संभवत गगन र विश्वप्रकाश माथि प्रशस्त दबाव छ यतिखेर ।परिवर्तनकारी आकाक्षाहरुको सम्बोधन गर्न बुहुमत प्रतिनिधिहरुले दिने माण्डेट अनुसार चल्नुपर्ने हुन्छ । सँगसँगै यथास्थितिवादीहरुको ठूलो संख्या छ कांग्रेस पार्टीमा, ति विशेष महाधिवेशन विरोधीहरुलाई किराराकृत नगरि पार्टीमा व्यवस्थापन गर्ने चुनौती पनि सामुन्ने छन्।

समाचार टिप्पणी
काठमाडौं, २८ पुस ।
नेपाली कांग्रेस दोश्रो विशेष महाधिवेशनको प्रारम्भसँगै नयाँ मार्गमा प्रवेश गरेको छ । आइतबार भृकुटीमण्डप, काठमाडौंमा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको अपार सहभागिताबीच सम्पन्न उद्घाटन समारोहले कांग्रेसलाई नयाँ मार्गमा अग्रसर गराएको हो । कांग्रेसका महाधिवेशन प्रतिनिधि जो पार्टीको नीति र नेतृत्व परिवर्तनको हकदार हुन्छन् उनीहरु आधा भन्दा निकै बढी सहभागि भए । सोमबादेखी सुरु हुने बन्द सत्रमा विचार विमर्श गर्ने छन्, नीति मन्थन गर्ने छन् जेनजि आन्दोलन पछिको बद्लिएको सामाजिक, राजनीतिक परिवेशमा कांग्रेको नीति बद्ल्ने छन् । बहुमतीय अंहकारमा रमाइरहेको नेतृत्वलाई बिदा गरेर नयाँ केन्द्रीय समिति गठन गर्ने सभावना पनि छ ।
बिशेष अधिवेशनको नेतृत्व महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन् ।र, लामो समयदेखी कांग्रेसमा विकसित विशेष अधिवेशनपक्ष र संस्थापन पक्ष भन्ने विभाजन मेटिएको छ । चुनाव अगाडि नीति र नेतृत्व परिवर्तन कि चुनाव पछि भन्ने विवाद, बहस समाप्त भएका छन्। बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताका सम्पन्न हुन गैरहेको विशेषले वैधानिकता प्राप्त गरेको छ । संस्थापनको नेतृत्वकर्ता पार्टी सभापति शेरबहादुर देउवा बन्दसत्रमा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्न आग्रह भैरहेका छन् । देउवाले बहुमत प्रतिनिधिहरुको आवाजलाई आत्मसात गर्नसके भने कांग्रेस थप क्षती हुनबाट जोगिने हुन्छ । अपमानित भएर किनाराकृत हुनुभन्दा उपस्थित भएर सम्मानजनक बर्हिगमन हुनु उनका र कांग्रेसका लागि श्रेयस्कर हुनेहुन्छ ।
विशेष महाधिवेशनलाई संकल्प महाधिवेशन, सहमतिको महाधिवेशनमा रुपान्तरण गर्ने प्रयास पनि छन्, काग्रेसमा । बन्दसत्रले कस्तोरुप लिन्छ, कता जान्छ, त्यसको छिनोफानो महाधिवेशन प्रतिनिधिहरुले गर्ने छन् । उद्घाटन सम्बोधनमा गगन थापा भन्दै थिए ‘ यो सदस्यहरुले मागेर भएको विशेष महाधिवेशन हो । सदस्यहरुले नीति बद्ल्ने छन्, नेतृत्व बदल्ने माग गरेका छन् ।’ गगन विशेष महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने प्रश्न गर्दे भन्दै थिए‘ यो कहाँ गएर टु.गिन्छ, मलाई थाहा छैन, त्यो भेलाले निर्णय गर्छ, मैले त्यसलाई मान्नुपर्दछ ।’ गगनका यी हरफहरुबाट अझै पनि कांग्रेस भित्र केही अन्तर्यहरु छन् भन्ने देखिन्छ । संभवत गगन र विश्वप्रकाश माथि प्रशस्त दबाव छ यतिखेर ।परिवर्तनकारी आकाक्षाहरुको सम्बोधन गर्न बुहुमत प्रतिनिधिहरुले दिने माण्डेट अनुसार चल्नुपर्ने हुन्छ । सँगसँगै यथास्थितिवादीहरुको ठूलो संख्या छ कांग्रेस पार्टीमा, ति विशेष महाधिवेशन विरोधीहरुलाई किराराकृत नगरि पार्टीमा व्यवस्थापन गर्ने चुनौती पनि सामुन्ने छन्।
उद्घाटन समारोहमा बोल्दै महेश आचार्य भन्दै थिए ‘दुई होनहार महामन्त्रीहरुलाई शुभकामना छ ।उहाँहरु भोलीको कांग्रेस हो । शेरबहादुर उहाँका साथीहरुको पुस्ता हिजोको पुस्ता हो । हिजोका कांग्रेसलाई सम्मान छ । तर, भोलीकालाई स्वागत गर्न मेची, महाकालीका साथीहरु आज विशेष महाधिवेशनमा उपस्थित हुनु भएको छ ।’
महेशले भनेजस्तै हिजोका कांग्रेसहरुको ओजिलो उपस्थिति देखियो विशेष महाधिवेशनमा । त्यहाँ २०१४ सालको पहिलो विशेष महाधिवेशनमा सहभागि भएका ओमकार श्रेष्ठ थिए । पूर्व सभामुख तारानाथ रानाभाट थिए । अर्जुननर्सिङ्ग केसी थिए । सस्थापनको कोटीमा रहेका गोपालमान श्रेष्ठ भन्दै थिए — म यहाँ केही माग्न आएको होइन, कुनै अपेक्षा छैन, दिन आएको हो, शुभकामना दिन ।’ आफूहरु भन्दा पछिको पुस्ताका नायकहरु गगन र विश्वप्रकाशालाई सम्बोधन गर्दे गोपालमानले भने ‘ यो ऐतिहासिक महाधिवेशन हो । गगन र विश्वप्रकाश भविष्यका तारा हुन् । गोपालमानले भने भने‘पार्टीलाई विधान अनुसार बढ्न् दिनुपर्दछ, चल्न दिनु पर्दछ, यसले गरेका निर्णय कार्यान्वयन गर्नुपर्दछ ।’
कांग्रेस यो अवस्थामा आइपुग्नुका पछाडि कारण छन् । जेनजि बिद्रोह र विध्वंशको रापताप पछि बद्लिएको समाज, भत्किएका राजनीतिक किल्लाहरु र घाँयल भएको संविधान थियो, छ । त्यहीँ आन्दोलनको पृष्ठभूमिमा कांग्रेसको नीति र नेतृत्वमा परिवर्तन अपरिहार्य छ भन्ने अभियान चल्यो, कांग्रेसमा त्यसको नेतृत्व लिए महामन्त्रीहरुले । महामन्त्री विश्वप्रकाश जो शालिन छन्, सभ्य बोल्छन्, गहिरा कुरा गर्दछन् । उनी चालकको सिट नजिकै बसेकाहरु पनि पार्टीका कमिकमजोरीको जिम्मेवार हौं भन्ने आत्मस्वीकृती बाड्दै थिए ।
विधानको व्यवस्थालाई केन्द्रीय समितिको बहुमतको बलमा अवैधानिक भन्नेसम्मको अधिनायकवादी चरित्र कांग्रेसका नेताहरुले लिन सक्ता रहेछन् भन्ने देखियो । यो भर्खरैको विगत हो । फेरीएको कांग्रेस, बद्लिएको कांग्रेस नीति सहित निर्वाचनमा जाऔं भन्ने प्रयासलाई तेजोवध गरेपछि विधानको वाध्यकारी अस्त्र अघि सारेका हुन् कांग्रेसका कार्यकर्ताले ।
अब,कांग्रेस नयाँ मार्गका प्रवेश गरेको छ । नयाँ सोच, नयाँ प्रविधि र नयाँ पुस्तालाई समेट्दै अगाडि बढ्न्पर्ने चुनौती सामुन्ने छन् । कांग्रेस विशेष अधिवेशनले बनाउने केन्द्रीय समितिले कांग्रेसको ओज बरकरार राख्न सक्यो भने त्यो कांग्रेसका लागि मात्र होइन, मुलुक, लोकतन्त्रालाई फलदायी हुनेहुन्छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *