कुमार सर खोटाङ र भोजपुरको शैक्षिक र राजनीतिक चेतनाको उज्यालो नक्षत्र हुनुहुन्थ्यो । राजनैतिक चेतनाको उज्यालो दियो हुनुहुन्थ्यो । प्रजातन्त्रमा विश्वास गर्ने अनि मानवीय स्वतन्त्रता र सम्मानको वकालत गरेर नथाक्ने सिद्धान्तनिष्ठ त्यागी नेता हुनुहुन्थ्यो ।

“कुमार सर बित्नुभएछ । आज बिहान १०ः०० बजे पशुपतिको इलेक्ट्रिक शवदाह गृहमा ल्याएर अन्त्येष्टि गर्ने कार्यक्रम रहेछ । म धरानतिर छु । साथीहरुलाई खबर गरेर निस्कनु पर्ला ।” यी शब्द काका मित्र अरुण राईका थिए । खबर सुनेर स्तब्ध भएँ । गएको गुरुपूर्णिमामा आशीर्वाद मागेको सम्झिएँ । एस.एल.सी. ताका सरले राती–राती घरमा बोलाएर पढाएको सम्झिएँ । सधैँ उत्साह र ऊर्जा भरेर सपना देखाएको सम्झिएँ । सरको त्यो त्याग र समर्पण सम्झिएँ । सधैँ विद्यार्थीको भविष्य उज्ज्वल बनाउन तत्पर रहने कुमार सरलाई सम्झिएँ । अनुशासनमा यताउता हुन नदिने त्यो सतिसालजस्तो व्यक्तित्वलाई सम्झिएँ । त्यो पञ्चायत कालको अँध्यारो समयमा प्रजातन्त्रको उज्यालो देख्ने कुमार सरलाई सम्झेँ । बुबापछिको माया र प्रेरणा दिने श्रद्धेय गुरुलाई सम्झेँ । सम्झँदा सम्झँदै आँखाका डिल टिलपिल भए । काका मित्रलाई “जसरी पनि घाट पुग्छु“ – वचन दिएँ ।

बिहानको १०ः१५ बजे घाट पुगेँ । अम्बिका काका, नन्दप्रसाद कोइराला र सोम राई पुगिसक्नुभएको रहेछ । कुमार सरको पार्थिव शरीरचाहिँ आइपुगेको रहेनछ । पौने एघार बजेतिर शव आइपुग्यो । इलेक्ट्रिक शवदाह गृह अगाडि उत्तर टाउको फर्काइएको र उत्तानो पारेर सुताइएको कुमार सरको पार्थिव शरीरमाथि दुई थुँगा फूल चढाएँ र हृदयदेखि नै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेँ । दुई हात जोडेर आँखा चिम्लेर ध्यानमग्न भएँ । मन उडेर भोजपुरको कटुञ्जे मा.वि. कटुञ्जे पुग्यो । सम्झेँ– कुमार सरले प्रार्थना सभा अगाडि उभिएर हामीलाई जीवनको सपना देखाएको । सम्झेँ– जीवनको अमूल्य गहना अनुशासन हो भनेर पढाएको । सम्झेँ– सरले मिहिनेत गरेर पढ्न प्रेरित गरेको । सम्झेँ– त्यो त्यागी र समर्पित हेडसरलाई । सम्झेँ– सात गाउँका विद्यार्थीको आकर्षणको केन्द्र कटुञ्जे मा.वि.लाई बनाएको । सम्झें– विद्यार्थीको भविष्यबाहेक दिमागमा अरु केही नबोक्ने आदर्श हेडसरलाई । निद्राबाट ब्युँझिएझैँ भएँ । ओजिलो आवाज हराएको, सुतेको सर अगाडि आँसुमय अनुहारमा आफूलाई पाएँ ।

घर आएँ । नुन नहालेको खानेकुरा खाएँ । कापी र कलम लिएर बसेँ । मैले कुमार राईलाई चिनेको २०३८ सालबाट हो । मैले कुमार सरको शीतल शैक्षिक छहारी २०३८ सालबाट २०४४ सालसम्म प्रत्यक्ष रूपमा पाएँ । त्यसपछि पनि मेरो सम्पर्क र सम्बन्ध अटुट रूपमा रहिरह्यो । मैले कक्षा ८ भोजपुर बजार गएर पढ्ने सोच बनाएको थिएँ । मेरो आदरणीय बुबा हृषीकेश नेपालले मान्नुभएन । “उम्रिने बिरुवा मरुभूमिमा पनि उम्रिन्छ“ भन्ने उहाँको विचार मेरो बालसुलभ तर्कले काट्न सकेन । “कुमार सरजस्तो हेडसर स्कुलमा आउनुभएको छ । स्थायी जागिर छोडेर स्कुल बनाउन आउनुभएको छ । स्कुलले त्यस्तो त्यागी हेडसर पाउनु सामान्य कुरा होइन । अब कटुञ्जे स्कुल विद्योदय, यशोधरा मा.वि. जस्तै राम्रो हुन्छ । तिमीहरू भोजपुर जाने कुरा नगर । बजारमा गएर पढ्ने सोच नबनाऊ । तिमीहरूले यो स्कुल पढेनौ भने आजसम्मको मेरो समाजसेवा खोलैखोला जान्छ ।“ बुबाका यी वचन मैले नाघ्न सकिनँ । कटुञ्जे मा.वि.मै पढेँ ।

मैले कुमार सरबाट बुबापछिको प्रेम, प्रेरणा र प्रोत्साहन पाएको थिएँ । उहाँकै प्रभाव र प्रेरणाले म विचारले प्रजातान्त्रिक समाजवादको अनुयायी भएँ ; पेसाले शिक्षक भएँ । त्यसमा पनि उहाँजस्तै मान्छे बनाउने मान्छे भएँ । 

मैले पढेताका कटुञ्जे प्रस्तावित मा.वि. थियो । नभन्दै कुमार सरले नेतृत्व गरेपछि कटुञ्जे मा.वि. लिकुवादेखि बैकुण्ठे, साम्के देखि भुल्के, खानीगाउँदेखि ओख्रे, बाखोरदेखि सिरिसेसम्मका विद्यार्थीको आकर्षणको केन्द्र बन्यो । भोजपुरको दक्षिण–पश्चिमको राम्रो विद्यालय कटुञ्जे मा.वि. बन्यो । कसैले पनि सातु सामल बोकेर भोजपुर बजार धाउनु परेन । यस्तो शैक्षिक वातावरण बनाएर खोटाङ र भोजपुरका सात गाउँको शैक्षिक केन्द्र कटुञ्जे मा.वि.लाई बनाउने कुमार सरको त्यो महान् त्याग र समर्पणलाई शब्दमा उतार्न सकिँदैन ।

कुमार राई सरको अङ्ग्रेजी राम्रो थियो । उहाँ काठमाडौँको ल्याब्रोेटरी स्कुल पढेको भन्ने गाइँगुइँ सुनिन्थ्यो । त्यो स्कुल ठुलाबडाका छोराछोरी पढ्ने अङ्ग्रेजी माध्यमको स्कुल हो भन्ने पनि बुझिन्थ्यो त्यसताका । २०४५ सालमा काठमाडौँ आएपछि ल्याब्रोेटरी स्कुलबारे जानकारी पाएँ । अझ लुना भट्ट र शिरीष भट्टले एस.एल.सी.मा बोर्ड ल्याएपछि त्यो स्कुल अझ चम्केको रहेछ । कुमार सरले पढ्दा ताका त त्यो स्कुल अझ विशेष स्कुल रहेछ । यति राम्रो स्कुल पढ्नुभएका कुमार सरको अङ्ग्रेजी नराम्रो हुने प्रश्नै थिएन । कटुञ्जे मा.वि. आउनु अगाडि उहाँले चिसापानी, सिम्पानी र अन्नपूर्ण मा.वि. पढाएर भोजपुर र खोटाङको नामी अङ्ग्रेजी शिक्षकको नाम कमाइसक्नुभएको थियो । खोटाङ र भोजपुर जिल्लामा सबैभन्दा राम्रो अङ्ग्रेजी पढाउने शिक्षकको अग्रपङ्क्तिमा उहाँको नाम थियो । यस्तो गौरवशाली शैक्षिक व्यक्तित्व पाएर तत्कालीन घोदलेखानी गाउँ पञ्चायत नतमस्तक थियो । त्यस गाउँमा प्रधानपञ्च हर्कबहादुर राई, हेडमास्टर कुमार राई र समाजसेवी हृषीकेश नेपालको एकता अद्वितीय थियो । फलस्वरूप कटुञ्जे मा.वि. राम्रो बन्यो ।

कटुञ्जे स्कुलको शैक्षिक गहना कुमार सर हुनुहुन्थ्यो । सरले कटुञ्जे मा.वि. मा एक दशक काम गर्नुभयो । उहाँले निःस्वार्थ ढङ्गबाट शिक्षासेवा गर्नुभयो । कटुञ्जे मा.वि. का विद्यार्थीको भविष्य निर्माणमा कुमार सरको समर्पण शब्दमा लेख्न नसकिने थियो । त्यो गुन लिकुवाले बिर्सेको छैन; अँधेरीले बिर्सेको छैन ; पाखामले बिर्सेको छैन ; धिन्ताङले बिर्सेको छैन ; साम्के बिर्सेको छैन ; लग्लङ्पाले बिर्सेको छैन ; तेर्सेले बिर्सेको छैन ; फलेटारले बिर्सेको छैन ; बतासेले बिर्सेको छैन ; लामाले बिर्सेको छैन ; खाक्ताङले बिर्सेको छैन ; डाँडागाउँले बिर्सेको छैन ; नेपालगाउँले बिर्सेको छैन ; खोलाखर्कले बिर्सेको छैन ; होम्तोकले बिर्सेको छैन ; तामालुङले बिर्सेको छैन ; कन्यादहले बिर्सेको छैन ; भालेढुङ्गाले बिर्सेको छैन ; सिरिसेले बिर्सेको छैन ; बैकुण्ठेले बिर्सेको छैन ; बासीखोराले बिर्सेको छैन ; बाखोरले बिर्सेको छैन ; घोदलेले बिर्सेको छैन ; भुल्केले बिर्सेको छैन ; माटिखोरेले बिर्सेको छैन ; नामन्ताले बिर्सेको छैन ; ओेख्रेले बिर्सेको छैन ; हुर्बुले बिर्सेको छैन ; बुन्थिाङले बिर्सेको छैन ; खेनाले बिर्सेको छैन ; चेवाले बिर्सेको छैन ; साग्बालाले बिर्सेको छैन अनि कटुञ्जेले त बिर्सने कुरै भएन । उहाँको शैक्षिक त्यागको साक्षी साइलाम बसेको छ ; उहाँको समर्पणको साक्षी गोल्मे बसेको छ अनि उहाँको निष्ठाको साक्षी जुरीथुम्की बसेको छ । यी गाउँठाउँ, पाखा पर्वतका छातीमा कुमार सर टाँसिनुभएको छ । कटुञ्जे स्कुलका गाह्रो र काठमा कुमार सर पहरा बसिरहनु भएको छ । कटुञ्जेका माटाले कुमार सरको ऋण तिरेर सक्दैन । यो भावनाले भनेको होइन, यथार्थ बोलेको हो ।

कुमार सर होम्तोकमा बस्नुहुन्थ्यो । हामी कटुञ्जेको पुछार नेपाल गाउँमा बस्थ्यौँ । हामी स्कुल जाने बाटो नागेश्वरीको डाँडैडाँडा हुन्थ्यो । भगीरथ, मनोरथ, माधव नेपाल, जसबहादुर तामाङ, च्याङ्ग्रे दाइ र दाने दाइको डाँडागाउँको घर हुँदै तीन धारेको चिसो पानी पिएर वसन्त राईको आँगन कुल्चेर विद्यालय जान्थ्यौँ । डाँडैडाँडा स्कुल जाँदा दक्षिणतिरको भीमकाय पर्वत गोल्मे भीरको फेदको होम्तोक गाउँको कुमार सरको घर प्रस्ट देखिन्थ्यो । घर वरिपरि सुन्तलाका बुटा थिए । कात्तिक–मङ्सिरतिर त पहेँलै सुन्तला पाकेका देखिन्थे। हामी हेडसरको घर औँलाले देखाउँदै स्कुल जान्थ्यौँ । बैकुण्ठेतिरबाट आएका रामप्रसाद निरौलाहरूलाई औँलाले देखाएर हेडसरको घर चिनाउँदा गर्व महसुस हुन्थ्यो । त्यो घर हाम्रा लागि शैक्षिक तीर्थस्थलजस्तो लाग्थ्यो ।

नेपाल गाउँ र होम्तोकका बीचमा बेहेरे खोला थियो । यी दुई ठाउँ दूरीका हिसाबले खासै टाढा थिएनन् । कटुञ्जे मा.वि.का हामी लगभग एक दर्जन विद्यार्थी राती–राती कुमार सरका घरमा अङ्ग्रेजी पढ्न जान्थ्यौँ । सरको अङ्ग्रेजी भोजपुर जिल्लामा अङ्ग्रेजी पढाउने शिक्षकहरूमध्येकै सबैभन्दा राम्रो छ भन्ने कुरा सुनिन्थ्यो । उहाँको कक्षा लिने सबै विद्यार्थीलाई त्यो हो जस्तो लाग्थ्यो । उहाँको नाम भोजपुर र खोटाङ जिल्लामा निकै ठुलो थियो । कुमार सरका घरमा राती–राती अङ्ग्रेजी पढ्नेमा अरुण राई, दुर्गाप्रसाद नेपाल, टीकाराम नेपाल, ख्यालमान राई, मानबहादुर राई, मेनुका राई, सुधीर राई आदि थियौँ । हामी बेलुका ७ः३० बजेबाट १०ः३० बजेसम्म निःशुल्क ट्युसन पढ्थ्यौँ । मट्टितेल र टुकी बत्तीको खर्च सरकै हुन्थ्यो। सबैलाई समान महत्त्व दिएर सिकाउनुहुन्थ्यो । अलि धेरै विद्यार्थी भएको दिन ’मइन्टोल’ बल्थ्यो । यसरी पढ्दा सिङ्गो कटुञ्जे मा.वि. कुमार सरका घरमा चले जस्तो लाग्थ्यो । पहाडी केटाकेटीहरूको अङ्ग्रेजी दुब्लो हुन्थ्यो । कुमार सर अङ्ग्रेजी नजान्ने रोग लागेका केटाकेटीहरूको ओखती हुनुहुन्थ्यो । उहाँको अङ्ग्रेजीको बुटी खाएपछि फेल हुने सम्भावना रहँदैनथ्यो । त्यसैले कटुञ्जे मा.वि.का मात्र होइनन्, अन्यत्र स्कुल पढेका विद्यार्थी एस.एल.सी. मा अङ्ग्रेजी पास हुन कुमार सरका पछि लागेका भेटिन्थे ।
कुमार सरकै प्रेरणा र पढाउने शैलीका कारण हामी २०४४ सालमा ८ जना एस.एल.सी. उत्तीर्ण भएका थियौँ । २०४० सालदेखि २०५० सालका बीचमा सबैभन्दा धेरै एस.एल.सी. पास भएको साल २०४४ साल नै हो । आठ जनामध्ये तीन जना द्वितीय श्रेणी र पाँच जना तृतीय श्रेणीमा पास भएका थियौँ । सबैभन्दा बढी अङ्क मैले ल्याएको थिएँ । यसको सबै जस मैले कुमार सरलाई दिएको छु । यही पास प्रतिशतका जगमा प्रस्तावित कटुञ्जे मा.वि. सरकारी मा.वि. बनेको थियो । निजी स्रोतबाट चलेको विद्यालयलाई मा.वि. स्वीकृत गराउने श्रेय कुमार सरलाई जान्छ । त्यसैले कुमार सरको कटुञ्जे मा.वि.को विकासमा असाधारण योगदान रह्यो भन्ने भनाइ सबैको छ । कटुञ्जे मा.वि.को हेडमास्टरको उहाँको कार्यकाल स्वर्ण काल हो ।

कुमार सर अनुशासनका मामलामा निकै नै कडा हुनुहुन्थ्यो । “राम्रो पढाइको लागि अनुशासन नभई हुँदैन“ भन्ने मान्यता उहाँको थियो । मेरा साथीहरू सात कक्षामा पढ्दा नै राजनीति गर्थे । सरको भनाइ “स्कुले केटाकेटीको काम राम्रो पढ्ने हो, राजनीति गर्ने होइन“ भन्ने थियो । शिवकुमार राई र डिकबहादुर राईले राजनीतिक कारणले विद्यालय छोडेका थिए । उनीहरूले सरसँग अनुशासनहीन व्यवहार गरेको आफ्नै आँखाले देखेको थिएँ । अनुशासित र राजनीतिरहित विद्यालय बनाउनका खातिर शिवजस्ता जेहेनदार विद्यार्थी त्याग्न उहाँ पछि पर्नुभएन । अनुशासनबिनाको जेहेनदारिता उहाँलाई मन पर्दैनथ्यो । विद्यालयलाई अध्ययन र अनुशासनको केन्द्र बनाउनका लागि जेहेनदार विद्यार्थी बलिदान दिन तयार हुनुभयो कुमार सर । अनुशासन कायम राख्ने सवालमा उहाँ कतै चुक्नुभएन अनि कसैसँग झुक्नु पनि भएन ।
कुमार सर भित्रभित्र राजनीति पनि गर्नुहुँदो रहेछ । २०४३ सालमा भोजपुरबाट राष्ट्रिय पञ्चायत सदस्यमा टङ्क ढकाल उठेका थिए । उनले प्रस्तावित मा.वि. कटुञ्जेलाई स्कुल छाउन जस्तापाता दिएका थिए । शिक्षकहरूलाई तलब खुवाउन रु १०,०००÷– सहयोग पनि गरेका थिए । राष्ट्रिय पञ्चायत सदस्यका उम्मेदवार मोहन कटुवालले स्कुललाई ५०,०००÷– नगद सहयोग गरेका थिए । कुमार राई, हर्कबहादुर राई र हृषीकेश नेपालले टङ्क ढकाललाई भोट मागेको गाइँगुइँ सुनियो तर तीनै जनाले कसैलाई पनि भोट नदिएको सुइँको मजस्ता केटाकेटीले पनि पाएका थियौँ । तीनै जना काङ्ग्रेस हुनुहुँदो रहेछ । यो कुरा मैले पछि थाहा पाएँ । प्रजातान्त्रिक संस्कार कुमार सरमा स्पष्ट देखिन्थ्यो । २०४८ साल र २०५१ सालको आमनिर्वाचनमा उहाँले भोजपुर जिल्लाको ३ नम्बर क्षेत्रबाट सांसदको टिकट पाउनुभयो । जितचाहिँ हात पार्नुभएन । २०६४ सालको संविधान सभाको सदस्य हुनुभयो काङ्ग्रेस पार्टीका तर्फबाट । ढिलै भए पनि सरको मूल्याङ्कन भयो । कुमार सर त्यागी नेता हुनुहुन्थ्यो ।

कुमार सर सादा जीवन उच्च विचार भएको नेता हुनुहुन्थ्यो । काङ्ग्रेस पार्टीभित्रको विकृति र विसङ्गतिलाई आत्मसात् गर्न नसकेर सरले सामाजिक लोकतान्त्रिक पार्टी खोल्नुभयो । सरले उमेरका कारण आफूले खोलेको पार्टीलाई चम्काउन सक्नुभएन । पार्टीको सिद्धान्त राम्रो थियो । इमानदारी बिक्री नहुने समयमा सरको असल राजनीतिको बजार विस्तार भएन ।

कुमार सर सादा जीवन उच्च विचार भएको नेता हुनुहुन्थ्यो । काङ्ग्रेस पार्टीभित्रको विकृति र विसङ्गतिलाई आत्मसात् गर्न नसकेर सरले सामाजिक लोकतान्त्रिक पार्टी खोल्नुभयो । सरले उमेरका कारण आफूले खोलेको पार्टीलाई चम्काउन सक्नुभएन । पार्टीको सिद्धान्त राम्रो थियो । इमानदारी बिक्री नहुने समयमा सरको असल राजनीतिको बजार विस्तार भएन । बेलाबेला सरसँग मेरो कुरा हुन्थ्यो । “२०७० सालसम्म पार्टीमा अडिनु भएको भए मन्त्री हुनुहुन्थ्यो ; पार्टी खोल्न हतार गर्नुभयो सर“ भनेको थिएँ । सरले “काङ्ग्रेसले वी.पी. को सिद्धान्त छोडेका कारण पार्टी छोडेको“ जवाफ मलाई दिनुभयो । “राजनीति सिद्धान्तले चल्छ; लहड र लैलैमा चल्दैन ; अहिले काङ्ग्रेससँग सिद्धान्त छैन“ भन्नुभयो । “काङ्ग्रेस सिद्धान्तहीन राजनीतिको पछि छ । मलाई त्यस्तो सैद्धान्तिक विचलनमा फसेको पार्टीमा बस्न मन लागेन, त्यसैले छोडेको हुँ“ भन्नुभयो । प्रजातान्त्रिक समाजवादी चरित्रका अवतार कुमार सरजस्तो विद्वान्लाई कांग्रेस पार्टीले सिद्धान्त त्यागेर कम्युनिस्टहरूको पुच्छर भएको मन पर्ने कुरै भएन । कमसल राजनीतिको बिगबिगी हुने ठाउँमा कुमार सरजस्ता सिद्धान्तनिष्ठ अब्बल राजनीतिज्ञ अटाउने कुरै भएन । यो देशकै विडम्बना हो ।

कुमार सर खोटाङ र भोजपुरको शैक्षिक र राजनीतिक चेतनाको उज्यालो नक्षत्र हुनुहुन्थ्यो । भोजपुर कटुञ्जेको उज्यालो शैक्षिक ज्योति हुनुहुन्थ्यो । कटुञ्जे मा.वि. को कुशल हेडमास्टर र प्रभावकारी ढङ्गबाट अङ्ग्रेजी शिक्षण गर्ने आदर्श शिक्षक हुनुहुन्थ्यो । धेरै विद्यार्थीको भविष्य निर्माण गर्ने ऊर्जाशील उत्प्रेरक हुनुहुन्थ्यो । राजनैतिक चेतनाको उज्यालो दियो हुनुहुन्थ्यो । प्रजातन्त्रमा विश्वास गर्ने अनि मानवीय स्वतन्त्रता र सम्मानको वकालत गरेर नथाक्ने सिद्धान्तनिष्ठ त्यागी नेता हुनुहुन्थ्यो । यस्तो महान् आत्मालाई २०८३ साल वैशाख १४ गते दैवले टपक्क टिपेर लग्यो । उहाँको बास बैकुण्ठमा होस् ; आदरणीय गुरुमा हार्दिक श्रद्धाञ्जली ! शोकाकुल काकीहरू, भाइबैनीहरु एवम् हिमाल काका, गणेश काका तथा सकल परिवारजनमा गहिरो समवेदना !

लेखक : दुर्गाप्रसाद, कुमार राईका शिष्य हुन् । उनी गुरुकै पदचिन्हमा हिडिरहेका छन्, प्राध्यापन उनको पेशा हो । हाल उनी ब्रिलिएण्ट मल्टिपल क्याम्पस, चावहिलका क्याम्पस चीफ तथा प्रिन्सिपल हुन् । आज कुमार राईको  १५ औं पुण्यतिथि हो ।