काठमाडौ, १५ मंसिर।
नेपाली कांग्रेसले १५ औं महाधिवेशन संघारमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने जो कोहीलाई पनि सदस्यता प्रदान गर्ने लचिलो मापदण्ड बनाएको छ । १५ मंसिरको केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड पारित गरेको हो । ८ बुँदे मापदण्डमा पहिलो नम्बरमा भनिएको छ‘ नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने । कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।’
मापदण्ड यस प्रकार छ 
१. नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने । कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।
२. प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४ औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउनेछ ।
३. यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकता अनुसार थप माग भए बमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने ।
४. वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गताको जनसंख्यालाई मध्येनजर गरी सोही आधारमा समानुपातिक÷समावेशी प्रतिनिधित्वलाई ध्यान दिने ।
५. नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाहरुको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिई वितरण गर्नु पर्ने ।
६. समाजमा विभिन्न पेशागत वुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरुलाई प्राथमिकता दिनु पर्ने ।
७. निर्वाचनका समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न भएका व्यक्तिहरु, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी भएका व्यक्तिहरु र पार्टी वा भ्रातृ संघको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रिय रहेका व्यक्तिहरुलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक प्रबन्ध गर्ने ।
८. राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रुपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने ।
नवीकरण सम्बन्धमा गरिएको  व्यवस्था 
(१) क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम अवधि (मृत्यु भएका, पार्टी परित्याग गरेका, पार्टीको केन्द्रीय अनुशासन समितिले कार्वाही गरेर निष्कासन गरेका तथा ‘मेरो क्रियाशील नवीकरण नगरिदिनु’ भनी लिखित वा मौखिक आग्रह गरेकाहरुको बाहेकको नवीकरण गर्ने ।) समयसीमा मंसिर २५ सम्म ।
२. २०८२ मंसिर २५ गते भित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाई सकेपछि पनि कुनै सदस्यले नवीकरण गर्न आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाहरुको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने । समयसीमा पुष ३ गते भित्र ।