काठमाडौं , १८ वैशाख ।
राष्ट्रपति पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्तहरू मार्गदर्शक बन्न सक्ने बताएका छन् । २५७० औँ बुद्ध जयन्तीको शुभ उपलक्ष्यमा शुक्रबार आयोजित बृहद् बौध्दसभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौतीहरू द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र मानवीय मूल्यहरूको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पारे ।


पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्दै व्यक्ति, समाज र राष्ट्र मात्र होइन समग्र विश्वलाई नै सकारात्मक बाटोतर्फ डो¥याउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने सबैको विश्वास रहेको बताए ।
उनले बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरव मात्र होइन, जिम्मेवारीको विषय पनि भएको भन्दै विविधता र वहुलताको समुचित व्यवस्थापन गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु आजको नेपालको आवश्यकता भएको बताए ।
उनले विश्व शान्तिका नायक, करुणा र प्रज्ञाका अनुपम स्रोत, गौतम बुद्धको २५७० औं बुद्ध जयन्तीको यस पावन अवसरमा स्वदेशी तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र प्रगतिको कामना पनि गर्नुभयो ।
राष्ट्रपति पौडेलले वैशाख शुक्ल पूर्णिमाको पावन दिनमा बुद्धको जन्म, सम्यक् सम्बोधि (ज्ञान प्राप्ति) तथा महापरिनिर्वाण जस्ता त्रि–संयोग रहेको यो दिवस एक अद्वितीय क्षणको प्रतीक भएको उल्लेख गर्दै यस अवसरमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूले विहार, स्तूप र चैत्यहरूमा श्रद्धा, भक्ति र साधनाका माध्यमबाट बुद्धको शिक्षालाई स्मरण गर्ने परम्परा रहेको विदितै रहेको बताए ।