कांग्रेस सभापति थापाको फागु शुभकामना
काठमाडौं, फागुन १८।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना व्यक्त गरेका छन् । पार्टी सभापतिको तर्फबाट विज्ञप्ति प्रकाशीत गर्दे थापाले भनेका छन् ‘
नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पूर्णिमा (होली) आपसी प्रेम र एकताको एक विशिष्ट पर्व हो।’
वक्तव्यमा भनिएको छ
नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ्ग लगाई खुसी साटासाट गर्दै मनाइने फागु पूर्णिमा (होली) को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
रङ्गहरूको उत्सवका रूपमा मनाइने फागु पूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने गर्दछ । विविध रङ्गहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण छ र यही विविधता बीचको एकता नै नेपालीको विशिष्ट पहिचान हो । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन हामी सवैलाई प्रेरणा प्रदान गर्दछ ।
यसपटक फागु पुर्णिमासंगै हामी प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौं । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पूर्णिमा (होली) ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गर्दै पुनः शुभकामना व्यक्त गर्दछु ।
