काठमाडौं, ३ फागुन ।
राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रीको पावन अवसरमा आराध्यदेश पशुपतिनाथको दर्शन गरेका छन् । शिवरात्रिको अवसरमा राष्ट्रपति पौडेल तथा प्रथम महिला सबिता पौडेलले पशुपतिनाथ दर्शन गर्नुका साथै काठमाडौ सिफल स्थित भण्डारेश्वर महादेवको पुजा अर्जना पनि गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आयतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेको राष्ट्रपतिको सचिवलयले जनाएको छ । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन ।राष्ट्रपति र प्रथम महिलालाई पशुपतिनाथ मन्दिरका मूल भट्टबाट चन्दन र फूलप्रसाद प्रदान गरियो ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा सहितका मन्त्रिहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भए। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान नेपाली सेनाले आयोजना गरेको सो बढाईं तथा सैनिक कला प्रदर्शनी ( २०८२ समारोहमा सरिक भएका थिए । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन । उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे।
समारोहमा सेनाले विभिन्न आकर्षक रणकौशल, मार्चपास तथा परम्परागत भेषभुषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथ प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान प्रदान गरे।

उक्त कार्यक्रममा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्ने सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो । सो अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गरेको थियो । साथै, राइफल र तोपबाट महाशिवरात्रि बढाईं तथा आकर्षक कवाज प्रस्तुत गरेको थियो ।

सो समारोहमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकरी अधिकारी र समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता रहेको थियो ।