सहमहामन्त्री डा.डिलाको माग : यथाशीध्र वैकल्पिक व्यवस्था , अधिवेशनमा आक्रमण गर्ने माथि कारबाही
काठमाडौं, १४ असोज ।
नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय निर्वाचनका क्रममा आफ्ना कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी छन् ।
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा क्षेत्रीय सभापति देवराज तामाङले निर्धारित गरेको निर्वाचन स्थलमा कार्यक्रम सुरु हुनुअघि नै मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही उच्छृङ्खल व्यक्तिहरूले आक्रमण गरेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा संग्रोलाले भनेकी छन् ‘लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता तथा हिंसाका लागि कुनै स्थान हुदैन । अःत यस्ता अराजक, उच्छुङखल तथा हिंसात्मक गतिविधिमा संलग्न र त्यस्ता गतिविका लागि उक्साउने देवराज तामाङ्ग लगायत सम्बन्धित व्यक्तिहरु माथि आवश्यक छानविन गरी प्रचलित कानून तथा पार्टीको विधान बमोजिम कारबाही गर्न तथा निर्वाचनका लागि वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायसँग अपिल गर्दछु ।’
कांग्रेस मोरङ्ग क्षेत्रर्न ६ को महाधिवेशनमा झडपबारे मेरो विज्ञप्ति भन्दै संग्रौलाले विज्ञप्तिमा स्थगित निर्वाचन प्रक्रियालाई यथाशिध्र सुचारु गर्न नेपाली कांग्रेसका पार्टी सभापति एवं केन्द्रीय निर्वाचन समिति समक्ष जोडदार माग गरेकी छन् ।
आक्रमणबाट आफूसहित क्षेत्रीय सभापतिका उम्मेदवारहरू चुमनारायण तवदार, चेतराज रेग्मी तथा जेन्जी युवा समुन्द्र पोखरेललगायत उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिहरूमाथि आक्रमण भएको र केही कार्यकर्ताहरू गम्भीर घाइते भएको संग्रौलाले विज्ञप्तिमा उल्ल्ेख गरेकी छन् ।

