भालेहरू समूहबाट टाढा जानु संयोग मात्र होइन—यसले नजिकका नातेदारबीच प्रजननको सम्भावना घटाउन सहयोग गर्ने प्राकृतिक प्रक्रियाको रूपमा काम गर्छ। तर त्यसका लागि हात्ती हिँड्ने पर्याप्त जंगल, प्राकृतिक आवतजावतका बाटा र विभिन्न समूहबीच सम्पर्कको अवसर चाहिन्छ।
रोनाल्डो एउटा स्ट्राइकर थियो—धेरै पोथीको मन जित्ने, धेरै सन्तान जन्माउने र आफ्नो वंशलाई अगाडि बढाउने शक्तिशाली भाले हात्ती। राष्ट्रिय निकुञ्जका अभिलेखअनुसार रोनाल्डोका ३८ सन्तान रहेको उल्लेख छ। ‘बखान’ पुस्तकका लेखक बसन्त पराजुलीका अनुसार भने हात्ती प्रजनन केन्द्रमा रोनाल्डोबाट ३३ भुरा–भुरी जन्मिएका थिए। तर यहाँ एउटा भुलेको तर अत्यन्तै ध्यान दिनुपर्ने पाटो छ।
रोनाल्डोका ३३ सन्तान भए भने कथा उसका छोराछोरीमा मात्रै टुंगिँदैन। त्यसपछि नातिनातिना पनि हुन्छन्। अनि प्रश्न उठ्छ—ती नातिनातिना बढ्दै जाँदा रोनाल्डो स्वयं आफ्नै सन्तान वा नजिकका नातेदारसँग प्रजनन गर्ने सम्भावना कति थियो?
प्रकृतिमा नजिकका नातेदारबीच प्रजनन हुँदा आनुवंशिक विविधता घट्ने जोखिम हुन्छ। मानिसको समाजमा जस्तो अदालत, प्रहरी र कानुनले रोक्ने व्यवस्था प्रकृतिमा हुँदैन। त्यहाँ प्रकृतिले नै आफ्नो तरिकाले यस्तो जोखिमलाई नियन्त्रण गर्ने सामाजिक र जैविक प्रक्रिया विकास गरेको हुन्छ। हात्तीको सामाजिक संरचना पनि यही सन्दर्भमा महत्वपूर्ण हुन्छ।
भाले हात्तीहरू हुर्किएपछि प्रायः आफ्नो जन्मेको समुहबाट टाढिन्छन् । पोथीहरू भने प्रायः आफ्नै पारिवारिक समूहमा रहन्छन्। भालेहरू समूहबाट टाढा जानु संयोग मात्र होइन—यसले नजिकका नातेदारबीच प्रजननको सम्भावना घटाउन सहयोग गर्ने प्राकृतिक प्रक्रियाको रूपमा काम गर्छ। तर त्यसका लागि हात्ती हिँड्ने पर्याप्त जंगल, प्राकृतिक आवतजावतका बाटा र विभिन्न समूहबीच सम्पर्कको अवसर चाहिन्छ।
यहीँबाट रोनाल्डोको मृत्युले एउटा अझै गहिरो प्रश्न खडा छोड्छ-के हामीले उसको प्राकृतिक बाटो साँघुरो पारिरहेका थियौँ?
उसको मृत्यु विद्युतीय तारसँग जोडिएको घटनाबारे अनुसन्धान र आधिकारिक निष्कर्षले जे प्रमाणित गर्छ, त्यसलाई नै अन्तिम सत्य मानिएला । तर घटनासँग सम्बन्धित केही दृश्यले प्रश्न उठाउँछन्।
रोनाल्डोले करिब १५ फिट माथि रहेको विद्युतीय तार तानेर तल झारेको र त्यसपछि तार टोकेको देखिन्छ। तार उसको मुखको दायाँ भागदेखि देब्रेतिरसम्म गएको देखिने तस्बिर पनि छन्।
रोनाल्डोको कथा एउटा मृत्युमा टुंगिनु हुँदैन। यो हाम्रो चेतनामा सुरु हुनुपर्छ।
वन्यजन्तु बाँच्ने ठाउँ बचाऔँ। उनीहरू हिँड्ने प्राकृतिक बाटो बचाऔँ। हात्तीका करिडोर बचाऔँ।
यी तस्बिरहरू मलाई विशेष स्रोतबाट प्राप्त भएका हुन्। स्रोतको नाम सार्वजनिक गर्न मिल्दैन, त्यसैले यहाँ स्रोतको नाम उल्लेख गरिएको छैन। म कसैलाई जोगाउन वा कसैमाथि आरोप लगाउन यो कुरा लेखिरहेको छैन।
तर एउटा प्रश्न भने सोध्नैपर्छ—रोनाल्डोले किन त्यति माथि रहेको तार तान्यो? किन त्यसलाई तल झारेर मुखमा लग्यो? त्यहाँ त्यस्तो संरचना किन थियो? र वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा त्यस्तो विद्युतीय संरचना कति सुरक्षित थियो?
अझ एउटा प्रश्न मनमा आउँछ— के रोनाल्डोको विशाल वंश र त्यसबाट उत्पन्न हुन सक्ने नजिकका नातेदारबीचको प्रजनन जोखिमलाई प्रकृतिले आफ्नै तरिकाले व्यवस्थापन गरिरहेको थियो? वा हामीले उसको प्राकृतिक सामाजिक संरचना र आवतजावतका बाटाहरू यति साँघुरा बनाइसकेका थियौँ कि उसले हिँड्नुपर्ने बाटो नै मानवीय संरचनाले जोखिमपूर्ण बनाइदिएको थियो? के प्रकृतिले रोनाल्डोलाई तारतर्फ धकेलेको थियो?
यो प्रश्न सोध्न भने हामीले छोड्नु हुँदैन। किनकि रोनाल्डो केवल एउटा हात्ती थिएन।
ऊ एउटा पुस्ता थियो।
ऊ एउटा वंश थियो।
ऊ दर्जनौँ सन्तानको पिता थियो। सायद ती सन्तानबाट जन्मिएका अर्को पुस्ताको पनि एउटा महत्वपूर्ण आनुवंशिक आधार थियो।
यो हाम्रो वन व्यवस्थापनको प्रश्न हो।
यो हात्तीको प्राकृतिक आवतजावतको प्रश्न हो।
यो वन्यजन्तुको वासस्थानको प्रश्न हो।
यो विकासका नाममा बनाइएका संरचनाहरूको प्रश्न हो।
रोनाल्डो अब छैन।
उसको गर्जन छैन।
उसका पाइला छैनन्।
उसका पछाडि दौडिने भुराहरूले अब उसलाई देख्न पाउने छैनन्।
तर उसका सन्तान छन्। उसको वंश छ। र त्यसैले आज हामीले सोध्नुपर्ने प्रश्न— के विकास भनेको वन्यजन्तुको बाटो साँघुरो पार्दै अघि बढ्नु हो?
यदि होइन भने, हाम्रो विकासको नक्सामा हात्तीको बाटो कहाँ छ? रोनाल्डोलाई सम्झनु भनेको एउटा हात्तीलाई मात्र सम्झनु होइन।
उसले हिँडेको जंगल सम्झनु हो।
उसले भेटेका पोथी सम्झनु हो।
उसले जन्माएका सन्तान सम्झनु हो।
उसले निरन्तरता दिएको वंश सम्झनु हो।
र उसले अन्ततः भोगेको मानव संरचनासँग जोडिएको जोखिम सम्झनु हो।
रोनाल्डोको कथा एउटा मृत्युमा टुंगिनु हुँदैन। यो हाम्रो चेतनामा सुरु हुनुपर्छ।
वन्यजन्तु बाँच्ने ठाउँ बचाऔँ। उनीहरू हिँड्ने प्राकृतिक बाटो बचाऔँ। हात्तीका करिडोर बचाऔँ।
मानवीय संरचनालाई वन्यजन्तुमैत्री बनाऔँ ताकि प्रकृतिले हजारौँ वर्ष लगाएर बनाएको सन्तुलनलाई हामीले आफ्नै हातले नतोडौँ।
रोनाल्डोलाई साँचो श्रद्धाञ्जली दिनु भनेको उसको मृत्युमा दुःखी हुनु मात्र होइन—उसले हिँडेको बाटो र उसका पछिल्ला पुस्ताहरूको भविष्य पनि बचाउनु हो।
नोट: ददि सापकोटाको फेसबुकबाट ।