निगमको व्यवस्थापकीय कमजोरी सतहमा आएको छ । उपभोत्ताको संचय गर्ने प्रवृतिमाथि दोष थोपरेर निगम पन्छिन मिल्दैन। ‘बालेन कोटरी’ र उद्योगमन्त्रीबीचको टकरावले वर्तमान संकटमा के कति भूमिका खेलेको छ ? त्यसको स्वस्थ्य विचेचना रास्वपा वृतबाट हुन आवश्यक छ।

 समाचार टिप्पणी

काठमाडौँ, २६ साउन ।

ग्यास अभाव आम उपभोत्ताको विषय भन्दा बाहिरको मुद्धा बनेको छ । ‘अब लाइन होइन, अनलाइन’ को नारा दिने राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाई सत्तामाथि आरोपको वर्षा छ । सञ्चारमाध्यममा सिलिण्डरका लाइन पस्किएका छन्, प्रमुख प्रतिपक्षी कांग्रेसले अहिलेको दोब्बर आयात गर्न कूटनीतिक पहल गर्नुपर्ने प्रेसक्रिप्सन दिएको छ । ग्यास उद्योग संघ, सिलिण्डर ‘होल्डिङ्ग’ नगर्न अनुरोध गर्दे छ ।
ग्यासको आयात गर्ने नेपाल आयल निगम आयात बढिरहेको तथ्य अगाडि सारिरहेको छ । घेर्य गर्न, बढी संचित नगर्न उसको अनुरोध छ ।अहिलेको अवस्थाका पछाडि दोष कसको ? भेटेको बेला संचय गरिहाल्ने उपभोत्ताको ? वा ग्यास वितरक दोषि हुन् ? एलपि ग्यास उत्पादक मुलुकभरका ५८ कम्पनी पो दोषि हुन् कि ? वा दोषि निगमको व्यवस्थापकीय बालापन हो ? ठ्याक्कै कुनै एक पक्षलाई दोषि करार गर्नसक्ने अवस्था छैन। जिम्मेवार सबै उपभोत्ताको संचयवादी चरित्र प्रमुख चुनौती बनेको विश्लेषण गरिरहेको देखिन्छ। आयल निगमदेखि ग्यास उत्पादक संघसम्मको निचोड सही घरातलतमा आधारित छ।

समस्याको चुरो के हो ?

मध्यपूर्वमा ६ महिना अगाडि सुरु भएको युद्ध अझै समाप्त भएको छैन। आयातमा समस्या त्यहीँबाट सुरु भएको हो । मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको पेट्रोलियम समस्या सुचारु हुने वातावरण बनिरहेको देखिदैंन । पेट्रोलियम आयातमा केही खुकुलोपन देखिए पनि ढुक्क हुने  दिन नजिक देखिएको छैन ।
मध्यपूर्वको संकट सुरु हुनासाथ, आयल निगमले फागुन अन्तिमदेखि आधा सिलिण्डर (७ दशमलव १ केजि) बजारमा ल्याउन थाल्यो । आधा सिडिण्डर ग्यास बजारमा ल्याएपछि केही समय समस्या देखिए पनि सामान्य चक्रमा चलिरहेको थियो ग्यासको वितरण प्रणाली । नेपालको संसदीय चुनाव, नयाँ सरकार गठन लगायतका यावत घटनाक्रमबीच आधा सिलिण्डरको ग्यासमा आम उपभोत्ताले काम चलाएको देखिन्छ ।
निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले १४.२ किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताएका छन् । “उपभोक्तालाई मागअनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति बढाइएको छ, यसका लागि इन्डियन आयल कर्पोरेसनले पनि सहयोग गरेको छ”, उनले भनेका छन् । ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै उपाध्यायले आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आमउपभोक्तालाई आग्रह गरेका छन् ।
उपाध्यायले पुरा सिलिण्डर ग्यास वितरण थालेपछि समस्या देखिएको स्वीकार गरेको देखिन्छ । अब, आयल निगमले ग्यास आयात गरेको पछिल्ला केही महिनाको तथ्य केलाऔं ।

आयल निगमको तथ्याङ्कले भन्छ, २०८२ चैतमा ३८ हजार मेट्रिकटन ग्यास आयात भएको छ । २०८३ वैशाखमा ३२ हजार मेट्रिकटन, जेठमा ३३ हजार मेट्रिकटन र असारमा करिव ४५ हजार मेट्रिकटन आयात भएको छ । साउन लागेपछि हालसम्म ४४ हजार मेट्रिकटन भन्दा बढी आयात भएको छ। तथ्याङ्कले ग्यासको माग वैशाखदेखि क्रमसः बढन थालेको देखिन्छ।
आयल निगम जो सरकारको उद्योग वाणिज्य आपुर्ति मन्त्रालय अन्तर्गत छ । यसको जिम्मेवार मन्त्री हुन् गौरीकुमारी यादव । यादवले असार अन्तिमदेखि पुरा सिलिण्डर ग्यास बजारमा ल्याउँने निर्देशन गरेकी हुन्। यादवको यो कदम प्रारम्भमै उग्र विवादबाट गुज्रिएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहको शासकीय ‘कोटरी’को अनुमति नलिई र कुनै जानकारी समेत नदिई यादवले आफूखुसि पुरा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको विषय सिंहदरबारले सामान्य अर्थमा लिएको थिएन।असार १६ मा मन्त्री यादवले ग्यास उद्योग संघका पदाधिकारीहरुसँग भेटेकी थिइन। सोही दिन पेट्रोलियम मूल्य घटाउने निर्णय भएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहले यिनै विषयमा मन्त्री यादवलाई प्रहरी नियन्त्रण्मा लिन आधा रातमा प्रहरी प्रमुखलाई निर्देशन दिएको समाचारहरु सार्वजनिक भएका थिए। प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रधानमन्त्रीको आदेश पछि गृहमन्त्री सुधन गुरुङ तथा रास्वपा सभापति रबि लामिछानेसँग छफफल गरेपछि सांसदलाई गिरफ्तार गर्नु अघि सभामुखको अनुमति लिनुपर्ने लगायतका कारण देखाएर टारेको थिए। गौरी यादवका सल्लाहकारहरुदलाई सिंहदरबारबाट पुरा सिलिण्डरको निर्णय तत्काल नगर्न आदेश गरिएको समाचार त्यसैबेला प्रकाशीत भएका थिए।

प्रधानमन्त्रीको आफ्नै मन्त्री माथिको आक्रोसको ज्वालालाई प्रहरी प्रमुख लगायतका जिम्मेवार निकाय र सत्ताधारी रास्वपाले कसरी निम्ट्यायो ? सरकार संचालनका अन्तर्य समयक्रममा सार्वजनिक हुँदै जालान। ग्यासमा समस्या देखिनुको पछाडि सत्ता सघर्षका कथाहरु पनि जोडिएका छन्, सत्ता कसरी संचालन भइरहेको छ ? एउता तस्बिर हो यो।

सामान्यतया नेपाललाई मासिक ४५,४६ हजार मेट्रिकटन ग्यास आवश्यक पर्दछ। ग्यासको माग वर्षेनी ४, ५ प्रतिशतले बढ्ने गरेको छ । अघिल्लो साउनमा ४५ हजार मेट्रिकटन ग्यास खपत भएको आयल निगमको तथ्याङ्क छ । यस आधारमा साउनमा कम्तिमा ४८ मेट्रिकटन ग्यास आवश्यक हुन्छ र त्यसपछिका महिनामा त्यसै हिसावले चाहिन्छ ।

अब, तथ्य केलाऔं

ग्यास आयात मेट्रिकटनमा हुन्छ । ग्यास वितरण सिलिण्डरमा गरिन्छ । एक मेट्रिकटन भनेको एक हजार केजि हो । एक मेट्रिकटनबाट ७० सिलिण्डरमा पुरा ग्यास भर्न पुग्दछ । हजार हजार मेट्रिकटन आयातका तथ्याङ्क उपभोत्ताको भान्सामा पुग्दा केजि र सिलिण्डरमा रुपान्तरण हुन्छन् । चैतमा आधा सिलिण्डर ग्यास बिक्री गर्दा ५३ लाख ५२ हजार सिलिण्डर उपभोत्ताकोमा पुगेको देखिन्छ । त्यस्तै, वैशाखमा करिव ४५ लाख सिलिण्डर र जेठमा ४६ लाख ४७ हजार सिलिण्डरहरु भरिएर उपभोत्तामा पुगेको थियो । यता असारमा ६२ लाख ६७ हजार सिलिण्डर ग्यास सिलिण्डर भरिएको तथ्य आउँछ, आयातको आधारमा । साउनमा आइपुग्दा आधा सिलिण्डर नभएर पुरा सिलिण्डरको नीति ल्याइयो र साउन २५ सम्म ४४ हजार मेट्रिकटन ग्यास आयात भएको छ । यस आधारमा ३१ लाख ३३ हजारमात्र सिलिण्डर भर्न सकियो । असारमा ६२ लाख ग्यास सिलिण्डर भरिएकोमा साउनमा ३१ लाखमात्र भर्न सकिनेगरी आयात भएपछि स्वभाविक हो, अभाव हुने नै भयो ।

वर्षामा प्रशस्त बिजुली उत्पादन छ । उर्जा मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयबीच आपसि समन्वयन हुनसक्दा विद्युतिय उपकरण खासमा ग्यासको विकल्प इन्डक्सन चुल्हो प्रोत्साहित गर्ने एउटा सूवर्ण अवसर हुन सक्दथ्यो । यो मौंकालाई सिंहदरमा शासन गर्ने ‘कोटरी’ले उपयोग गर्न सक्नुपर्दछ ।

सात दशमलव एक किलोग्राम ग्यास बिक्री गर्न थालेसँगै ग्यासको मागमा कमी आएको, नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन ग्यासको खपत हुँदै आएको विवरण सहीत फागुन २९ देखि असार ३१ सम्म चार महिनाको अवधिमा ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको तथ्य आयल निगमको छ । “आमउपभोक्ताले १४.२ केजी नै बढी रुचाउनु हुँदोरहेछ भन्ने हामीले महसुस गर्यौँ”, निर्देशक उपाध्यायले भनेका छन्। यहाँ उपभोत्ताको रोजाई भन्दा पनि आधा र पुरा सिडिण्डर ग्यासको वितरण चक्र व्यवस्थापन गर्न आयल निगमले चुेकेको देखिन्छ। फागुन महिनामा करिव ५२ हजार मेट्रिकटन ग्यास आयात भएको थियो जसबाट ३५ लाख ५१ हजार सिलिण्डर भर्न सकियो। ३६ लाख सिलिण्डर भर्न सक्नेगरी ५२ हजार मेट्रिकटन बढी ग्यास आयात गर्न र वितरण गर्न सकियो भने केही हदसम्म तत्कालको समस्याको समाधान हुनसक्छ । मुलुकभर भएका सिलिण्डरको एक तिहाईमात्र सधै भर्नसक्ने हो भने ग्यासको निर्वाध उपयोग हुनसक्छ । त्यो भनेको एकतिहाई उपभोत्ताकोमा, अर्को एकतिहाई उद्योगहरुमा र बाँकी एकतिहाई बजारमा । यसो हुँदा ५२ लाख सिलिण्डर भरिनुपर्दछ जसका लागि ७४ हजार मेट्रिकटन ग्यास आवश्यक हुन्छ ।

कति छन्, नेपालमा सिलिण्डर

आयल निगमका प्रवक्ता मनोज ठाकुर, मुलुकभर प्रमाणित भएका सिलिण्डरको संख्या १ करोड ५४ लाख रहेको बताउँछन्। यो बाहेक प्रमाणित नभएका सिलिण्डरको संख्या ठूलो छ। दुबै गरेर १ लाख ७० हजार बढी सिलिण्डरको चक्रमा चलेको छ नेपालको ग्यासको बजार, वितरण र व्यापार प्रणाली ।

अब के गर्ने ?

आयल निगमका प्रवक्ता मनोज ठाकुर इमान्दारीतानै प्रमुख आवश्यकता हो भन्छन् । ‘उपभोत्ता पनि इमान्दार हुनुपर्यो, अहिले आवश्यक छैन भने लाइनमा जानु भएन ’ ठाकुरले भने ‘ उद्यमी, व्यापारी सबैमा इमान्दारीता आवश्यक छ ।’
जोसँग छैन, त्यसलेमात्र ग्यास खोज्ने हो भने समस्या हुँदैन्, ठाकुरको भनाई छ । ‘आधा सिलिण्डर उपलब्ध हुँदा खाली राखेर होल्डिङ्ग गरियो, अहिले भरि राखेर संचित गर्नेहरु पनि प्रशस्त छन्’ ठाकुर भन्छन्।
ग्यास संकट नियमित आकस्मिकता जस्तै हो, खाडिको शान्ति, भारतको उदारता र नेपालको व्यवस्थापन सबैबीच तारतम्य मिल्नु पर्दछ। अहिले वर्षामा प्रशस्त बिजुली उत्पादन छ। उर्जा मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयबीच आपसि समन्वयन हुनसक्दा विद्युतिय उपकरण खासमा ग्यासको विकल्प इन्डक्सन चुल्हो प्रोत्साहित गर्ने एउटा सूवर्ण अवसर हुनसक्दथ्यो। यो मौंकालाई सिंहदरमा शासन गर्ने ‘कोटरी’ले उपयोग गर्न सक्नुपर्दछ।