रास्वपाबाट राणासहितका कार्यकर्ता नेपाली कांग्रेसमा आवद्ध भएको लाभ कांग्रेसका प्रदीपले लिने देखिन्छ ।

काठमाडौं, १५ फागुन ।
काठमाडौं क्षेत्र नं ५मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विभिन्न तहका नेता, कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनका उमेदवार प्रणय राणाले केही दिन अघि रास्वपामा बेथितीले घर गरेको, आर्थिक अनियमितता बढेको आरोप लगाउँदै पार्टी परित्याग गरेको पृष्ठभूमिमा शुक्रबार विभिन्न जिम्मेवारीमा रहेका दर्जन बढी नेता, कार्यकर्ताले रास्वपाबाट अलग भएको सार्वजनिक गरेका हुन् । राणा हालैमात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।


उनीहरुले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ ।
राजीनामा दिनेहरुमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुढानिलकण्ठ नपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुढानिलकण्ठ ३ की जया श्रेष्ठ, बुढानिलकण्ठ ४ का सदस्यहरु समिप घले र कवि थापा मगर छन् ।
यसैगरी, वडा पदाधिकारीहरु बुढानिलकण्ठ ७ की प्रतिभ सेढाइं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरु बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् । उनीहरु प्रणय राणा निकट मानिन्छन् ।
क्षेत्रनं ५ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेबाट इश्वर पोखरेल, राप्रपाका कमल थापा, रास्वपबाट सश्मित पोखरेल, नेकपाबाट कल्पना शर्मा लगायतका २५ उमेदवार मैदानमा छन् । अघिल्लो निर्वाचनमा पौडेल विजयी भएको यो क्षेत्रमा हेभिवेट उमेदवारहरु छन् । रास्वपाबाट राणासहितका कार्यकर्ता नेपाली कांग्रेसमा आवद्ध भएको लाभ कांग्रेसका प्रदीपले लिने देखिन्छ ।