सेना प्रहरीको आग्रह यथार्थपरक समाचार

काठमाडौं २४ अशोज ।
मुलुकका दुई प्रमुख निकाय नेपाली सेनाले प्रेस नोट र नेपाल प्रहरीले विज्ञप्ती प्रकाशीत गर्दे मिडियालाई तथ्यपरक समाचार प्रकाशन, प्रसारण गर्न आग्रह गरेका छन् ।
बैग्लाबैग्ले प्रकाशीत प्रेस नोट र विज्ञप्तीमा यथार्थपरक समाचारहरुमात्र सम्प्रेषण गर्न भनिएको छ । नेपाली सेनाले जारी गरेको नोटमा भनिएको छ ‘ हालको संवेदनशिल अवस्थामा विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी र धारणाहरु सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’सेनाले आफैले समय समयमा आफ्ना धारणा र गतिविधिहरु विभिन्न माध्यमबाट सार्वजनिक गर्दे आएको बताउँदै यथार्थपरक सूचना सम्प्रेषण गर्न अपिल गरेको छ ।
यता नेपाल प्रहरीको प्रधान कार्यालयले प्रेस विज्ञप्ती प्रकाशीत गर्दे प्रहरी महानिरिक्षक चन्द्र कुबेर खापुङ्गसँग जोडेर भ्रामक समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाएको छ । विज्ञप्तीमा भनिएको छ —केही दिन यता विभिन्न पत्रपत्रिकाहरु र संचार माध्यमहरुमा प्रकाशीत वा प्रसारित समाचारहरुमा ‘प्रहरी महानिरिक्षक चन्द्र कुबेर खापुङ्गले पूर्व प्रधानमन्त्री केपि शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रकाउ गर्न दबाव सृजना गरिए वा वाध्य बनाए राजीनामा दिन्छु ’ भनेको भन्ने आशयका भ्रामक समाचार सम्बन्धमा प्रहरी प्रधान कार्यालयको गंभिर ध्यानाकर्षण भएको छ ।’
महानिरिक्षकबाट कही कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी दिदै विज्ञप्तीमा भनिएको छ ‘ सम्माननीय प्रधानमन्त्रीज्यूसँग र माननीय मन्त्रीज्यूसँग भएका सुरक्षा बैंठक र प्रतिवेदनहरुमा समसामयिक घटनाक्रमहरु वा सोबाट सृजित सुरक्षा चुनौतीहरुको बारेमा विश्लेषण गर्दे शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रीत भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ प्रहरीको विज्ञप्ती केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जारी गरेका हुन् ।