कांग्रेस सभापति गगन भन्छन्: कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्
भ्रामक समाचार माथि आयोग र प्रेस काउन्सिलमा उजुरी, हदैसम्मको कारवाही माग
काठमाडौं, १९ फागुन ।
नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर राखेर गलत समाचार प्रकाशन गर्ने मिडिया माथि कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । लालिगुँरास मिडिया नेटवर्कले आफ्नो फेसबुक पेजमा अन्यन्त्रको फोटो इडिट गरेर थापाको तस्बिर प्रयोग गर्दे समाचार प्रकाशन गरेको थियो । समाचारलाई लिएर नेपाली कांग्रेसले पार्टीलाई बदनाम गराउने मनसायले प्रकाशन गरेको भन्दै निर्वाचन आयोग र प्रेस काउन्सिलमा कारवाहिका लागि लिखित निवेदन दिएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘ लालिगुँरास मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसबुक पेज मार्फत अन्यन्त्रको फोटोलाई इडिट गरि आदरणीय सभापतिको तस्बिर प्रयोग गरेर नेपाली कांग्रेसलाई बदनाम गराउने कुत्सित मनसायका साथ भ्रामक र कपोकल्पित सामाग्री प्रकाशन गरेको तर्फ नेपाली कांग्रेसको गंभिर ध्यानकर्षण भएको छ ।’
प्रकाशीत समाचार आधारहीन र भ्रम फैलाउने सामाग्रीले आम नागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचन सम्बन्धी आचारसंहिता ठाडो उल्लघन उल्लघन भएको छ भनेको छ । विज्ञप्तिमा भनिएको छ ‘ त्यसैले यो विषयमा आवश्यक छानविन गरी प्रचलित कानून बमोजिम उक्त संस्थालाई हदैसम्मको कारवाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई आज लिखित जानकारी गराइएको छ ।’
कांग्रेसले सत्य तथ्य र यथार्थ सूचनाको आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
यता, पार्टी सभापति गगन थापाले सामाजिक संजालबाट आदरणीय शुभेच्छुक तथा साथीहरुलाई सम्मोधन गर्दे भनेका छन् – निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन् । थापाले सचेत हुन आग्रह गरेका छन् ।
सामाजिक संजालमा गगनले भनेका छन् :
आदरणीय शुभेच्छुक तथा साथीहरू,
निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ। त्यसैले;
* Report गर्नुहोस्: Facebook, TikTok, YouTube लगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै “Report” गर्नुहोस्।
* Verify गर्नुहोस्: कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्। अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ।
सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ ।
सभापति गगन थापा


तस्बिर : सामाजिक संजालबाट
