भोटेकोशी त्रिशुली बाढीबाट पाठ सिकी पूर्वाधारहरूको विकासमा स्थानीयकरण र डिजाइनलाई समेत समेटेर प्रभावकारी उपायहरूको पहिचान गरी कार्यान्वयन हुनसके भविष्यमा बाढीबाट हुनसक्ने जनधनको क्षति कम गर्न सकिन्छ ।

हामी २०२६ को रसुवा बाढीको कारण जलवायु परिवर्तन हो वा भौगर्भिक अवस्थाको परिणति हो भन्ने बहसमै केन्द्रित भयौं । साथै यसलाई मानव अनुकूलन क्षमता भन्दा बाहिरको जीवन हो भनेर पन्छिन खोज्यौं । यो कुरा सही हो कि यो बाढी धेरै वर्ष वा युगौंको अन्तरालमा आउन सक्ने प्रलयकारी बाढी हो । यसबाट घरहरू र अन्य विकासका पूर्वाधारहरूको धेरै विनास भयो । जुन छोटो समयमा स्थानान्तरण गर्न असम्भव थियो । तर मानवीय क्षति भने अवश्य कम गर्न सकिन्थ्यो ।
हामीले बाढीको बहावको विशेषता, खोला किनाराका ठाउँको विशेषता र त्यसको असरको बारेमा धेरै बहस गरेनौं । हिम–चट्टानी पहिरोको कारणले हिमनदी भत्किने गर्छ । बाढी सुरु भएको ठाउँदेखि नेपाल–चीन सीमा नाका रसुवागढीसम्म बाढीको बहावको दर ५० मिटर प्रति सेकेण्डको थियो।
स्थानीयवासीका अनुसार बाढी आईपुग्न लागेको समय, ती स्थान बीचको दुरी तथा सामाजिक सञ्जालमा राखिएको बाढी आईरहेको समयका बेला खिचिएका भिडियो क्लिप्स आदिको विषयमा बाढीको गति निकाल्न सकिन्छ ।
जसअनुसार रसुवागढीबाट स्याफ्रुवेसीसम्म बाढीको गति ३८ मिटर प्रति सेकेण्ड, मैलुङ दोभानको केहीमाथि २० मिटर प्रति सेकेण्ड, सिम्लेमा १८ मिटर प्रति सेकेण्ड, रसुवागढी र बेत्रावटीको बीचमा २० मिटर प्रति सेकेण्डको दरले बगेको देखिन्छ ।
बाढीको अधिकतम उचाइ पनि फरक फरक आइरहेका छन् । टिमुरे, स्याफ्रुवेसी र घट्टेखोला गाउँमा बाढीको बहाव निकै उचाइमा गएको देखिन्छ । अन्य क्षेत्रमा भने बाढीको सतह त्यति माथि पुगेको देखिदैन ।
रसुवागढीबाट स्याफ्रुवेसीमा बाढी ६ मिनेटमै पुगेको थियो । मान्छे सुरक्षित स्थानमा भाग्नका लागि यो निकै छोटो समय हो । यद्यपि एक स्थानीयवासीले आफू भाग्दै गर्दा सबैलाई भाग्न अनुरोध गर्दै गरेको तर अरुले बाढीले यहाँसम्म आउँदैन अटेर गरेकोले बाढीले बगाएको बताएका छन् ।
बाढी स्याफ्रुवेसीबाट बेत्रावती पुग्न करिब आधाघण्टा र रसुवागढीबाट ३६ मिनेट लागेको थियो । सूचना पाएपछि भाग्नलाई यो समय प्रशस्त थियो । कोही मानिस सूचना प्राप्त गर्ने बित्तिकै भागेर बाँचे । कसैले सूचनालाई विश्वास नगरी र यति ठूलो बाढी आउन सक्छ भन्ने अनुमान लगाउन नसकेर भागेनन् । बाहिर भाग्ने बाटो र भागीसकेपछि बस्ने ठाउँको बारेमा जानकारी नभएर पनि उनीहरू भाग्न चाहेनन् । भाग्दाभाग्दै बाढीले बगाएर लग्यो ।
आयोजनामा काम गर्ने श्रमिक तथा कर्मचारीहरू र सुरुङमा काम गरिरहेकाले बाढीको सूचना प्राप्त गर्न सकेनन् । र, उनीहरू मध्ये कत्तिको त ज्यानै गयो ।

यसघटनाबाट पाठ सिकी पूर्वाधारहरूको विकासमा स्थानीयकरण र डिजाइनलाई समेत समेटेर प्रभावकारी उपायहरूको पहिचान गरी कार्यान्वयन हुन सके भविष्यमा बाढीबाट हुनसक्ने जनधनको क्षति कम गर्न सकिन्थ्यो ।

यदि पूर्व सूचना प्रणालीको विकास, संस्थागत सञ्जालको स्थापना, विश्वासिलो र भरपर्दो सूचना प्रवाह गर्ने व्यवस्था, विभिन्न प्रकार र आकारका बाढीहरू आउन सक्दछ है भन्ने जानकारी, बाढीको समयमा भाग्न मिल्ने बाटो र बस्न मिल्ने ठाउँहरूको पूर्व जानकारी भएको भए नदी किनारको तल्लो भागमा रहेका बस्तीहरूमा मानवीय क्षति कम गर्न सक्ने प्रशस्त संभावनाहरू थिए , र अझै पनि छ ।
नतीजा र निचोडलाई सामान्यीकरण र सरलीकरण गरेर जलवायु परिवर्तनको असर र मानवीय अनुकुलन क्षमताको बाहिरको भनी प्रकृतिलाई दोष दिएर उम्कन खोज्दा भविष्यमा के गर्नु पर्ला भन्ने कुरा छायामा पर्न जाने संभावना हुन्छ ।
त्यसैले विभिन्न विषयमा विषयगत व्याख्या र स्थानअनुसारको विविधतालाई ध्यानमा राखेर निचोड निकाल्न सक्नु पर्दछ । यसघटनाबाट पाठ सिकी पूर्वाधारहरूको विकासमा स्थानीयकरण र डिजाइनलाई समेत समेटेर प्रभावकारी उपायहरूको पहिचान गरी कार्यान्वयन हुन सके भविष्यमा बाढीबाट हुनसक्ने जनधनको क्षति कम गर्न सकिन्थ्यो । र यस घटनाबाट सिकेको सिकाइबाट अन्य नदी प्रणाली र त्यसका जलाधार क्षेत्रहरूमा उपर्युक्त विपद् व्यवस्थापनका उपाय कार्यान्वयन गरी धनजनको क्षति कम गर्न सकिन्छ ।

(प्रा.डा.खनाल त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका पूर्व प्रमुख हुन्)

तस्बिर : बाढी पछिको स्याब्रुबेसी,सामाजिक सञ्लालबाट ।