए । यहाँ निक्कै चिसो अनुभव हुन्छ । चिया, पानी विश्राम पछि लागियो ओह्रालो चित्लाङ्ग तर्फ । पचास सालमा पहिलो पटक पुगेको थिएं चित्लाङ्ग। चित्लाङ्गको रुप रङ्ग निक्कै फेरिएको छ। २०७२ सालको भूकम्प पछि त द्ू्रत गतिका फेरियो । धर्मीक, पुरातात्वीक, एतीहासिक तथा साँस्कृतीक महत्वले निक्कै महत्वपूर्ण ठाँउ हो । गुर्जुधारा, त्रि गजुरेश्वर महादेव, सत्तल, अशोक स्तुप आदि अबलोकन गराईयो । बुद्ध जयन्ती मनाउन लुम्बिनी जाँदै गर्दा अशोक स्तुप त बिर्सनु हुदै भएन । यदि अशोक सम्राट लुम्बिनी आएर प्रमाण स्वरुप स्तम्भ नराखेको भए बुद्ध जन्मस्थल आजका दिन सम्म विवादास्पद भइरहन्थ्यो । सपरिवार काठमाण्डौ आउदा चित्लाङ्ग पनि एउटा अशोक स्तुप बनाए । बाटो पर्दा श्रद्धा भाव राखि परिक्रमा गर्नु राम्रो।
निक्कै मनमोहक छ चित्लाङ्ग । हरीया आलुका बोटमा फुलेका सेता र हल्का वैजनी रङ्गका फुल । कलकलाउदो पानी बगेको कुलो । नयाँ र पुराना ढाँचाका घर । हेर्दै खाउ खाउ लाग्ने सेता मूलाका चाङ्ग । आहा । बसौं बसौं लाग्छ । छोडेर त जान मन छैन । बज्रबाराहिमा ईन्द्र श्रेष्ठ दिवा खाना खुवाउन तम्तयार छन् । लगभग एक बजे दिवा खाना खान बज्रबाराहि पुगियो । स्थानीय परिकार सबैले रुचाए ।
बज्रबाराहि बाट कुन्छाद चार कि.मी । उकालो बाटो । खाना लगत्तै साइकल चलाउन हम्मे हम्मे पर्‍्यो । अब शूरु भयो त्रिभूवन राजपथ । कुन्छाल बाट ओखर बजारबाट सम्म हल्का ओह्रालो बाटो । अघिको उकालोको बदला लिन सबैले जोडतोड कुदाए । बाटो पनि त कटाउनु पर्यो ।
ठाना बजार बाट उकालो लागियो । शिखरकोट, दामन हुदै सिमभञ्ज्याङ्ग २४८८ मी.। सिमभञ्ज्याङ्ग पुग्दा हुस्सुले ढपक्क् ढकेको थियो सिमभञ्ज्याङ्ग बजार । पसिनाले निर्थुक्क भिजेको लुगा । त्यस माथि चीसो हावा । लगलगी कपायो । तातो चियाले भने अलि राहत दिलायो । सिमभञ्ज्याङ्ग बाट लगभग ५२ कि.मी हेटौडा । समय छोटो छ । झटपट सबैले अति आवश्यक सामग्री तयार पारे । बर्षा बाट बच्न बर्षादि । रातीको लागि बत्ती । चिसोबाट बच्न पातलो जाकेट । ईन्धनका लागि चकलेट आदि उदि ।
उकालो जती चुनौती पूर्ण छ ओह्रालो त्यति नै जोखिम । साईक्लिङ्गमा ओह्रालो झर्ने पनि एउटा अद्भूत कला हो । यान्त्रिक सावारी साधनलाई पनि आच्छु आच्छु पार्छ साइकलले । सिमभञ्ज्याङ्ग, झिरघारी, लामीडाँडा, बाघमारा, चूनीया बाह्रघुम्ती, आँप चौर हुँदै शान्ति अभियान कर्मी, साइकल पारखिहरु भैंसे उत्रीए । जे भयो राम्रै भयो । एक क्षण पानी मजाले आयो । पानीले सितल बनायो । सबै सहभागी जम्मा भए । चियाका पारखिहरुले चिया खाए । सबै लामबद्ध भए । मिर्मिरे साँझ । जुनकीरीको जस्तै पिलपिले बत्तीको ताँती । सबै अनुसासित । समूहगत एक्यबद्धता । सहकार्य । भातृत्वको भावना । सबै कुराको सम्मिश्रणले निक्कै उर्जा दिएको छ । लगभग १२ कि.मी कुदे पछि होटल सामना पुगीयो । आजको बास यतै । साइकलको थन्को, सरसफाई पछि पहिलो दिनको कार्यक्रम सफल भए पछि खुसी साटा साट गरे । दोस्रो दिनको योजना गर्दै मस्त निदाए । तर सुदिप जी लाई भने पानको तल तल लाग्यो हामी केहि साथी सहित सिमा चोक तर्फ लाग्यौं पानको तल तल मेटाउन ।
दोस्रो दिन
आध्यात्ममा खास चाख राख्ने सुदिप जीले विहान पाँचै बजे नित्य कर्म सके । दाई मर्निकवाक जाँउ । उनको प्रस्तावमा समर्थन जनाएँ । हामी दुई भूटन देवी मन्दिर तर्फ लाग्यौं । दर्शन सकेर पुनः हनुमान जी को दर्शन गर्न गयौं । कार्यक्रममा विध्न वाधा नआओस भनि प्रार्थना पनि गर्यौं। पोका पन्तरा कस्यौं । साइकल तयार गर्यौं । इन्धन भर्‍यौ। बिहान ८ः०० बजे त हिड्नु छ । सामना होटलको प्राङ्गण साइकल प्रेमीले भरीयो । हेटौंडाको हिमाली राईडर्स क्लबका राजु थापा लगायत धेरै साथीहरु जम्मा भएका थिए स्वागत तथा विधाई गर्न
दैनिक कार्यक्रमको, साइकल, सडक सुरक्षा, बाटो संक्षिप्त जानकारी आदि पछि यात्रा सुरु भयो । स्थनीय साइकल प्रेमी समूदाय बाट पानी विश्राम लिने ठाँउमा मठ्ठाको व्यवस्था गरेका थिए । चीसो मठ्ठाले सबै तृप्त भए । स्थानीय साथिहरु बसामाडिबाट फर्किए । बसामाडि, मनहरी, हुदै लोथर पुग्दा घामले निक्कै सेक्यो । बाटो विस्तार भए सँगै सडकका छेउछाउमा सितल छहारी लगभग हराई सक्यो । भण्डारामा खाना खाने योजना थियो । जोडि बरको रुख छेवैमा खाना को प्रबन्ध थियो । बरको छहारी कति सितल । सबै जना निक्कै बेर बरको छहारीमा सुस्ताए ।
अघि सम्म टन्टलापुर घाम थियो । आकास त कालो बादले ढपक्कै ढाक्यो । साइकल चढेर अलि पर पुग्ना साथ बतास शुरु भयो । धन्न टिकौलीको नजिक पसलमा सबै ओत लाग्न पुग्यौं । पानीले मुसो रुझाइ भयो । यतिमात्र कहाँ हो र ? जंगल न हो । मेघ गर्जन सहित आँधि र पानी । ओत पाउन मुस्किल । हामी सुरक्षित अवस्थामा मात्र साईक्लिङ्ग गर्छौ । सबैलाई ओत लगाईयो । ओत लाग्ने ठाँउ गज्जब परेछ । चिया, खाजा पाईने ।

थारु होम स्टे । हाम्रो रोजाइ । एक रात बस्दा पनि थारु समुदायको स्थानीय संस्कृती नजिक बाट नियाल्न सकिन्छ । नेपालमा भौगोलिक, धार्मीक, सास्कृतीक, भाषिक तथा अनेक विविधता छ ।

पानी रोक्कियो । साईकलको लाम लस्कर शुरु भयो । आकास हेर्दा पानी रोक्किने वाला थिएन । भरतपूर विमान स्थल पुग्दा नपुग्दै मूसलधारे पानी पर्यो । नारायणगढमा स्वगतका लागि चितवन राईडर्स क्लबमा साथिहरु प्रतिक्षा गर्दै थिए । पानीले रोक्किएको खबरले काजी पदम बानीयाँ र नविन खरेल हामी ओत लागेकै ठाँउमा आए। उनीहरुले स्कर्टिङ्ग गर्दै उद्योग बाणिज्य संघकोहलमा भव्य स्वागत गरे । कति आत्मीय । कत्रो सद्भाव । आतिथि सत्कारमा मात्र रमाएर त भएन । पानीले निथाचूर्न । नारायणीको किनार । बैशाख महिनामा नारायणगढमा लुगलुगि कँपायो । मौसमले साथ दिएन । कार्यक्रम अलि बिथोलियो । असुरक्षित यात्राको जोखिम नलिनु बेस । दोस्रो दिनको कार्यक्रम नारायणगढ मै विसर्जन गरीयो ।

आजको बसाई पिप्रहर सामुदायिक घरबासमा । थारु होम स्टे । हाम्रो रोजाइ । एक रात बस्दा पनि थारु समुदायको स्थानीय संस्कृती नजिक बाट नियाल्न सकिन्छ । नेपालमा भौगोलिक, धार्मीक, सास्कृतीक, भाषिक तथा अनेक विविधता छ । विविधतामा एकताका लागि फरक परिवेशमा घुलमिल हुनु आवश्यक छ । जीवन भोगाई र सिकाई न हो । छोटो समयमा रहन सहन, चाल चलन, भेष भूषा, खान पान आदिका बारे परिचित हुन पाउनुलाई अवसर मान्नु पर्छ । विडम्बना । पानी थामिएन । रातीको साँस्कृतीक कार्यक्रम स्थगित भयो ।
तेस्रो दिनको हिंडाई विहान ८ः०० बजे शुरु भयो । कावासोती पुग्न १० कि.मी । भब्य, शालिन ढंगले कावासोती पुग्यो । कावासोती पातंञ्जती समूहले समुदायले भब्य स्वागत गरे । यसको संयोजन राजु बस्याल जी ले गरेका थिए । लगत्तै कावासोती साईक्लिङ्ग प्रेमी समुदायले भब्य स्वागत गरी खाजा खुवाए । यसको संयोजन क्लबका अध्यक्ष अजय श्रेष्ठ ज्याती जी ले गरेका थिए ।
बैशाखको उखर्माउलो घाम । पिच बाटोमा साइकल कुदाउनु । समूहका सबै भन्दा कान्छा उमेरका सहभागि ओजिल क्षेत्री को अनुहार रातो पीरो थियो । बिचरा १३ बर्षे केटो । घामले निक्कै अत्यायो । ओजिलका बुबा लक्ष्मण ढाडस दिदंै थिए । समूहका सबै भन्दा जेठा उमेरका राजेन्द्र ढुङ्गाना । उमेरले पचत्तरौं बसन्त पार गरीसकेका ॥ निक्कै जिज्ञासु, उत्साहित र उर्जावान । सबैका लागि हौसला श्रोत । ढुङ्गानाका तीन पुस्ता एकै साथ पाउदान मार्दै थिए । भतिज उमेश ढुङ्गाना र नाती अभिषेक ढुङ्गाना । उमेश ढुङ्गाना र अभिषेक ढुङ्गाना बाबु छोरा हुन् ।
मधुरो भए पनि तराइको घाम, हप्प भैहाल्ने । हिमाली भेगका मिङ्गमा र याङ्गजी शेर्पा त हायल कायल नै भए । सुरुची राईलाई भने खासै फरक परेको देखिदैन । रफ्तार निक्कै तेज छ । एक एक मिटर पार गदै ४२ कि.मी पार भएछ । दाउन्नेको उकालोमा गोविन्द बस्नेत जी आफ्नै रफ्तारमा पाउदान मार्दै थिए । उकालोमा पनि जोस घटेको छैन । मानव शास्त्रमा अमेरीकाबाट विद्यावारिधि गरेका डाक्टस साब । “कल्पना मै थिएन साइकलमा यो उकालो चढिएला भनेर देबेन्द्र जी ।” “दैवले जुरायो डाक्टर साब ।” जवाफ फर्काएं । हामी केहि बेर गफिदै उकालो लाग्यौं । सडकनिर्माणको काम अझै सकिएको छैन । तेजीलोे घाम र बाक्लो धूलोले बेला बेलामा अत्याउछ । सासै फेर्न गाह्रो । खाना खाने ठाँउ पनि आईपुग्यो । खुशीले सिमा नाध्यो डाक्टर गोविन्द बस्नेतको । दाउन्नेको चुनौती पार गरेकोले ।
दाउन्नेको होटल कान्तिपूर । दिवा खाना सबैले मीठो माने । तल दुम्किबासमा उखर्माउलो घाम । माथि दाउन्ने कति सितल । कति आनन्द ।
भोजन पछि भूमहि तर्फ लाग्यौ । बाटो बिस्तार गर्ने काम अझै सकिएको रहेनछ । पहिले त बाटोको छेउछाउ रुख थिए , सितल अनुभव हुन्थ्यो । बाटोको छेउका रुख काटिएका छन् । घाम निक्कै चर्को छ । पश्चिम तर्फको घाम आँखै तिर्मिराउने । भूमहिबाट हाम्रो यात्रा भैरहवा तर्फ लाग्यो । लगभग ४ बजे लुम्बिनी गेट पुग्यौं । सम्झना स्वरुप सामूहिक तस्वीर खिचियो । आजको बसाई एशियन बुद्ध होटल । आरामदायि सुविधायुक्त होटल । होटल प्राङ्गणमा राजु बस्याल जी ले बुद्धको महत्वपूर्ण बाणी स्मरण गराए ।
राती गोकर्णेश्वर साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप ठकुरी सहित हामी ठूलोहलमा सुत्यौ । सामुदायिक सुताई निक्कै रमाइलो । ठकुरीले जोक सुनाए । अरु मरी मरी हाँसे । निक्कै रमाईलो भयो । एक सय कि.मी बाटो साइकलले नापेका कतिपय साथिहरु त घुर्न थाली सकेका थिए ।
चौथो दिन । २५७० औं बुद्ध जयन्ती । काठमाण्डौं लुम्बिनी साइक्लिङ्गको अन्तिम दिन । बिहान आठ बजे लुम्बिनी तर्फ प्रस्थान गर्‍्यौ । रात भरको पानी ले मौसम चिसिएको थियो । बिहान पख पनि हल्का पानी परिरहेको थियो । जसले निक्कै सितल बनायो । सबै सहभागीहरु बिहान खाली पेटमै माया देवी मन्दिर पुग्यौ । सामुहिक रुपमा विश्व शान्तिको कामना गर्‍्यौं । विश्वका मानिस तेस्रो विश्व युद्धको खतरा बाट भयभीत छन् । ईरान र अमेरिकाको युद्ध, रुस र युक्रेनको युद्ध । मद्यपूर्वको युद्ध । अन्यत्र पनि तनाव बढ्दो छ । मायादेबी मन्दिरमा विश्व शान्तिका लागि सामूहिक प्रार्थना गर्‍्यौ । दिन भरी विभिन्न गुम्बामा परिक्रमा गरी बिताईयो । साँझ गुरु रिम्पुचेको पूर्ण मुक्तिको मार्ग पुस्तकको विमोचन कार्यक्रम सरिक भइयो । साँझ पख शान्तिको कामना गर्दै बत्ती बाल्ने योजना मुताविक मायादेवी मन्दिरमा गयौं । पहिलेका बर्षहरु जस्तो यस बर्ष झलमल्ल बत्ती थिएन । पुनः विश्व शान्तिको कामना गर्दै माया देवी मन्दिर परिक्रमा गरी बिदा भयौं ।


बाटोमा फर्कदै गर्दा राजन डंगोलले भने सात बर्ष पछि भाकल पूरा भयो । सात बर्ष अघि रारा साईक्लिङ्ग गएका रहेछन् । रारा तालको जल लुम्बिनीमा चढाउने उनको भाकल रहेछ । विगतका बर्षहरुमा विविध कारणले कार्यक्रम आयोजना हुन सकेन । धैर्य पूर्वक प्रतिक्षा गरीरहे । माया देबी मन्दिर परिसरमा उनले जल चढाए । बल्ल यस बर्ष उनको भाकल पूरा भयो ।

सन् २०१२ मा पहिलो पटक लुम्बिनी गईयो बुद्ध जयन्ती मनाउन । सानो समूह । न्यून स्रोत साधन । उत्सुकता ज्यादा । सहभागि जोसिला युवा भाई बहिनीहरु । कम अनुभव । होलो राजमार्ग । पातलो सवारी साधन गुड्थे । प्रदुषण कम । छिटफुटका बर्षहरु बाहेक हरेक बर्ष लुम्बिनी गईयो बुद्ध जयन्ती मनाउन । बिगत केलाउदा परिवर्तन धेरै भएछन् । ठूलो समूह । मिश्रित उमेर समूह । एकै परिवारका दुई तीन पुस्ताका, अनुभवले खारिएका सहभागीहरु । मर्यादित र अनुसासित । बढ्दो आत्मविश्वास । उच्च मनोबल । स्रोत साधन मा व्यवसायिकता । भौतिक पूर्वाधारमा व्यापक परिवर्तन । तीब्र शहरीकरण । गुणस्तर युक्त सेवा सुविधामा बृद्धि । धेरै आरोह अबरोह धेरै परिवर्तन देखियो भोगीयो ।

तस्बिर :  शान्ति साइकल यात्रा अभियान।