काठमाडौं एकमा रन्जुको छलाङ्ग
वैकल्पिक राजनीतिकधारबाट उदाएर, छोटो समयमा राजनीतिक आरोहअवरोध खेप्दै राजनीतिको मुलधारमा आइपुगेकी रन्जुले रास्वपाको बुहनी गरेकी छन् । एउटा विधायकको भूमिकामा उनी कसरी प्रस्तुत हुने हुन्, समयले बताउँदै जाने छ ।
काठमाडौं, २२ फागुन ।
प्रतिनिधिसभा निर्वाचन २०८२
उमेदवार : रन्जु दर्शना
प्राप्त मत : १५४५५ निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०७४
काठमाडौ ५
स्वतन्त्र उमेदवार : रन्जु दर्शना
प्राप्त मत ६०० पराजित
स्थानीय निर्वाचन २०७४
उमेदवार : रन्जु दर्शना
पार्टी : विवेकशील, प्रतिस्पर्धा काठमाडौंको मेयर
प्राप्त मत : २३४३९ तेश्रो स्थान पराजित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रन्जु दर्शनाले काठमााडौं एकबाट रास्वपाको विजय यात्रा प्रारम्म गरेकी छन् । शुक्रबार सम्मन्न मत गणनामा रन्जुले १५ हजार ४ सय ५५ मत सहित शानदार विजय निकालेकी छन् । विगतका चुनावहरुमा लगातार ३ पटक नेपाली कांग्रेसका प्रकाशमान सिंहले जितेको यो क्षेत्रबाट उमेदवार भएका कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् । राप्रपाका नेता, रविन्द्र मिश्र ३ हजार ९ सय ७२ मतका साथ तेश्रो स्थानमा पुगेका छन् । रविन्द यो निर्वाचनमा समेत आइपुग्दा तेश्रो पटक पराजित बनेका हुन् ।
नेपाली कांग्रेसजनले आफ्ना पडक क्षेत्र भन्दै आएको काठमाडौं एक यस पटक रास्वपाको हातमा परेको छ । २०७९ मा राप्रपाका रवीन्द्र मिश्रलाई १ सय २५ मत अन्तरले प्रकाशमानले तेश्रो पटक जितेको यो क्षेत्रका दुबै प्रदेशमा कांग्रेसले जितेको छ । काठमाण्डौं महानगरका १०,११,२९ वडामा पुरै कांग्रेसका स्थानीय प्रतिनिधि छन् । वडानं ३१ वडा एमाले जितेको भएपनि वडा सदस्यहरु कांग्रेसका पनि छन् ।

नेपालका प्रशासक, प्राज्ञ लगायत पेशाकर्मी र वौद्धिक जमात बस्ने थलो भनिन्छ काठमाठौं एकलाई । प्रकाशमानले २०७४ मा १० हजार ९ सय ३६ र २०७९ मा ७ हजार १ सय ४३ मत ल्याएका थिए । नेपाली कांग्रेसको आन्तरिक शक्ति सघर्षमा यसपटक प्रकाशमानले टिकट पाएनन् र उनले कांग्रेसलाई खुलेर सहयोग पनि गरेनन् ।अघिल्लो निर्वाचनमा प्रकाशमानले माओवादीको समेत सहयोगमा बालबाल जितेको क्षेत्र हो यो । स्थानीयतहमा रुखमा छाप हालेर विजयी गराउने, चोकचौबाटामा कांग्रेसको परिचय दिने ठूलो संख्याका प्रवुद्ध यसपटक घण्टीमा आकर्षित भएको देखिन्छ । कांग्रेस, राप्रपा र एमालेका उमेदवारहरुले पाउँदै आएको मत यस पटक रन्जुको पोल्टामा गएको देखिन्छ ।
यता, रवीन्द्रका लागि तेश्रो इनिङ्ग पनि फलिफाप भएन । अघिल्ला दुईवटा निर्वाचनको तुलनामा रवीन्द्रको मत यस पटक निकै घटेको छ । उनले २०७४ मा १० हजार बढी मत ल्याएका थिए भने २०७९ मा ७ हजार बढी मत ल्याएर दोश्रो भएका थिए । तर,यसपटक भने उनले ३ हजार ९ सय ७२ मतमा चित्त बुझाउनुपर्यो ।
रवीन्द्र र रन्जु दर्शनाको मुलजरो एउटैं हो, वैकल्पिक राजनीतिको कुरा गर्दा । एक दशकको सानो अन्तरालमा वैकल्पिक राजनीतिको उदय, एकिकरण, विभाजन र पलायनका अभ्यास भए । रवीन्द्र साझाविवेकशीबाट राप्रपामा जमेका छन् भने रन्जु केही महिना अघिमात्र साझाविवेशीललाई रास्वपामा विलय गराएपछि रास्वपाकै घण्टी चुनाव चिन्ह लिएर मैदानमा छन् । २०७४ को स्थानीयतह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले करिव ६५ हजार मत ल्याएर विजयी हुँदा, कांग्रेसका राजुराज जोशी करिव ४५ हजार मतका साथ दोश्रो स्थानमा थिए । रन्जुले विवेशशीलको उमेदवार बनेर २३ हजार ४ सय ३९ मत ल्याएर शानदार पराजय भोगेकी थिइन।
त्यसबेलाको विवेशशीलको ओज र आवाजबीच २१ वर्षिय रन्जुको आकर्षण थियो । तिनै रन्जु २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट उमेदवार भइन, त्यसबेला उनीसँग न विवेकशील, न साझा, नत साझाविवेकशील केही पनि थिएन । उनी स्वतन्त्र उमेदवार बनेकी थिइन । सेलरोटीको चाङ्ग चुनाव चिन्हमा परेको ६ सय मतमा रन्जुले चित्त बुझाउनुपर्यो ।
डाउनटाउन काठमाडौंबाट रन्जुले जुन शानदार मत पाएर निर्वाचित भएकी छन्, त्यसले प्रमुख राजनीतिक पार्टीहरुलाई राम्रो धक्का दिएको छ । मुख्य गरेर कांग्रेसको आन्तरिक राजनीतिमा यसले प्रभाव पार्ने देखिन्छ । प्रकाशमान, जसलाई काठमाडौं एकले राजनीतिक उचाई दियो । त्यहाँ उनले यसपटक पाइला टेकेनन् । त्यहीँ भूमिबाट उमेदवार बनेका कांग्रेसका १०६ जना युवा उमेदवार मध्येका प्रबल पराजित बनेका छन् ।
२१ वर्षको उमेरमा काठमाडौंको नगरपिता बन्ने उत्साहकासाथ राजनीतिमा होमिएकी रन्जु हालैमात्र आमा पनि बनेकी छन् । वैकल्पिक राजनीतिकधारबाट उदाएर, छोटो समयमा राजनीतिक आरोहअवरोध खेप्दै राजनीतिको मुलधारमा आइपुगेकी रन्जुले रास्वपाको बुहनी गरेकी छन् । एउटा विधायकको भूमिकामा उनी कसरी प्रस्तुत हुने हुन्, सययले बताउँदै जाने छ ।
कभर तस्बिर: द काठमांडूपोस्टबाट /
