वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती
सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको बीच ढोकामा आफ्नो काखमाथि राखेर नङ्ग्रा धसी मारेको कथा छ ।
काठमाडौँ, १७ वैशाख ।
वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह अवतार भगवान् विष्णुको चौथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नु परेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
हिन्दु धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले । हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो । हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो । यो देखेर ब्रह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरू वर माग्ने आज्ञा गर्नुभयो ।
यो सुनेर हिरण्यकश्यपुले घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, कसैको हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए । उनका अनुसार ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिए । ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो ।
यस्तो छ किंवदन्ती
धार्मिक ग्रन्थमा उल्लेख भएनुसार हिरण्यकश्यपुले तीनै लोकमा कब्जा जमाए । जगत्लाई आफ्नो बसमा बनाए । पूरा सृष्टिको मालिक म नै हो, मभन्दा ठूलो अरू कोही छैन भन्ने विश्वास सबैमा दिलाउन अनेक प्रयत्न गरेँ । हिरण्यकशिपुको घरमा भक्त प्रह्लादको जन्म भयो । भक्त प्रह्लाद दैत्य राज हिरण्यकश्यपु जस्ताको छोरा भएर पनि सानैदेखि हरि भक्तिमा रुचि राख्न थाले ।
यो देखेर दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई संसारको अधिपति आफू भएको र आफूभन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो, तर प्रह्लादले उनलाई कुवाको भ्यागुताको संज्ञा दिँदै उल्टो जवाफ दिए । यो सुनेर हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठाए ।
प्रह्लाद त्यहाँ पनि पढाइ छोडेर हरि भक्तितिरै लागे । गुरुले धेरै सम्झाए, तर प्रह्लादले हरि भक्ति छोडेनन् । झनै त्यहाँ भएका अन्य दैत्य पुत्रलाई हरि भक्तिमा लगाए । यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकश्यपु कहाँ फिर्ता पठाइदिए । हिरण्यकश्यपुले फेरि प्रह्लादलाई सम्झाउने कोसिस गरेका थिए, तर प्रह्लादले हरि भक्तिभन्दा ठूलो केही ज्ञान छैन भनी सुनाए ।
हिरण्यकश्यपु रिसाएर प्रह्लादका हातखुट्टा बाँधेर हात्तीको बाटोमा छोड्न लगाए, तर हात्तीले प्रह्लादलाई देखेर कुल्चन सकेनन् । हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगाए, प्रह्लादलाई सागरमा बगाइयो तर हरिकृपा, विष्णु भगवान् स्वयं आएर प्रह्लादलाई बचाए ।
प्रह्लादलाई ज्ञान दिएर भगवान् अन्तध्र्यान भए । केही दिनपछि हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए । प्रह्लादलाई देखेर हिरण्यकश्यपु फेरि सम्झाउन लागे । प्रह्लादले हरिभन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहो¥याए । रिसले चुर भएका हिरण्यकश्यपुले ‘यदि तेरो हरि सबै ठाउँमा छ भने मेरो सामुन्ने हरिलाई देखा’ भने । प्रह्लादले हरिको ध्यान गर्दै विष्णुको आह्वान गरे । केही छिनमै भगवान् विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट हुनुभयो । यो देखेर हिरण्यकश्यपुले खम्बालाई तरवारले काट्यो । भगवान् नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघि सर्नुभयो । नृसिंह भगवान्को आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो ।
नृसिंह न जनावर थिए न मान्छे । जतिखेर हिरण्यकश्यपुलाई मारियो । त्यो समय सन्ध्या समय थियो । त्यो समयमा न त घाम थियो, न रातको अँध्यारो । तब सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको बीच ढोकामा आफ्नो काखमाथि राखेर नङ्ग्रा धसी मारेको कथा छ । ब्रह्माजीको सबै वाचा मिलाएर मारेपछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो । नृसिंहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदि देवीदेवता आएर प्रार्थना गरे, तर क्रोध झन् बढ्दै गयो । अन्तमा प्रह्लादले प्रार्थना गर्दा नृसिंहको रिस शान्त भयो । प्रह्लादलाई ज्ञान दिएर नृसिंह अन्तध्र्यान भए । प्रह्लादले पनि हरि भक्तिमा ध्यान दिएर राज पाठ सम्हाले । प्रह्लादलाई ज्ञान सिकाउन भगवान् विष्णुले दत्तात्रय अवतार लिएको र दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाएको कथा छ ।
तस्बिर : नेपाली पात्रोबाट मारेको कथा छ

