भोरहर: भोरहर—मेरो गाउँनजिक बागमतीको बाढीले बनाएको त्यो सानो नदी, जो कुनै बेला गाउँको जीवनधारा थियो; अहिले स्मृतिमा मात्र बग्छ।
यी का बा !
मधेश नेपालको कुनै अलग द्वीप होइन।
तर काठमाडौंको सार्वजनिक विमर्शमा कहिलेकाहीँ यस्तो लाग्छ, मधेशलाई देशभित्रकै भूगोल होइन, देशबाहिरको कुनै रहस्यमय भूभागजस्तो हेर्ने गरिन्छ। मधेशबारे एउटा घटना हुन्छ, एउटा दृश्य देखिन्छ, एउटा वक्तव्य आउँछ अनि त्यसैको आधारमा सिंगो मधेशको चरित्र, चिन्तन र मनोविज्ञानको व्याख्या गर्न थालिन्छ।
मधेशको दलानमा यस्ता भाष्यहरू सुन्दा एउटा सहज प्रश्न उठ्छ—
“यी का बा !”
यो प्रश्न केवल असहमतिको होइन। यसमा अलिकति आश्चर्य छ, अलिकति व्यंग्य छ, अलिकति आत्मीयता छ र धेरै गहिरो अर्थमा— आफ्नोबारे अरूले बनाइदिएको कथाप्रति असहमति छ।
मधेश बहुल समाज हो। यसको विशेषता नै विविधता हो। यहाँ भाषा एउटै छैन, बोली एउटै छैन, जाति एउटै छैन, खानपान एउटै छैन, स्मृति एउटै छैन। एउटै गाउँमा पनि संसारलाई हेर्ने अनेक दृष्टि भेटिन्छन्।
मधेशलाई एउटै रंगले पोत्न खोज्नु भनेको भोरहरको पानीलाई एउटै गिलासमा अटाउन खोज्नुजस्तै हो।
मधेश उत्तर भारतसँग जोडिएको भौगोलिक यथार्थ हो। सीमा पारि खेतको हरियोपन उस्तै देखिन सक्छ। कतिपय थर, भाषा, खानपान, चाडपर्व र पारिवारिक सम्बन्धका सूत्र पनि सीमापारि फैलिएका छन्। सीमाले मानिसको दैनिक जीवनलाई सधैँ कडा रेखाले छुट्याउँदैन।
तर भूगोलको निकटता सामाजिक–राजनीतिक समानताको प्रमाण होइन।
भारतको उत्तर प्रदेश वा बिहारसँग मधेशको केही सांस्कृतिक सामीप्य अवश्य छ। तर नेपालको मधेशको आफ्नै राजनीतिक इतिहास छ, आफ्नै सामाजिक संघर्ष छन्, आफ्नै राज्य-अनुभव छ। नेपालको संविधान, संघीयता, मधेश आन्दोलन, नागरिकता, प्रतिनिधित्व, राज्यसँगको सम्बन्ध—यी सबैले यहाँको राजनीतिक चेतनालाई आफ्नै ढंगले निर्माण गरेका छन्।
त्यसैले मधेशलाई बुझ्न उत्तर भारतको ऐनामा मात्र हेर्नु पर्याप्त हुँदैन।
बरु त्यसो गर्दा एउटा गम्भीर भूल हुन्छ—मधेशको आफ्नै कथा हराउँछ।
मधेशलाई बुझ्ने क्रममा अर्को समस्या पनि छ। हामी कुनै एउटा घटनालाई समात्छौँ र त्यसबाट सम्पूर्ण समाजको मनोविज्ञान निकाल्छौँ।
कुनै ठाउँमा धार्मिक तनाव भयो भने “मधेश धार्मिक रूपमा ध्रुवीकृत हुँदैछ।”
कुनै युवाले उग्र अभिव्यक्ति दियो भने “मधेशका युवाको सोच नै यस्तो छ।”
कुनै राजनीतिक दलले एउटा नारालाई अघि सार्यो भने “मधेशको राजनीति अब यही दिशामा गयो।”
यस्तो निष्कर्ष सहज हुन्छ, तर सत्य हुँदैन।
समाज कुनै एउटा घटनाभन्दा धेरै ठूलो हुन्छ।
मधेशको एउटा बजारमा सुनिने नाराले सम्पूर्ण मधेश बोल्दैन। एउटा सामाजिक सञ्जालको पोस्टले एउटा पुस्ताको चेतना प्रतिनिधित्व गर्दैन। एउटा धार्मिक जुलुसले सम्पूर्ण समाजको धार्मिक मनोविज्ञान बताउँदैन।
मधेशमा एकै समयमा धेरै कुराहरू भइरहेका हुन्छन्। एउटै चोकमा धर्मको कुरा चलिरहेको हुन सक्छ, त्यहीँ रोजगारीको चिन्ता पनि। कुनै घरमा नागरिकताको प्रमाणपत्रको समस्या हुन सक्छ, अर्को घरमा छोरालाई विदेश पठाउने तयारी। कसैलाई सिंचाइको समस्या होला, कसैलाई विद्यालयको। कसैका लागि सीमा अवसर होला, कसैका लागि सुरक्षा प्रश्न।
समाज यस्तै अनेक तहमा बाँचेको हुन्छ।
त्यसैले मधेशलाई बुझ्न घटना होइन, घटनाहरूबीचको जीवन हेर्नुपर्छ।
मधेशलाई बुझ्न सकिँदैन भन्ने पनि ठीक होइन।बुझ्न सकिन्छ।
तर त्यसका लागि एउटा सानो सर्त छ—पहिल्यै बुझिसकेको दाबी लिएर मधेशमा नजानु।
यात्रा गर्दा हामी प्रायः आफ्नो दिमागमा एउटा मधेश बोकेर जान्छौँ। त्यहाँ पुगेपछि हामी त्यही मधेश खोज्छौँ। आफूले सुनेका कथाहरूको पुष्टि हुने दृश्य खोज्छौँ। आफूले पढेका समाचारको प्रमाण खोज्छौँ।तर जिज्ञासु मनले यात्रा गर्यो भने दृश्यहरू अर्कै किसिमले खुल्न थाल्छन्।
दलानमा बसेका मानिसहरूको कुरा सुन्नुस्।चियापसलमा केही बेर बस्नुस्।
बजारको आवाज सुन्नुस्।बसपार्कमा मानिसहरू कसरी बोलिरहेका छन्, हेर्नुस्।
कसैले कसैलाई कुन सम्बोधन गर्छ, ध्यान दिनुस्।कुन विषयमा मानिस हाँस्छन्, कुन विषयमा चुप लाग्छन्—त्यो पनि समाजको पाठ हो।
कुनै गाउँमा पुगेर सोध्नुस् “यहाँ सबैभन्दा ठूलो समस्या के हो?”उत्तर तपाईंले कल्पना गरेको भन्दा फरक आउन सक्छ।
यही फरकमा मधेश भेटिन्छ।
स्थानीय मानिसका लागि जुन कुरा सामान्य र सहज छ, आगन्तुकका लागि त्यही कुरा उत्सुकताको विषय बन्न सक्छ।
मधेशको बिहानमा दूध बेच्न जाने मान्छे, खेतको आलीमा हिँड्ने महिला, मोटरसाइकलमा विद्यालय पुग्ने विद्यार्थी, चोकमा राजनीति छलफल गर्ने बूढापाका, मोबाइलमा रील बनाउने किशोर—यी सबै मधेशका कथा हुन् ।
मधेशलाई एउटा शब्दमा बाँध्ने हतारले मधेशको बहुलता मारिदिन्छ।
सायद यही कारणले काठमाडौंको विमर्श र मधेशको दलानबीच कहिलेकाहीँ संवाद हुन सक्दैन।
काठमाडौंले एउटा प्रश्न सोध्छ।मधेशले अर्को प्रश्न सुन्छ।काठमाडौंले एउटा दृश्य देख्छ।मधेशले त्यस दृश्यपछाडिको इतिहास देख्छ।काठमाडौंले एउटा घटना समाचार ठान्छ।मधेशले त्यस घटनाको सामाजिक स्मृति बोकेको हुन्छ।
त्यसैले कहिलेकाहीँ काठमाडौंको गम्भीर विश्लेषण सुनेर मधेशको दलानबाट निस्कन्छ—
“यी का बा !”
यो वाक्यलाई हल्का नलिनु।
यसमा मधेशको एउटा महत्त्वपूर्ण लोकतान्त्रिक चेतना लुकेको छ—“हाम्रोबारे बोल्दा हामीलाई पनि सुन्नुस्।”
मधेशलाई बुझ्ने सबैभन्दा राम्रो बाटो सायद यही हो।उसलाई व्याख्या गर्नुअघि उसको कुरा सुन्ने।उसको असहमति सुन्ने।
उसको हाँसो सुन्ने।उसको मौनता सुन्ने।
र कहिलेकाहीँ उसले आश्चर्यमा भनेको—
“यी का बा !”पनि सुन्ने।
किनकि समाजलाई बुझ्ने काम सधैँ उत्तरबाट सुरु हुँदैन। कहिलेकाहीँ एउटा प्रश्नबाट सुरु हुन्छ।र मधेशसँग त्यो प्रश्न पहिल्यैदेखि छ।
तपाईं हामीलाई वास्तवमै हेर्न आउनुभएको हो, कि तपाईंले पहिले नै बनाइसकेको मधेश खोज्न?
नोट : वरिष्ठ पत्रकार चन्द्रकिशोरको ब्लग भोरहरबाट साभार ।