काठमाडौं, ३ माघ ।
विशेष अधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा संरक्षित कांग्रेस समुह आयोगको निर्णय विरुद्ध कानुनी उपचार खोज्ने, राजनीतिक प्रतिरोध गर्ने निर्णयमा पुगेको छ । पार्टीका ‘ कार्यवाहक’ सभापति पूर्ण खडकाको अध्यक्षतामा शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैंठकले आयोगको निर्णयलाई दुरासयपूर्ण भनेको छ ।
आयोगले शुक्रबार कांग्रेस विशेष अधिवेशनलाई मान्यता दिदैं गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारीक भनेको हो । आयोगमा नयाँ कार्यसमिति र देउवा पक्षका नेताहरु दुबैले आआफ्ना प्रमाणहरुकासाथ आधिकारीक मान्न आग्रह गरेका थिए । आयोगले नेपालको सविधान, राजनीतिक दल सम्बन्धी कानुन र कांग्रेसको विधानको आधारमा थापालाई वैधानिक ठहर गरेपछि कांग्रेसको सस्थापन भनिने देउवा समुहले शनिबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

विशप्तिमा भनिएको छ ‘ निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ । ’ बैंठकले काग्रेसको पुष २७—३०सम्म काठमाडौमा सम्पन्न विशेष महाधिवेशनलाई तथाकथितको संज्ञा दिएको छ । विज्ञप्तिमा भनिएको छ‘ तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ ।
वक्तव्यको पूर्ण पाठ

१। नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले मिति २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरुपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, श्री शेरबहादुर देउवा सभापति रहनु भएको नेपाली कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित जानकारीमूलक पत्राचार र बुझाइएका प्रमाणहरूलाई वेवास्ता र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको छ । तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पु¥याउने मनसाय प्रष्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश हो ।
२। २०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानूनी काम कार्वाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गर्दछ ।

जय नेपाल १
कृष्णप्रसाद पौडेल
मुख्य सचिव