राणाको राजीनामालाई पार्टी प्रवक्ता मनिष झा भने निर्वाचनमा उमेदवारी नपाएपछिको आक्रोस भन्दछन् ।
काठमाडौं, फागुन १ ।

चुनावी माहौल तातिरहेको समयममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रणय शमसेर राणाले पार्टीमा बेथिति, आर्थिक पारदर्शिताको अभाव र अपचलन बढेको आक्षेप लगाउँदै सबै जिम्मेबारीबाट अलग भएको सार्वजनिक घोषणा गरेका छन् । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दे माघ २९ गते बुझाएको प्रणयको राजीनामा पत्रले रास्वपा पार्टीका नेता तथा केन्द्रीय समितिले केही गंिभर प्रश्नहरुको उत्तर दिनुपर्ने अवस्था औंल्याएको छ ।
पार्टीको प्रवास सम्पर्क तथा सम्बन्ध समितिका सदस्य तथा प्रतिनिधिसभा निर्वाचन २०७९बाट काठमाडौं ५ का प्रत्याशी प्रणय शमसेरले पार्टीमा बेथितिले राज गरेको आरोप लगाएका छन् । राजीनामा पत्रमा भनिएको छ ‘ ..यि सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’ राणाको राजीनामालाई पार्टी प्रवक्ता मनिष झा भने निर्वाचनमा उमेदवारी नपाएपछिको आक्रोस भन्दछन् । ‘पार्टीमा फरक फरक समुहहरु समाहीत भएपछि कसैलाई फाइदा हुन्छ, कसैलाई घाटा हुन्छ’ मनिषले भने ‘उमेदवारी नपाउँदाको आक्रोस हो,असन्तोष हो ।’
प्रणय यसपटक पनि चुनावी मैदानमा उत्रन चाहन्थे । रास्वपाले घोषणा गरेको तथा प्रयोगमा नल्याएको प्राइमरी इलेक्सनमा पैसा बुझाएर सहभागि भएका उनी प्राइमरी चुनाव र त्यसवापत उठाएको पैसाबारे प्रश्न उठाइरहेका थिए । प्राइमरी इलेक्सन नगरेपछि पैसा फिर्ता गर्नुपर्ने भन्दै उनी दुईसाता अघिदेखि समाचारमा छाएका थिए । अघिल्लो निर्वाचनमा काठमाडौं ५ मा ५४७७ मतका साथ तेश्रो स्थानमा आएका प्रणय यसपटक सोही क्षेत्रबाट उमेदवार हुने तयारीमा थिए । रास्वपाले यसपटक त्यहाँबाट सस्मित पोखरेललाई उमेदवार बनाएको छ ।
प्रणयका ११ बुँदे प्रश्नहरु
१. पार्टीमा सुरुवाती दिनदेखि नै आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शीताका लागि मैले पैरवी गर्दे आएको थिए । तर, सुरुदेखिनै पार्टी केन्द्र आफ्नो अनुकुल संगठन र सांगठनिक संरचना बनाउनेमा केन्दीत देखियो ।
२. केन्द्रीय समितिलाई सीमित मात्र गरिएन बल्की त्योसँग बाँझिने केन्द्रीय सचिवालयबाट सबै निर्णयहरु गर्न थालियो ।
३. प्राइमरि चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो ।
४. प्राइमरिका प्रक्रियामात्र नभई त्यसका लागि उठाइएको ठूलो रकममा पनि आर्थिक पारदर्शिता, अपचलन देखियो ।
५. पार्टी स्थापना कालमा राखिएको वाचा ‘बेथितिको अन्त्य, थितिको थालनी’ ठिक उल्टो भएर ‘थितिको अन्त्य बेथितिको थालनी’ हुन पुगेको छ ।
७. केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार छन् भने अन्य अजिबो गरिब तबरले मौन छन् । सीमित बोल्ने साथीहरुको हविगत आम नेपालीलाई थाहा भइसकेकै छ ।
८. सुशासन, जवाफदेहीता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्र सीमित रहेको छ, अभ्यासमा फिटिक्क छैन् ।
९.अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दे गर्दा भोली यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?
१०. आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोली सरकारमा गएर उत्कृष्ठ काम गर्छ भन्ने विश्वास म गर्न सक्तिन र अन्धभक्ति पनि गर्न चाहन्न ।
११. त्यसैले यी सारा बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमा रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।