प्राकृतिक खेती गरौं,स्वास्थ्य जीवन जिऔं
नेपाल कृषि प्रधान देश हो । यहाँका दुईतिहाई जनता कृषि पेशामा आश्रित छन् । कृषकहरुले बजारमा पाइने रासायनिक तथा पाङ्गगारिक मलको प्रयोग गरी कृषि उत्पादन गर्दा लागत बढी भैरहेको छ । यसै गरी रासायनिक मल तथा विषादीले हाम्रो स्वास्थ तथा वातावरणमा पारेको नकारात्मक असरका कारण कृषक कृषि पेशाबाट पलायन भइरहेका छन्।
कृषिमा अनुदान दिने प्रचलन हटाई कृषिका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने काममा सरकार जुट्नुपर्ने देखिन्छ । कृषिमा दिने अनुदानको प्राय दुरुपयोग भईरहेको छ।
रासायनिक मल तथा पाङ्गगारिक मलको विकल्पकोरुपमा प्राकतिक खेतिको विकास जापानी वैज्ञानिक मासानेबुफकोका द्धारा १९७५ मा विकास गरेका हुन् । जसको भारतमा सुभाष पालेकारद्धारा शुन्य लागत प्राकृतिक खेतीको नाउँमा प्रचारप्रशार भइरहेको छ । अहिले भारतका आन्द्रा, हिमाञ्चल, गुजरात प्रदेशहरुमा विशेष प्राथमिकताकासाथ उच्च प्रविधि अपनाएर प्राकृतिक खेती भइरहेको छ ।
रासायनिक खेती तथा प्राङ्गगारिक खेतीको तुलनामा गाईको गोबर गहुँतमा आधारित प्राकृतिक खेतीमा उत्पादन लागत ५० प्रतिशतले कमी आउँछ भने मल्टिलेयर फार्मिङ्ग प्रविधि अपनाएर प्राकृतिक खेती गर्ने हो भने पाँच गुणासम्म उत्पादन बढाउन सकिन्छ ।
भारतमा प्राकृतिक खेती अपनाएर खेती गर्ने कृषकहरुको संख्या ५० लाख भन्दा बढी पुगेको तथ्याङ्क छ । प्राकृतिक खेतीलाई नेपालमा पनि अपनाउन सकेमा कृषकहरुको जीवनस्तरमा सुधार आउँने छ । कृषकहरु कृषि पेशाबाट पलायन होइन आकर्षित हुने अवस्था बन्दछ ।
नेपालका सातै प्रदेशका प्रत्येक स्थानीय सरकारले आफ्नो कूल बजेटको १० प्रतिशत मात्र प्राकृतिक खेतीका लागि विनियोजित गरेर कृषकहरुलाई जागरुक गर्न तालिमको व्यवस्था गर्नु पर्दछ । प्राकृतिक खेतीबारे गुगल, युट्युव लगायत अनेक संचार माध्यमको प्रयोग गरी व्यापक प्रचारप्रशार गर्न सकिन्छ ।
कृषिमा बिशेष रुची राख्नेहरुले उक्त नयाँ प्रविधि सम्बन्धमा ज्ञान हासिल गरी कृषकहरुलाई सैद्धान्तिक तथा विषादी मुक्त देश बनाउन सक्षम हुने छौं। यसबाट रासायनिक मल तथा विषादीको आयात गर्दा हुने अरबौंको रकम बचत हुने छ । रासायनिक पदार्थले हाम्रो स्वास्थमा प्रत्यक्ष कूप्रभाव पारिरहेको छ । यसै कारण हामि प्रत्येक नेपाली कुनै न कुनै रोगबाट ग्रसित हुने गर्दछौं ।नेपालीहरुको औषघि उपचारको नाउँमा भइरहेको अरबौंको रकम समेत प्राकृतिक खेतीको विस्तारसँगै बचत हुने छ । अस्तु ।

