प्रधानमन्त्री कर्णाली भ्रमणमा, रारा अवलोकन, स्थानीयसँग कुराकानी
काठमाडौँ, ५ चैत।
प्रधानमन्त्री सुशीला कार्कीले कर्णालीको भ्रमण सम्पन्न गरेकी छन् । प्रधानमन्त्री कार्की बिहीबार बिहान मुगु जिल्लाको रारा पुगिन र त्यहाँ राराको मनोरममा जिल्लास्तरीय सुरक्षा प्रमुखसँग अन्तरक्रिया गरिन।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्न प्रधानमन्त्री यस क्षेत्रमा पुगेको निजी सचिवालयले जनाएको छ । निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा उनी कर्णाली पुगेकी थिएनन्।
जुम्लाको खलङ्गा पुगेर उनले जिल्लास्तरीय सुरक्षा प्रमुखसँग अन्तरक्रिया गरिन। सो क्रममा उनले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीको प्रशंसा गरिन।
प्रधानमन्त्रीले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले भनिन, “देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ।”
प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरिन। विसं २०३७ सालमा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ।
विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए।
प्रधानमन्त्री कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नु रहेको छ।
तस्बिर : केशव थापा/प्रधानमन्त्री कार्यालय
