महिला आरोही लाक्पाले ११ औं पटक आरोहण गरिन् । प्रधानमन्त्रीको दुबैलाई बधाई ।

काठमाडौं, ३ जेठ ।

कामी रिता शेर्पाले सर्वाृेच्च शिखर सगरमाथाको ३२ औं पटक आरोहण गरेका छन् । वर्षेनी आफ्नै किर्तिमान तोड्दै अघि बढ्दै आएका कामी रिताले आइतबार १० बजेर १२ मीनेटमा सफल आरोहण गरेका हुन् । आइतबार बिहान अर्को प्रख्यात महिला आरोही लाक्पा शेर्पाले ९ः३० मा ११ औं पटक सफल आरोहण गरेकी छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताए ।

शेर्पाले आज बिहान १०ः १२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्का हुन् । “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले भनेका छन् ।

साथै, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

“निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमानदार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भनेका छन “खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुवै जना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनको भनाइ छ । हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताएका छन् ।

“सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले भनेका छन् ।

राससको समाचारमा आधारित  ।