इनरुवा ,सुनसरी १ चैत ।

सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो ।

सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँखेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताए । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा रु तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको गुनासो यादवको छ ।

मकैखेती गरेको भए पनि अहिले सिँचाइ अभावका कारण मकैको बोट नै सुक्ने अवस्थामा पुगेको स्थानीय किसानको भनाइ छ । नहरको पानीका भरोसामा मकै तथा गहुँ बाली लगाएको भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआउने गरेकाले समस्या भएको किसान माधव भण्डारीले बताए ।

शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिष्टममा पानी आउने गरेका कारण पर्याप्त मात्रामा बालीमा सिँचाइ गर्न नपाउने गरेको पीडित किसानको गुनासो छ । हजारौँ हेक्टरमा लगाएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेकाले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको मागसमेत किसानले गरेका छन् ।
जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।