कांग्रेसको नियमित अधिवेशन : इमान्दारीता र युद्धस्तरको सक्रियता आवश्यक
विशेष अधिवेशनको राजनीतिक अस्त्रले कांग्रेसलाई पुष अन्त्यसम्ममा नियमित अधिवेशन गर्न वाध्य बनाएको हो
काठमाडौं १५ मंसिर ।
नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समितिले अगामी पुष २६ देखि २९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । अढाई महिना लामो छलफल पछि कार्यवाहक सभापति पूर्ण खडकाले केन्द्रीय समिति बैंठकमा राखेको महाधिवेशन तालिकालाई सर्वसम्मतले पारित गरेको हो ।
महाधिवेशनबारे निर्णय गर्न अढाई महिना लगाएको कांग्रेसले एक महिना १३ दिनको समयमा क्रियाशील सदस्यताको टुंगो लगाउँदै सबै तहका अधिवेशन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन अगाडि, निर्वाचन पछाडि भन्ने विवाद, विशेष अधिवेशनका निवेदनबीच लामो समय अन्यौलग्रस्त कांग्रेसका संस्थापन, इतर सबै पक्ष इमान्दार भएर युद्धस्तरमा मैदानमा उत्रनुपर्ने देखिन्छ ।
पार्टी सभापति शेरबहादु्र देउवाको एक साता लामो छलफल पछि कांग्रेस प्रतिनिधिसभा निर्वाचन फागुन २१ अघि नियमित अधिवेशन गर्ने निर्णयमा पुगेको हो ।निर्वाचन अघि महाधिवेशनको निर्णय गराउन देउवाले आफ्नै पक्षका कतिपय केन्द्रीय नेताहरुलाई सहमत गराउनु परेको थियो । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर सहीत विशेष महाधिवेशनका लागि आवेदन गरेका थिए, जसको अन्तिम मिति पुष २८ हो । यही मेसो पारेर केन्द्रीय समितिले महाधिवेशनको मिति तय गरेको छ ।
२०७८ मंसिर २४ देखि २७ सम्मसम्मन्न १४ औं महाधिवेशनको पदावधी सकिने लागेको समयमा नियमित अधिवेशन प्रारम्भ भएको छ । नियमित अधिवेशनको कार्यतालिकालाई लिएर अहिले पनि शंकाहरु मेटिसकेका छैनन्। कांग्रेसका जिम्मेवारहरु‘इमान्दार भएर लागेमा’ तोकिएको मितिमा सम्पन्न गर्न सकिने बताउँछन् ।कांग्रेसका संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यक्रम आएपछि विशेष अधिवेशनको औचित्य सकिएको अर्थ लगाउन थालेका छन् ।यता, विशेषका अभियानकर्ताहरु नियमित अधिवेशन हुन नसकेमा पुष २८को अन्तिम मितिबाट विशेष अधिवेशन गर्न सकिने दाबी गर्देछन् । विशेष अधिवेशनको राजनीतिक अस्त्रले कांग्रेसलाई पुष अन्त्यसम्ममा नियमित अधिवेशन गर्न वाध्य बनाएको हो ।
काग्रेसको तालिका
महाधिवेशनको कार्यक्रम मंसिर २० गतेदेखी प्रारम्भ हुने छ । क्रियाशील सदस्य सम्बन्धि काम पुष ८ गतेसम्म सम्पन्न गर्ने ।
पुष १४ सम्ममा क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण विवरण केन्द्रीय समितिमा बुझाइसक्ने ।
विदेशस्थित सम्पर्क समितिहरुको अधिवेशन पुष १५ सम्ममा सम्पन्न गरिसक्ने
गाउँ, नगर वडा अधिवेशन पुष १६ गते हुने ।
गाउँ, नगर अधिवेशन पुष १७ गते हुने ।
प्रदेशसभा, क्षेत्रीय अधिवेशन पुष १९ गते ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुष २१ र २२ गते । एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा २१ गते, एक भन्दा बढी निर्वाचन भएको जिल्लामा २२ गते
प्रदेश अधिवेशन पुष २३, २४ गते ।
केन्द्रीय अधिवेशन पुष २६ देखि २८ गते काठमाडौंमा सम्पन्न हुने ।


