कञ्चनरुप रुपनगर(सप्तरी), ३ असार ।
कंञ्चनरुप नगरपालिका, रुपनगर स्थित विष्णु मन्दिरको वार्षिक उत्सव आयोजना गरिएको छ ।असार २, ३ गते मन्दिर निर्माण र मन्दिरमा विष्णु भगवानको दिव्य मुर्ति प्रतिस्थापना गरेको दिनको अवसर पारेर प्रत्येक वर्ष वार्षिकउत्सव आयोजना गरिन्छ, धार्मिक कार्यक्रमहरु हुने गरेका छन्।

२०३५ साल जेठ ३ गते मन्दिर निर्माण गरेर भगवानको मुर्तिलाई मन्दिरमा प्रतिस्थापना गरिएको थियो । यो वर्ष भने जेठ ३ गते अधिकमास परेकोले अधिकमास समाप्त भएपछि वार्षिक कार्यक्रम आयोजना गरिएको हो ।

वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार विष्णुको विशेष पूजा आराधना,विष्णु सहर्षनाम,भागवत र वेद पाठ गर्नुका साथै हवन सम्पन्न भयो ।
बुधबार १०८ घडाबाट बिष्णुको पूर्ण अभिषेक, श्रृगार, आरती ,हवन सहित वार्षिकोत्सका विशेष कार्यक्रमहरु धार्मिक अनुष्ठान सहित सम्पन्न भएका छन् । विशेष पूजा आराधना, हवन र संगितमय भजनमा ठूलो संख्याका धर्माबलम्बीहरुको सहभागिता थियो ।

२००१ सालमा घर निर्माणको क्रममा भेटिएको अष्टलक्ष्मी सहितको विष्णुको मुर्तिलाई स्वंय प्रकट भगवान भनिन्छ । मुर्ति भेटिएकै स्थानमा मन्दिर बनाएर विष्णु भगवानलाई राखिएको छ ।

मुर्ति भेटिएको जमिनका मालिक केशवप्रसाद पोखरेलले मन्दिर बनाएर राख्ने संकल्प गर्दे उठ्न अनुरोध गरेपछिमात्र त्यसबेला मुर्ति उठाउन सकिएको स्थानीय कथन छ ।

२००१ सालमा भेटिएको विष्णु भगवानको दिव्य मुर्तिलाई प्रारम्ममा सामान्य मन्दिरमा राखेर नियमित पूजाअर्चना हुने गरेको जानकारहरु बताउँछन् । पछि २०३५ सालमा मन्दिर निर्माण भएपछि प्रत्येक दिन पूजाअर्जना र प्रसाद वितरण हुने गरेको छ ।

मन्दिर निर्माण सिताराम काबरा र गनपतलाल काबराले गरेको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । मन्दिर निर्माणमा काबरा परिवारलाई उत्प्रेरणा दिएको र मन्दिरका लागि जमिन केशवप्रसाद पोखरेलले उपलब्ध गराएको शिलालेखमा उल्लेख छ । पोखरेलले सवा बिगहा जमिन मन्दिरलाई दिएका थिए ।
मन्दिरमा नियमित पुजा संचालन हुनुमा काबर परिवारको विशेष योगदान रहेको स्थानीय बताउँछन् । विष्णुधाम देवस्थान संरक्षण सम्वद्धन समितिले मन्दिर र नियमित पुजा संचालनको व्यवस्थापन गर्दे आएको छ ।