भक्तपुर कांग्रेस विशेष पक्षको बृहत् भेला : अधिवेशन सफल बनाउने उद्घोष
काठमाडौं,२४ पुस ।
नेपाली कांग्रेस भक्तपुर विशेष अधिवेशन पक्षधरले पुस २७,२८ गतेको अधिवेशनलाई अधीक सहभागिताकासाथ सफल बनाउने उद्घोष गरेको छ । बिहिबार, आयोजना गरिएको ‘विशेष महाधिवेशनका सन्दर्भमा आयोजित, भक्तपुर जिल्ला स्तरीय भेला’ मा सम्बोधन गर्दे नेता, कार्यकर्ता र कांग्रेसका शुभेच्छुकहरुले विशेष अधिवेशन कांग्रेसको नीति र नेतृत्व परिवर्तनका लागि अपरिहार्य रहेको धारणा राखे ।

भेलालाई सम्बोधन गर्दे कांग्रेसका वयोवृद्ध नेता जनकशर्मा लामिछानेले विशेषमा अधिक सहभागिताको आवश्यकता औंल्याउँदै भने ‘५४ प्रतिशत होइन ८४ प्रतिशत पु¥याऔं, हस्ताक्षर फिर्ता लिने कुरै छैन, थप्ने कुरामात्र गरौं ।’ वर्तमान कांग्रेस संस्थापनको व्यवहारबाट हृदयमा चोट लागेको बताउँदै लामिछानेले भने ‘पार्टीमा विचार राख्न नपाउँने, विधानमा चल्छु भन्न नपाउँने ? पार्टी भनेको विधिले चल्नु पर्दछ, लहडले होइन ।’
कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेस भक्तपुर महिला संघ अध्यक्ष सुरु बाँनियाले विशेष अधिवेशन कांग्रेस रुपान्तरित हुनुपर्दछ भन्नेहरुले भएको चर्चा गर्दे भनिन् ‘रिसाएका जनतालाई फकाउन सक्ने, दुःख पाएका जनतालाई मलमपट्टी लगाउन सक्ने कांग्रेस आजको आवश्यकता हो ।’ आफूहरुलाई विशेष अधिवेशनबाला भन्दै त्रास र धम्की पनि आउँने गरेको बाँनियाले बताइन । ‘हामी कसैलाई सिद्धाउन आएका होइनौं, कसैलाई खुईल्याउन आएका होइनौं’ बाँनियाले भनिन् ‘हामी गलत बाटोमा छैनौं, हामी परिवर्तनकारी हौं, आतंककारी होइनौं ।’

सामाजिक संजालबाट भक्तपुर कांग्रेसका जिम्मेवार नेताहरुबाट कारवाहीको धम्की आइरहेको चर्चा गर्दे बाँनियाले भनिन् ‘सक्नुहुन्छ भने गर्नोस कारवाही ।’
कार्यक्रममा सम्बोधन गर्दे मुरारी प्रसाद आचार्यले भक्तपुर कांग्रेसका जिम्मेवार नेताबाट गालिगलौजको भाषामा धम्काउने, तर्साउने काम भैरहेको चर्चा गर्दे त्यस्ता धम्कीबाट नडराउन आग्रह गरे । ‘गाली गलौजको जुन भाषा प्रयोग भैरहेको छ, त्यो देखेर म चकित परेको छु’ आचार्यले भने ‘तर्र्र्साएर कोही तर्सिनेवाला छैन, तर्सिनुपर्ने अवस्था छैन ।’
विशेष महाधिवेशनमा सन्दर्भमा आचार्यले भने ‘संस्थापनका लागि अल्पनीय हिसावले उपस्थिति हुँदैछ, ६५ प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागि हुँदैछन्, सारा कांग्रेस उठ्दैछ ।’
अच्यूत अधिकारीले भदौं २३, २४ गते बलेको ठूलो आगो निभि नसकेको चर्चा गर्दे भने ‘ भुङ्ग्रो बाँकी छ, आगो निभिसकेको छैन ।’ अधिकारीले राजनीतिक पार्टीहरु समय अनुसा समाजसँग समानान्तर सम्बन्ध राख्दै चल्नुपर्ने बताए । ‘राजनीतिक पार्टीहरु समाजसँग समानान्तर भएर चल्नुपर्दछ । अपडेट भएर चल्नसक्नुपर्दछ, अपडेट हुन सकेन भने आउटडेडेट हुनेहुन्छ ।’
भक्तपुर क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष भेपबहादुर कार्कीले महाधिवेशनमा भक्तपुरबाट उल्लेखनीय उपस्थिति र सहभागिता हुने बताउँदै भने ‘ विशेष महाधिवेश भक्तपुर कांग्रेसको शक्ति पर्दशन हो, टोलटोलबाट, गाउँगाउँबाट सहभागि होऔं । भक्तपुरबाट अत्यधीक संख्यामा साथीहरुको उपस्थित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ कार्कीले आजको भेलामा डेढदुईसयको सहभागिता होला भन्ने अनुमान गरेको तर पाँच सय भन्दा बढी उपस्थिति भएको बताए । कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकको उपस्थिति थियो ।
कार्यक्रममा इन्जिनियर विशुराम थापा, क्षेत्रनं १ का सचिव समुन्द्र थापा एवं विनोद केसी, माधव न्यौपाने, पत्रकार हरि अधिकारी, कांग्रेस भक्तपुर जिल्ला सदस्य कबिर राणा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम सचालन किरण न्यौपानेले गरेका थिए । दुवाकोट ब्याङकेटको ठूलो हलमा आयोजित कार्यक्रममा कांग्रेसजनको उत्साहजनक खचाखच सहभागिता थियो ।
