एआईले बढाउँदै छ डिजिटल असमानता: निर्माण, सञ्चालन र लाभमा कसको पहुँच ?
एआईका ‘सिर्जनाकर्ता’ नभई केवल ‘उपभोक्ता’ मात्र रहने देशहरूले स्थानीय नवप्रवर्तन प्रणाली निर्माण गर्ने, सार्वजनिक क्षेत्रको क्षमता बढाउने र आफ्ना भाषाहरू, संस्कृतिहरू तथा सामाजिक प्राथमिकताहरू एआई प्रणालीमा प्रतिबिम्बित हुने अवसर गुमाउने खतरा हुन्छ। यस अर्थमा, एआईको यो विभाजन आर्थिक अवसर र प्राविधिक प्रभावको विभाजन पनि बन्दै छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्रुत रूपमा हाम्रा दैनिक पूर्वाधारको हिस्सा बन्दै छ—कम्तीमा केही ठाउँहरूमा। यसले इमेल र सफ्टवेयर कोड लेख्न, जागिरका आवेदनहरू छनोट गर्न, सिफारिस प्रणाली (Recommendation systems) सञ्चालन गर्न सघाउँछ। साथै शिक्षा, स्वास्थ्य सेवा, वित्त र सार्वजनिक प्रशासनमा पनि यसको प्रयोग तीव्र गतिमा भइरहेको छ। उद्योगका अग्रणीहरू “सबैका लागि एआई” को नारा दिइरहेका छन् भने सरकारहरू राष्ट्रिय एआई रणनीति ल्याउन र आफ्नै देशको कम्प्युटिङ क्षमता (Sovereign compute) निर्माण गर्न तछाड-मछाड गरिरहेका छन्।
तर विगत एक दशकमा युरोपदेखि सब-सहारन अफ्रिका र दक्षिण पूर्वी एसियाका क्षेत्रहरूमा डिजिटल समावेशीकरण तथा डिजिटल साक्षरता परियोजनाहरूमा काम गर्दा मैले एउटै ढाँचा दोहोरिएको देखेकी छु: “रूपान्तरणकारी” प्रविधिको प्रत्येक नयाँ लहर पहिले नै इन्टरनेट पहुँच, दक्षता र संस्थागत क्षमताको आधारमा विभाजित भइसकेको संरचनामा ठोक्किन पुग्छ। हालको एआई लहर पनि यसको अपवाद होइन। भन्नै पर्दा, यसले त तल्लो तहमा रहेका पुराना असमानताहरूलाई अझ बढाउने काम गरिरहेको छ।
तथापि, केही देशहरू संयुक्त राज्य अमेरिका र चीनको वर्चस्व रहेको ‘फ्रन्टियर-मोडेल’ (Frontier model) को होडबाजीलाई सीधै पछ्याउनुको साटो एआई विकासमा भाग लिने आफ्नै तरिकाहरू खोजिरहेका छन्। दक्षिण अफ्रिका र इन्डोनेसियाका हालैका गतिविधिहरूले यसका सम्भावना र चुनौती दुवैलाई उजागर गर्छन्। यसको जोखिम केवल एआईको पहुँचमा मात्र सीमित छैन। एआईका ‘सिर्जनाकर्ता’ नभई केवल ‘उपभोक्ता’ मात्र रहने देशहरूले स्थानीय नवप्रवर्तन प्रणाली निर्माण गर्ने, सार्वजनिक क्षेत्रको क्षमता बढाउने र आफ्ना भाषाहरू, संस्कृतिहरू तथा सामाजिक प्राथमिकताहरू एआई प्रणालीमा प्रतिबिम्बित हुने अवसर गुमाउने खतरा हुन्छ। यस अर्थमा, एआईको यो विभाजन आर्थिक अवसर र प्राविधिक प्रभावको विभाजन पनि बन्दै छ।
केही सीमित स्थानमा मात्रै केन्द्रित हुँदैछ एआई कम्प्युटिङ
स्ट्यानफोर्ड युनिभर्सिटीको सन् २०२६ को ‘एआई इन्डेक्स’ प्रतिवेदनको हालैको विश्लेषण अनुसार, संयुक्त राज्य अमेरिकामा मात्रै ५,००० भन्दा बढी डेटा सेन्टरहरू छन्, जुन अरू कुनै पनि एकल देशको तुलनामा १० गुणाभन्दा बढी हो। एआईका कामहरू स्थानीय पूर्वाधारको साटो बढ्दो रूपमा क्लाउड प्लेटफर्ममा गरिने भएकाले, कम्प्युटिङको यो केन्द्रीकरणले निर्भरतालाई पनि एउटै ठाउँमा सीमित बनाइदिएको छ। विश्व बैङ्कको सन् २०२३ को तथ्याङ्क अनुसार, क्लाउड कम्प्युटिङ र डेटा-स्टोरेज सेवाहरूको विश्वव्यापी निर्यातमा संयुक्त राज्य अमेरिकाको हिस्सा करिब ८७ प्रतिशत थियो।
अधिकांश देशहरूका लागि यसको अर्थ हो— एआईको विकास प्राविधिक रूपमा मात्र नभई व्यापारिक र भू-राजनीतिक रूपमा पनि बाह्य नियन्त्रणमा छ। यसको परिणाम स्वरूप यस्तो एआई प्रणाली बनिरहेको छ, जहाँ विश्वभर प्रयोग हुने प्रणालीहरूलाई ऊर्जा दिने कम्प्युटेशनल इन्जिनहरू केही सीमित राष्ट्र र कम्पनीहरूको कब्जामा छन्।
सीमित संस्थागत र भाषा वातावरण भित्र तालिम प्राप्त, मानकीकृत र सञ्चालित प्रणालीहरूले वास्तविक रूपमा विश्वव्यापी जनताको सेवा गर्न सङ्घर्ष गर्नुपर्ने हुनसक्छ।
दक्षता र एआई साक्षरतामा गहिरो खाडल
इन्टरनेट पहुँच र क्लाउडको सुविधा भएका ठाउँहरूमा पनि सबै मानिसहरू यसको प्रयोग गर्न समान रूपमा सक्षम छैनन्। आर्थिक सहकार्य तथा विकास सङ्गठनका देशहरूमा समेत केवल ४० प्रतिशत वयस्कहरूसँग मात्र आधारभूत डिजिटल समस्या समाधान गर्ने दक्षता छ। जबकि advanced कम्प्युटेशनल र एआई सम्बन्धी दक्षताहरू केवल उच्च शिक्षित कामदार र प्रविधि-केन्द्रित क्षेत्रहरूमा मात्र सीमित छन्।
यसै समयमा सरकारहरू शिक्षामा एआई एकीकृत गर्न हतारिएका छन्, जसको सुरुआत प्रायः उच्च तहको शिक्षाबाट भइरहेको छ। युनेस्कोले विश्वभर शिक्षामा एआईलाई एकीकृत गर्ने प्रयास बढेको बताएको छ, तर प्राथमिक तथा निम्न माध्यमिक शिक्षामा एआई साक्षरता र शिक्षकहरूका लागि नैतिक तालिमको व्यवस्था अझै पनि असमान छ।
राम्रो शिक्षा, उच्च डिजिटल दक्षता र स्थिर इन्टरनेट पहुँच भएका व्यक्तिहरू एआईलाई आफ्नो क्षमता बढाउने साधनका रूपमा प्रयोग गर्न सबैभन्दा सक्षम छन्। हालैको र्थिक सहकार्य तथा विकास सङ्गठन सर्वेक्षण तथ्याङ्कले एआई सम्बन्धी तालिममा सहभागिता शैक्षिक योग्यताका आधारमा गहिरो रूपमा विभाजित रहेको देखाउँछ: विश्वविद्यालय तहको शिक्षा हासिल गरेका ३६ प्रतिशत उत्तरदाताहरूले अघिल्लो वर्ष एआई सम्बन्धी तालिम लिएको बताएका थिए, जबकि उच्च माध्यमिक शिक्षा मात्र भएकाहरूमा यो सङ्ख्या केवल १८ प्रतिशत थियो।
विभाजनको गलत तर्फ परेका मानिसहरूका लागि एआई आफूले नियन्त्रण वा प्रयोग गर्न सक्ने प्रविधि नभई, आफूमाथि शासन गर्ने एक अस्पष्ट प्रणाली बन्ने सम्भावना बढी हुन्छ। यसका उदाहरण डच बाल हेरचाह भत्ता काण्ड (Dutch childcare benefits scandal) जस्ता एल्गोरिदममा आधारित कल्याणकारी प्रणाली वा अमेजनले बन्द गरेको एआई-सहायता प्राप्त भर्ना प्रणाली (एआई recruiting system) मा देख्न सकिन्छ।
लगानी र नियमन: नीति निर्माणको टेबलमा कसको पहुँच?
मुख्य एजेन्डा तय गर्ने शक्ति अझै पनि उद्योगका सीमित व्यक्तिहरू र प्राविधिक रूपमा अगाडि रहेका केही देशहरूको हातमा छ। अन्य अधिकांश देशहरू सधैँ अरूको पछाडि दौडिने अवस्थामा छन्। उनीहरू आयातित मोडल, मापदण्ड र “भरोसायोग्य एआई” का ढाँचाहरूलाई आफ्नै सन्दर्भमा ढालिरहेका छन्, तर तिनीहरूका विकल्पहरू प्रस्ताव गर्ने वा तुलना गर्ने स्थानीय क्षमता सीमित छ।
इन्डोनेसिया र दक्षिण अफ्रिका जस्ता देशहरूमा, समुदायहरूले ठुलो मात्रामा डेटा सिर्जना गर्छन्, तर एआई प्रणालीहरू कसरी डिजाइन, सञ्चालन वा प्रयोग गरिन्छ भन्ने कुरामा उनीहरूको भूमिका न्यून हुन्छ। एआईलाई तालिम दिने डेटामा उनीहरूका भाषाहरूको प्रतिनिधित्व कम छ; नियामक मञ्चहरूमा उनीहरूका संस्थाहरूको पहुँच कमजोर छ; र उनीहरूका अनुभवहरू मूल्याङ्कन गर्ने डेटासेट (Benchmark datasets) हरूमा विरलै पर्छन्। विकासोन्मुख देशहरू (Global South) का लागि एआईमा सहभागिता अझै पनि प्रणालीको डिजाइन वा नियमनमा नभई केवल आयातित प्रणालीहरूलाई अपनाउने कुरामा मात्र सीमित छ।
दक्षिण अफ्रिकामा, सञ्चार तथा डिजिटल प्रविधि मन्त्रालयले अप्रिल २०२६ मा नयाँ अनुगमन संस्थाहरू प्रस्ताव गर्दै राष्ट्रिय एआई नीतिको मस्यौदा सार्वजनिक गरेको थियो। तर एक पत्रकारले मस्यौदामा उल्लेख गरिएका कम्तीमा छ वटा अकादमिक सन्दर्भहरू (citations) अस्तित्वमै नरहेको र ती एआईले आफैँ बनाएका (Hallucination) कुराहरू भएको पत्ता लगाएपछि मन्त्रालयले केही दिनमै सो मस्यौदा फिर्ता लियो। मन्त्रीले यसलाई “अस्वीकार्य गल्ती” भनेका थिए। यो घटनाले एआई नियमनको आकाङ्क्षा र त्यसलाई लागू गर्न आवश्यक संस्थागत क्षमताबिचको ठुलो अन्तरलाई प्रस्ट पार्छ, यद्यपि देशले हालै गठन गरेको नयाँ एआई प्यानलसँग दक्षिण अफ्रिकाको विशिष्ट स्थिति प्रयोग गर्ने अवसर छ।
इन्डोनेसियाले सीमाहरूका बाबजुद सार्वजनिक क्षेत्रको सक्रियताको एउटा उदाहरण प्रस्तुत गर्दछ। राष्ट्रिय रणनीति अन्तर्गत एआई कार्यान्वयनको नेतृत्व गरिरहेको राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन एजेन्सी (BRIN) ले अग्रणी क्षमताहरू विकास गर्नुको सट्टा सुविधाविहीन समुदायहरूलाई लक्षित गरी व्यावहारिक एआई उपकरणहरू बनाएको छ। यसमा भूउपग्रह डेटा र मेसिन लर्निङ प्रयोग गरेर साना माछा मार्नेहरूलाई माछाको बथान खोज्न मद्दत गर्ने एप, जाभानीज र सुन्डानीज जस्ता स्थानीय भाषाहरूमा तालिम प्राप्त बहु भाषी भाषा मोडलहरू, र सरकारी सेवाहरूमा प्रयोग गरिएका एआई च्याटबटहरू समावेश छन्। अगस्ट २०२५ मा, सञ्चार तथा डिजिटल मामिला मन्त्रालयले वार्षिक १,००,००० एआई-कुशल कामदारहरूलाई तालिम दिने लक्ष्यसहित राष्ट्रिय एआई खाका (Road map) सार्वजनिक गरेको थियो।
विकल्प “एआई महाशक्ति” बन्ने वा “निष्क्रिय उपभोक्ता” मात्र रहने भन्नेमा सीमित छैन।
क्षेत्रीय सहयोग पनि बढ्दो रूपमा महत्त्वपूर्ण हुन सक्छ। सन् २०२४ मा अफ्रिकी मन्त्रीहरूले एक महाद्विपीय एआई रणनीति (Continental एआई Strategy) र अफ्रिकी डिजिटल सम्झौता (African Digital Compact) अपनाए। किगालीमा अप्रिल २०२५ मा भएको ‘अफ्रिका सम्बन्धी विश्वव्यापी एआई शिखर सम्मेलन’का सहभागीहरूले क्षेत्रीय समन्वय, स्थानीय-भाषाका एआई मोडलहरू, सार्वजनिक विश्वविद्यालयहरू र खुला-स्रोत (Open-source) प्रणालीहरूले कसरी बाह्य रूपमा विकसित एआई प्रणालीहरूमाथिको दीर्घकालीन निर्भरता घटाउन सक्छन् भन्नेबारे छलफल गरेका थिए।
एआईको खाडललाई हेर्ने फरक दृष्टिकोण
यसको अर्थ मानिसहरूले एआईको विकासलाई सुस्त बनाउनुपर्छ वा त्याग्नुपर्छ भन्ने होइन, न त क्लाउडको केन्द्रीकरण वा भेन्चर क्यापिटल (Venture capital) स्वभावैले खराब हुन् भन्ने नै हो। यसको सट्टा, जब हामी “एआई क्रान्ति” को कुरा गर्छौँ, हामीले यो पनि सोध्नुपर्छ कि यसलाई कसले आकार दिन सक्छ र कसले केवल यसलाई अपनाउन मात्र सक्छ?
डिजिटल विभाजन सम्बन्धी बहसहरू पहिले उपकरण र इन्टरनेट पहुँचमा केन्द्रित थिए, पछि दक्षता र नतिजाहरूतिर विस्तार भए। तर वर्तमान एआईको लहरले अर्को तह थपेको छ: एआई केका लागि हो, यसले कुन समस्याहरू समाधान गर्नुपर्छ, र यसले अन्ततः कुन सामाजिक प्राथमिकताहरूको सेवा गर्छ भन्ने निर्णयमा कसको सार्थक सहभागिता छ भन्ने कुराको असमानता।
इन्जिनियरहरू र नीति निर्माताहरूका लागि यसले गम्भीर तर आवश्यक प्रश्नहरू उठाउँछ। के उनीहरूले प्राविधिक परिवर्तनलाई आकार दिन सहभागितालाई साँघुरो पार्नुको सट्टा फराकिलो बनाउने एआई प्रणाली र पूर्वाधारहरू डिजाइन गरिरहेका छन्? जब सरकारहरूले राष्ट्रिय एआई रणनीतिहरू ल्याउँछन् वा सार्वजनिक सेवाहरूमा एआई एकीकृत गर्छन्, उनीहरूले कसका बाध्यता, भाषा र संस्थागत यथार्थहरूलाई समावेश गरिरहेका छन्?
थुप्रै विश्लेषकहरूले वर्तमान एआईको समयलाई एक प्रतिस्पर्धाको रूपमा हेर्छन्। तर प्राविधिक प्रतिस्पर्धा भनेको गति मात्र होइन। यो परिवर्तनको दिशालाई कसले प्रभावित गर्न सक्छ भन्ने कुरा पनि हो।
एआई विश्वभर फैलिसकेको छ। मुख्य प्रश्न यो हो कि यसका लागि जिम्मेवार प्राविधिक र नीति निर्माताहरूले भविष्यलाई आकार दिने सार्थक सहभागितालाई पनि त्यसरी नै फैलाउने सुनिश्चित गर्नेछन् वा छैनन्?
डानिका राडोभानोभिक जर्मनीका लेखक तथा डिजिटल-समाज अनुसन्धानकर्ता हुन्। तस्बिर सामाजिक संजालबाट ।

