कटुञ्जेमा मनाइयो शुशिला भैरव जात्रा
काठमाडौं, २ वैशाख ।
नयाँ वर्ष : काठमाडौं उपत्यकाको प्राचिन सहर भादगाउँ अहिलेको राजनीतिक नक्सामा भक्तपुरमा भने नयाँ वर्ष भनेको जात्रा हो । तान्त्रिक विधिबाट गरिने नेवारी देवदेवीहरुको पुजाअर्चन, जात्रा भक्तपुरका विशेषता हुन् ।
भक्तपुरका भक्तपुर नगर, मध्यपुरथिमि, सूर्यविनायक, चाँगुनारायण सबै जात्रामय बनेका छन् यतिखेर । नयाँ वर्ष प्रारम्भ हुनु अघिल्लो दिनबाट प्रारम्भ हुने जात्राहरु नयाँ वर्षलाई स्वागत गर्दे ४,५ दिनसम्म चल्दछन् ।

सूर्यविनायक, कटुन्जेस्थित शुशिलखाः भैरव मन्दिरबाट पनि प्रत्येक वर्ष वैशाख २ गते शुशिलखाः भैरव जात्रा आयोजना गरिन्छ । बुधबार, कटुन्जेमा बाजागाजा सहित भैरवको जात्रा मनाइयो ।
कटुन्जेका कृष्ण बखुन्छेका अनुसार प्रत्येक वर्षको चैत मसान्तको दिन बखुन्छेकोमा राखिएका भैरवलाई बाजागाजा सहित भैरव मन्दिरमा ल्याएर बिराजमान गराइन्छ ।
परम्परागत विधि अनुसार भैरवको पुजाआजा, बलि दिने काम गर्दे चैत मसान्त, नयाँ वर्षको रात मन्दिरमै राखेपछि वैशाख २ गते बाजागाजा सहित भैरवको रथलाई नगर परिक्रमा गर्दे फेरी बखुन्छेकै घरमा ल्याएर राखिने प्रचलन छ ।
कृष्णका अनुसार, भैरव जात्रामा विशेष गरेर कटुन्जेमा रहेका बखुन्छे, खिउँजु, गुभाज, बासु, भुजु, कश्पाल लगायत नेवारी जातहरुको सक्रिय सहभागिता रहन्छ । वैशाख २ को जात्रामा भने कटुन्जेका सबैजसो जातजातिहरुले उत्साहपूर्वक भाग लिन्छन् ।
शुशिलखाः मन्दिरबाट निस्किएको जात्रा, यहाँको चक्रपाणी मार्ग करिव २ अढाई किलोमीटरमा बाजागाजा सहित जात्रा आयोजना पछि विशेष पुजाआजा गरेर फेरी बखुन्छेकै घरमा भैरवलाई बिराजमान गराउने चलन छ ।
स्थानीय वुद्धिबहादुर बखुन्छेको घरमा राखिएका भैरवलाई प्रत्येकदिन बिहान बेलुका घरपरिवारका सदस्यहरुले पुजा अर्चन गर्ने, कृष्ण बताउँछन् ।
