मुस्ताङ्गबाट कांग्रेसको खाता खोले योगेशले
मुक्तिनाथ (मुस्ताङ०) फागुन २२ गते ।
मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका गौचनले ३ हजार ३ सय ७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् । विष्टले १ हजार ८०६ मत पाप्त गरेका छन् ।
गौचन निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुन् । मुस्ताङमा उम्मेदवारी दिएका अन्य सात प्रतिस्पर्धीले मौन अवधिमा गौचनविरुद्ध आर्थिक चलखेलसहित विभिन्न आरोप लगाए पनि पुष्टि हुन नसकेपछि उनीहरू निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । विजयी गौचन पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा हुन् ।
थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका रहेको यस जिल्लामा कुल ११ हजार ३२८ मतदातामध्ये ६ हजार ३९७ मत खसेको थियो । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका थिए ।
