प्रतिनिधिसभा एक र राष्ट्रियसभामा ५ गरेर कांग्रेसका ६ जना महिला सांसद कायम छन् । दुबै सदनमा कांग्रेसका न्यूनतम २० जना महिला सांसद हुनुपर्ने संवैधानिक व्यवस्था हो ।

काठमाडौं, १ चैत ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सदस्यमा कुन क्लस्टरबाट कति जना सांसद हुने टुंगो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बसेको बैंठकले गरेको निर्णय अनुसार आदिवासी जनजाति समूहमा ६ जना, खस आर्य समूहमा ६ जना, थारुमा १ जना, मधेशीमा ३ जना, दलितमा ३ जना र मुस्लिममा १ जनाको नाम छनौट गरेको छ ।
निर्वाचनमा प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाप्त गरेको छ । संसदमा न्यूनतम ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण सबैजसो क्लस्टरबाट अधिकांश महिलाहरु चुनिने संभावना छ ।
प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरेर ३८ सिट रहेको कांग्रेसको राष्ट्रियसभामा २४ सिट छ । दुबै सभाको गरेर कूल ६२ सिट हुन्छ । त्यसको ३३ प्रतिशत भनेको २० दशमलव ४६ जना हुन्छ । पूर्ण अंकमात्र गणना गर्दा कांग्रेसका दुबै सदनमा न्यूनतम २० जना महिला सांसद हुनै पर्दछ ।
प्रतिनिधिसभामा बासना थापा दैलेखबाट निर्वाचित भएकी छन् । कांग्रेसबाट एकजना महिलाले मात्र प्रत्यक्षमा जितेकी हुन् । राष्ट्रियसभामा कांग्रेसका ५ जना महिला सांसद छन् । पहिलादेखीका सांसदहरुमा कमलादेवी पन्त, विष्णु पुडासैनी, बिष्णुकुमारी सापकोटा र दुर्गाकुमारी गुरुङ्ग थिए । यसै वर्ष सम्मन्न राष्ट्रियसभा निर्वाचनमा गितादेवी देवकोटा विजयी भएकी हुन् ।
कांग्रेसले महिला, पुरुष के कति र को को समानुपातिक लिस्टबाट निर्वाचित हुने खुलाएको छैन । कांग्रेस प्रवक्ता देवराज चालिसेले १५ जना महिला सहितको लिस्ट तयार हुने बताएका छन् ।
कांग्रेस महिला प्रति उदारमना हुने हो भने यसपटक १५ जना महिलालाई स्थान दिन सक्छ । होइन, संवैधानिक प्रावधानका आधारमा मात्र महिला चुन्नै हो भने १४ जना महिला र बांँकी ६ जना पुरुषलाई सांसद बनाउन सकिन्छ ।

आईतबारको बैंठक निर्वाचन परिणाम पछिको पहिलो औपचारिक पदाधिकारी बैंठक हो । बैंठकमा सहमहामन्त्रीहरू— बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही, सदस्यहरू— ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा.गोपाल दहित, राजेन्द्रकुमार के.सी. र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

नोट : फाइल फोटो