एउटा जनप्रतिनिधिको प्रभावकारी भूमिका पछाडि सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही बुझाइलाई व्यवहारमा उतार्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको हो।

काठमाडौं, ११ अशोज ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसदहरुका स्वकीय सचिवहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सचेतक कान्तिशिखा धिताल र सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवहरुलाई प्रशिक्षण दिएको जनाइएको छ ।
स्वकीय सचिवहरुको भूमिका र जिम्मेवारीबारे जानकारी गराइएको छ । रास्वपाले जारी गरेको नोटमा भनिएको छ ‘संसद सदनभित्रको उपस्थितिले मात्रै चल्दैन। एउटा जनप्रतिनिधिको प्रभावकारी भूमिका पछाडि सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही बुझाइलाई व्यवहारमा उतार्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको हो।’
कार्यक्रममा स्वकीय सचिवहरुलाई कार्यक्रमको परिचयसहित  निम्न बुँदामा मार्गदर्शन गरिएको थियो ।


१.स्वकीय सचिवको भूमिका र जिम्मेवारी
२.संसदीय कामको पूर्व तयारी
३. अध्ययन, अनुसन्धान र तथ्याङ्क व्यवस्थापन
४.निर्वाचन क्षेत्र र नागरिक सम्पर्क
५.संचार, मिडिया र सार्वजनिक प्रस्तुती
६.गोपनीयता, सुशासन र व्यवसायीक आचरण
७.अभिलेखिकरण र डिजिटल प्रणाली
८.पार्टीको कार्यदिशासँग समन्वय
विषयमा मार्गदर्शन गरिएको थियो ।

कार्यक्रम बारे सचेतक बुर्लाकोटीले तयार गरेको संक्षिप्त प्रतिवेदनमा स्वकीय सचिवहरुले दिन दिनै गर्नुपर्ने कामहरुलाई बुँदागतरुपमा प्रस्तुत गरिएको छ । कार्यक्रमबाट प्राप्त कार्यदिशा शीर्षकमा भनिएको छ : कार्यक्रममा भएका छलफल र मार्गदर्शनलाई कार्यसम्पादनमा रुपान्तरण गर्न स्वकीय सचिवहरुले आफ्नो दैनिक कार्य निम्न अभ्यासलाई प्राथमिकता दिनुपर्ने निस्कर्ष निकालिएको छ ।

६ बुँदे कार्यादेश यस्तो छ :
१.प्रत्येक दिन सांसदको स्पष्ट कार्यतालिका र आवश्यक Brifing तयार गर्ने ।
२. संसद/समिति बस्नेदिन सम्बन्धित एजेण्डा, तथ्य र सम्भावित बोल्ने बुँदा पहिले नै तयार गर्ने ।
३. मिडिया तथा सार्वजनिक सरोकारका विषयको नियमित अपडेट राख्ने ।
४.निर्वाचन क्षेत्रका समस्या, माग, योजना फलोअपको अद्यावधिक सूची राख्ने ।
५.पत्राचार, भाषण, बजेट माग, योजना र प्रतिवद्धताको डिजिटल अभिलेख व्यवस्थित गर्ने ।
६.गोपनीयता, शिष्ट सञ्चार, संस्थागत समन्वय र जिम्मेवारीलाई सबै कार्यको आधार बनाउने ।

कार्यक्रममा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे आफ्नो धारणा  राखेका थिए।

सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका के हो, संसदीय अभ्यासमा यसको महत्व किन छ र सांसदको कामलाई प्रभावकारी बनाउन यसले कसरी योगदान गर्छ भन्ने विषयमा विशेष प्रकाश पारेको जनाइएको छ ।

त्यसैगरी, सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूबाट उठाइएका विभिन्न जिज्ञासा, प्रश्न र व्यावहारिक चुनौतीहरूबारे छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गरेको उल्लेख छ।

स्वकीय सचिव अभिमुखिकरण तथा समन्वय कार्यक्रम संक्षिप्त प्रतिवेदन

स्वकीय सचिव अभिमुखीकरण प्रतिवेदन