काठमाडौं, १२ चैत ।

प्रतिनिधिसभाको निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरुले बिहिबार अपराह्न २ बजे पद तथा गोपनीयताको सपथ लिदैंछन् । बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा ७८ वर्षिय जेष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई शपथग्रहण गराउने छन् । केसीले हिजोमात्र राष्ट्रपति रामचन्द्र पौडेलबाट औपचारिक कार्यक्रमकाबीच सपथ लिइसकेका छन् ।
संसद सचिवालयका अनुसार २ सय ७५ सांसद मध्ये ५४ जनाले मातृभाषामा शपथ लिदैं छन् ।  सचिवालयका अनुसार सांसदहरुको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ । चैत १२ गते बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने सचिवालयले जानकारी दिएको छ  । सचिवालयले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यलाई शपथ गराउने छन् ।

नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ । शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ ।

नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयलाई जानकारी गराएको छ । सांसदहरुले आफूले शपथ लिन चाहेको सम्बन्धित भाषामा शपथको बेहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा तीन दिनअगावै जानकारी गराउन सूचित गरेको थियो, तर यसबीच शपथग्रहणको पूर्वसन्ध्यामा समेत नवनिर्वाचित सदस्यहरूले मातृभाषामा शपथ लिन चाहेको विवरण सचिवालयमा बुझाएका छन् ।

नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । निर्वाचित सांसदहरुको शपथपछि कार्यकाल सुरु हुने छ ।