रामबहादुर के.सी.लकस नेपाल वर्ष व्यक्तित्व २०८२ बाट सम्मानित

काठमाडौं, ३ माघ ।
लकस नेपालको ५ औं अधिवेशन तथा १४ औ. वार्षिक सभाले सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमिति उपाध्यक्ष ज्ञानीशोभा महर्जन, सचिव धर्मकृष्ण सिकर्मी, कोषाध्यक्ष रश्मिला शाक्य, सदस्यहरुमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य (शाक्य सुरेन)राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार, झवेन्द्रप्रकाश भट्टराई निर्वाचित भएका छन् । संस्थाको कानूनी सल्लाहकार तथा निर्वाचन कमिटी संयोजक किरण शाक्यले नवगठित कार्यसमितिलाई शपथ ग्रहण गराए।
अध्यक्ष सुशिला शाक्यको सभापतित्वमा भएको
अधिवेशनको उद्घाटन समारोमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सगरमाथा सामुदायिक सिकाई केन्द्र तल्लो तल्लुका अध्यक्ष रामबहादुर के.सी.लाई लकस नेपाल वर्ष व्यक्तित्व २०८२ बाट सम्मानित गरिन ।
त्यस्तै श्री नवजागरण युवा क्लब, पहाडे थापागाउँ र फर्सिडोल टोल विकास संस्थाहरुले संस्थागत सम्मान प्राप्त गरेका छन् । लकस नेपालले अमेरिकी संस्था आउटरिच इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत रहेका कार्यक्षेत्रहरुबाट प्रक्रियागत रुपमा छनौट गरी लकस नेपाल बर्ष ब्यक्तित्व सम्मान प्रदान गरिएको हो । पहिलो पटक यो सम्मान सिखर्पाका गणेशबहादुर नगरकोटीलाई प्रदान गरिएको थियो ।
संस्थाले सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत पहाडे थापागाउँ, सिखर्पा र कोञ्ज्योसोम गाउँपालिकाको तल्लो नल्लुका कार्यक्रम समापन गरिसकेको छ ।
गोदावरी नगरपालिका वडा ४ बडिखेलमा ठूलो खोला आमा समूह, वनदेवी टोल विकास संस्था, वडा नं. ६ लप्सेमा लप्से टोल विकास संस्था, वडा ९ इताहिटीमा इताहिटी टोल विकास संस्था, बागमती गाउँपालिका वडा ३ भट्टेडाँडामा सातकन्या सामुदायिक समूह, ललितपुर महानगरपालिका २२ वडा फर्सिडोलमा फर्सिडोल टोल विकास संस्था लगायतका समूहहरुको सहभागितामा कार्यक्रम चलिरहेको छ । साथै कल्चरल सर्भाइभरको किपर्स अफ द अर्थ फण्डको सहयोगमा नेपालभाषा तथा लिपि प्रवर्द्धन परियोजना संचालनमा छन् । यस परियोजना अन्तर्गत नेपालभाषा, प्रचलित नेपाल लिपि र रञ्जना लिपि कक्षा संचालन भइरहेका छन् ।