देउवा आगमनको स्वागत गर्दे पार्टीमा अभिभावकको भूमिका खेल्ने कांग्रेसको विश्वास
काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा लामो समय विदेशमा ‘उपचार’ गरेर फर्किएकोमा हार्दिक स्वागत गर्दे पार्टीमा अभिभावकीय भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ । पार्टीको जारी केन्द्रीय समितिले देउवाको आगमनबारे निर्णय गर्दे उनको पूर्ण स्वास्थलाभको कामना गरेको छ ।
सिंगापुरबाट बिहिबार अपराह्न काठमाडौै ओर्लिएका देउवालाई कांग्रेसको इतरपक्ष भनिने विशेष गरेर देउवागुटका नेताहरुले स्वागत गरेका थिए । त्रिुभवन विभानस्थलबाट ठुलो संख्याका नेता, कार्यकर्ताले देउवाको स्वागत गर्दे, बाजागाजा, नारा सहित उनको बसोबासस्थल महाराजगंज पु¥याएको थियो ।
आजको बैंठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पूर्व सभापतिप्रति स्वागत तथा शुभकामना भनिएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएकोमा हार्दिक स्वागत गर्दछ। यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ’ वक्तव्यमा भनिएको छ ।
संस्थापन र इतरपक्ष भनेर विभाजित र विवादित अवस्थाबाट गुज्रिरहेको कांग्रेसको आन्तरिक जीवनमा देउवाको आगमनको ठूलो अर्थ रहेको छ । इतरपक्ष भनिने देउवागुटले शुक्रबार काठमाडौमा बृहद् भेलाको आयोजना गर्दे छन् र त्यसमा प्रमुख नेतृत्वदायी भूमिका देउवाको हुने प्रचार भैरहेको छ ।
संशयपूर्ण राजनीतिक माहौलमा कांग्रेसले भनेको छ ‘ नेपाली कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नु भएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ । पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ।’
काठमाडौं आइसकेपछि देउवाले विशेष अघिवेशनबाट आएको वैधानिक परिवर्तनलाई स्वीकार्छन ? कांग्रेसले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले समाचार लेखेकै आधारमा गिरफ्तार गरेको घटना तथा लेखा समितिमा समितिका सदस्यबाट र उच्च सरकारी पदाधिकारीहरु लगाइएका आरोपहरुबारे निर्णय गरेको छ ।
कांग्रेस निर्णय (पूर्णपाठ)
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री गगनकुमार थापाको सभापतित्वमा श्रावण २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी रहेकोमा आजको बैठकले देहाय बमोजिमका निर्णय गरेको छ—
निर्णयहरू :
१. पूर्व सभापतिप्रति स्वागत तथा शुभकामना
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएकोमा हार्दिक स्वागत गर्दछ। यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ।
नेपाली कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नु भएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ । पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ।
२. प्रेस स्वतन्त्रता र गैरकानुनी गिरफ्तारी सम्बन्धमा
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यराति गरिएको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी र अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । सञ्चार माध्यमसम्बन्धी कानुन र आचारसंहिताको आधारभूत मूल्यमान्यताको पालना हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । कसैले कानुनविपरीत कार्य गरेमा प्रचलित कानुन बमोजिम अनुसन्धान र कारबाही हुनुलाई स्वाभाविक मान्न सकिए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर प्रहरी प्रशासन सोझै पत्रकार पक्राउ गर्ने, कार्यालय खानतलासी गर्ने र हत्कडी लगाउनेसम्मको तहमा उत्रनु पूर्णतः गलत र अवाञ्छित छ ।
नेपाली कांग्रेस यस घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरी नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिन्छ । कानुनभन्दा माथि कोही पनि हुन सक्दैन, तर राज्य संयन्त्रले पूर्वाग्रह र प्रतिशोध साध्य बनाउने व्यवहार कदापि स्वीकार्य हुन सक्दैन ।
३. संसदीय मर्यादा र सुशासनप्रति प्रतिबद्धता
हालै सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदहरूबाट प्रदर्शन गरिएको अमर्यादित र असंसदीय व्यवहारप्रति नेपाली कांग्रेस गम्भीर असहमति प्रकट गर्दछ। संसद् तथा विषयगत समितिहरू लोकतन्त्रका मन्दिर हुन्, जहाँ जनप्रतिनिधिहरूले प्रयोग गर्ने भाषा, शैली र व्यवहार पूर्णतः अनुशासित, शिष्ट र मर्यादित हुनुपर्छ।
कुनै पनि आरोप वा दाबी तथ्य र विधिसम्मत हुनुपर्छ। राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिने वा पूर्वाग्रहका आधारमा कसैको चरित्रहत्या गर्ने दुवै प्रवृत्ति लोकतान्त्रिक मूल्य-मान्यता विपरीत छन्। नेपाली कांग्रेस आफ्ना सम्पूर्ण सांसदहरूलाई संसद् र संसदीय समितिको उच्च मर्यादा जोगाउँदै उत्तरदायी भूमिका निर्वाह गर्न स्पष्ट निर्देश गर्दछ। व्यक्तिगत वा दलीय आवेगभन्दा माथि उठेर सुशासन, पारदर्शिता, जनजीविका र अधिकारका सवालमा तथ्यमा आधारित भई संसद्मा खरो र जिम्मेवार रूपमा प्रस्तुत हुन नेपाली कांग्रेस प्रतिबद्ध छ। हाम्रा संसदीय व्यवहारले नै लोकतन्त्रप्रतिको निष्ठा र उच्च राजनीतिक संस्कारको प्रतिनिधित्व गर्दछ भन्नेमा हामी स्पष्ट छौँ।
४. भावपूर्ण श्रद्धाञ्जली
हिजो श्रावण २७ गते राति परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ् गाउँपालिका—५ स्थित कोटलबाडामा पहिरोमा परी अहिलेसम्म ७ जनाको निधन भएको र अझै केही बेपत्ता भएको घटनाले स्तब्ध बनाएको छ । नेपाली कांग्रेसको यो बैठक विपत्तिमा परेका परिवारका लागि उचित राहत र पुनर्वासको व्यवस्था गर्न, घाइतेहरुको उपचार र बेपत्ताहरुको खोजी कार्य तीव्र पार्न सरकारसँग आग्रह गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।
आजको बैठकमा १८ जनाले धारणा राख्नु भएको छ । छलफलको क्रम जारी रहेकोले केन्द्रीय कार्यसमितिको बैठक २०८३ श्रावण २९ गते शुक्रबार बिहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बैठकमा धारणा व्यक्त : आजको बैठकमा केन्द्रीय सदस्य एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र केन्द्रीय सदस्यहरू— लक्ष्मी परियार, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, हिमालय कर्माचार्य, दिपनकुमार श्रेष्ठ, लीलादेवी बोखिम लिम्बू, छन्दबहादुर पहराई मगर, मथुराप्रसाद घिमिरे, रामबहादुर कार्की, रामदेवी खड्का, शिवनारायण सिं गनगाइँ, शिवबहादुर सुनार, अष्टकुमार कवे, छायाँ सुनार, निपा चोखाल, सुनिताकुमारी राना र केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
जय नेपाल !
तस्बिर : सामाजिक संजालबाट ।

