भक्तपुर २ बाट कांग्रेसका कबिरको उम्मेदवारी दर्ता
काठमाडौं, ६ माघ ।
नेपाली कांग्रेस भक्तपुर २ का उम्मेदबार कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार अपराह्न राणाले नेपाली कांग्रेस भक्तपुरका ठूलो संख्याका नेता तथा कार्यकर्ताहरुको जुलुश सहित बोडे स्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।
भक्तपुर २ बाट एमालेबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री, नेपाली कम्यूनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैधले उम्मेदवारी दिएका छन् । विगतका निर्वाचनको तुलनामा नेपाली कांग्रेसका राणा र एमालेका बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । त्यस्तै क्षेत्र २ मा नेपाली कम्यूनिष्ट रामप्रसाद सापकोटा र रास्वपाका राजिव खत्री पनि प्रतिस्पर्धामा आउने आँकलन भैरहेको छ ।
त्यस्तै भक्तपुर १ बाट कांग्रेसका उम्मेदवार किरण न्यौपानेले पनि उम्मेदबारी दर्ता गराएका छन् । भक्तपुर १ बाट नेमकिपाका प्रेम सुवालले उम्मेदवारी दिएका छन् । विगत निर्वाचनहरुको परिणाम अनुसार भक्तपुर १ मा नेमकिपाको जित हुँदै आएको छ ।
