समाचार विश्लेषण

दशौं अधिवेशनको बन्द सत्रमा छानीछानी ओलीले ३०१ जनाको नाम वाचन गरेपछि त्यसै अनुसार भयो । कोही कसैले अध्यक्षको आदेशको अवज्ञा गरेनन् । ओलीले एककिसिमले टिका लगाएकाहरु पदाधिकारी र केन्द्रीय सदस्य बने । महाधिवेशनको औपचारिकता सम्मन्न गरियो ।तर, ११ औं अधिवेशनसम्म आइपुग्दा ओलीलाई त्यस्तो सुविधा छैन र स्वीकार्यता पनि देखिदैंन ।

कठमाडौं, २८ मंसिर ।
एमाले केन्द्रीय नेतृत्व चयनको राजनीतिमा प्रवेश गरेको छ । शनिबार पार्टीको ११औं अधिवेशनको औपचारिक उद्घाटन सम्पन्न भएपछि राजनीतिक जोड घटाउँमा प्रवेश भएको छ । आइतबार बिहानैदेखी भृकुटी मण्डपमा बन्दसत्रको प्रारम्भ भैसकेको छ । पार्टी नीति अनुसार बन्दसत्र संचालन र चुनावका निम्ति अध्यक्ष मण्डल लगायतका कमिटीको औपचारिक घोषणा पछि विद्यमान केन्द्रीय समिति भंग हुने छ ।
नयाँ केन्द्रीय समिति कस्तो बन्ला ? एमालेकालागि मात्र होइन मुलुकको राजनीतिक परिदृश्यमा एमाले नेतृत्वमा कस्ताकस्ता अनुहार आउँने हुन् आम चासोको विषय बनिरहेको छ ।
दशौं अधिवेशनको तुलनामा ११ औं अधिवेशन एमालेका निम्ति केन्द्रीय नेतृत्वका आकाक्षीहरुको व्यवस्थापन चुनौतीपूर्ण देखिदैंछ, खास गरेर संस्थापनपक्षका लागि । १०औं महाधिवेशनमा वर्तमान अध्यक्ष केपी ओलीका लागि ठूलो चुनौती थिएन, भिम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए , जुन उम्मेदवारीकालागि मात्र थियो । ओलीको नेतृत्वमा चुनौती दिने रावल एमालेबाट पन्छाइसकिएका छन् । त्यसबेला केन्द्रीय समितिको निर्वाचननै भएको थिएन ।
१० देखि १४ मंसिर २०७८ मा चितवनमा सम्पन्न दशौं महाधिवेशनको बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३०१ जनाको नाम वाचन गर्दै भनेका थिए— ‘मैले नाम भनेकाहरूले फारम भर्न अनुरोध गर्दछु । अरूले भर्न पाउनुहुन्छ, त्यसो गर्दा समय लम्बिन्छ ।’दुई हजार बढी प्रतिनिधिहरू बीच ओली जो अध्यक्षकै हैसियतमा थिए, बन्द सत्रमा छानीछानी ३०१ जनाको नाम वाचन गरेपछि त्यसै अनुसार भयो । कोही कसैले अध्यक्षको आदेशको अवज्ञा गरेनन् । ओलीले एककिसिमले टिका लगाएकाहरु पदाधिकारी र केन्द्रीय सदस्य बने । महाधिवेशनको औपचारिकता सम्मन्न गरियो ।
तर, ११ औं अधिवेशनसम्म आइपुग्दा ओलीलाई त्यस्तो सुविधा छैन र स्वीकार्यता पनि देखिदैंन । एमालेको लोकतान्त्रिक अभ्यासबीच ओलीको चारवर्षे कार्यकाल जिल्ला लगायत विभिन्न जनवर्गिय संगठनको नेतृत्वचयनमा टिका प्रथाको अभ्यास गरिएको हो । सकेसम्म प्रतिस्पर्धा हुन नदिने ओली नीतिको पालना धेरैहदसम्म भएको हो । तर, ओलीले भनेको कुरा कसैले अवज्ञा नगर्ने एमालेको राजनीतिक संस्कार र चरित्र यतिबेला धुमिल बनेको छ । ओली आफै सशक्त चुनौती सामन गर्नुपर्ने अवस्थामा पुगेको बेला हिजोको टिका प्रथा आफ्ना पक्षका लागि संभव हुनसक्छ, त्यस्तै अभ्यास देखिदैंछन् ।
विशाल जनसभा सहीत उत्साहपूर्णरुपमा सम्पन्न अधिवेशनको प्रारम्म कसरी अन्त्य हुने हो ? अध्यक्ष सहीत केन्द्रीय समितिका लागि कस्तो निर्वाचन हुने वा एकताको नाममा कुनै चमत्कारीक घोषणा त हुने होइन ? आम एमालेजनका संशयबीच पार्टी अध्यक्ष केपी शर्मा ओली जो आफै ह्याट्रिक गर्न आतुर छन् उनले पार्टी पङ्तीबीच भावनात्मक सौदाबाजी गर्ने प्रयास गरिरहेका छन् । उद्घाटन समारोहमा ओलीको प्रस्तुती धेरै एमालेका निम्ति आश्चर्यजनक मानियो ।

सामान्यतया ओली राजनीतिमा अफेसिङ्ग भूमिका खेल्ने पात्र हुन्, आफ्नो अडान नछोडन अरुलाई गलाउने उनको नैसर्गिक नीति हो । तर महाधिवेशनको सत्रमा बोल्दै गर्दा ओलीको बोलीमा डिफेसिङ्ग टोन थियो

११ औं महाधिवेशनको चर्चा गर्दे, एकएक मिलेर एघार हुने र एघारका दुईटा एक अलग भए दुईटा एमाले हुने जस्ता तर्क गर्दे एकताको सन्देश दिएका छन् ओलिले । ओलीको महाधिवेशनको राजनीतिसँगका विगत र हालैमात्रका केन्द्रीय समिति बैंठकमा प्रस्तुती भन्दा पृथक भावभंगिमा आएको भाषणको अन्तर्य के हो ? के ओली आफैले त्याग गर्न त्यस्तो सम्बोधन गरेका हुन् ? एमालेको राजनीतिलाई नजिकबाट नियालीरहेकाहरु त्यस्तो मान्न तयार छैनन् । किन भने ओलीसँग प्रतिस्पर्धा गर्न कम्मर कसेका उपाध्यक्ष इश्वर पोखरेललाई गलाउन र म आफू एकतावादी हो भन्ने देखाएर राजनीतिक पासा चलाएको अर्थ लगाइदैंछ, त्यस सम्बोधनलाई ।
सामान्यतया ओली राजनीतिमा अफेसिङ्ग भूमिका खेल्ने पात्र हुन्, आफ्नो अडान नछोडन अरुलाई गलाउने उनको नैसर्गिक नीति हो । तर महाधिवेशनको सत्रमा बोल्दै गर्दा ओलीको बोलीमा डिफेसिङ्ग टोन थियो । आक्रामक रुपमा प्रस्तुत हुने वाकपटु ओलीले आफू एकताको पक्षपाती सावित हुन त्यसरी सम्बोधन गरेको अर्थ लगाउन थालिएको छ ।
इश्वर पोखरेल जो पूर्व राष्ट्रपति विद्या भण्डारीको ब्याकिङ्गमा चुनावी मैदानमा उत्रिएका छन् उनको तयारीको दबावकै कारण ओली नरम भएका हुनसक्छन् ।
एमाले ११ औं अधिवेशनसम्म आइपुग्दा अहिले एमालेमा सेलेक्सन भन्दा इलेक्सनको आवाज ठूलो छ ।ओलीका विरुद्ध इश्वर पोखरेलको उम्मेदवारी हिजोको जस्तो उम्मेदबारीका लागिमात्र छैन । इश्वरका पछाडि पूर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिक हस्तक्षेप,चलखेल निकै प्रभावकारी देखिदैंछ । भण्डारीको राजनीतिक आकाक्षालाई निषेध गरेको मूल्य अहिले ओलीका लागि चुनौतीपूर्ण बनेको छ ।

केपी ओली सर्वसम्मत, सर्वस्वीकार्य छैन भन्नका लागि उहाँहरुले उम्मेदवारी दिने हो । जित्ने सम्भावना छैन भन्ने सबैलाई थाहा छ

विद्याले महाधिवेशन उद्घाटन हुने दिनको साइतमा एकाविहानै फेसबुकबाट एउटा सशक्त वक्तव्य जारी गरेकी छन् । सतहमा पार्टी भित्र एकता अपरिहार्यको सन्देश सहीतको व्वक्तव्यमा उनले भनेकी छन् ‘ मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना ।’
एमालेको राजनीतिक नेतृत्वको आकाक्षा सहीत भण्डारीले ठूलो तयारीकासाथ आफ्ना पति मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद (जबज)को राजनीतिक अस्त्र लिएर मैदानमा उत्रिएकी उनलाई ओली र उनका उत्तराधिकारी दाबी गर्नेहरुले अगाडी बढ्न नदिएका हुन् । विघाले वक्तव्यमा भनेकी छन् ‘ तपाईँ महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ । यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।’
विद्याको राजनीतिक अस्त्र र इश्वरको उम्मेदवारीको सामना गर्न ओलीलाई निकै ग्राहो परेको देखिदैंछ। इश्वर पुरै केन्द्रीय समितिको प्यानलको तयारीसाथ अगाडी बढेका छन् । ओलीको आदेश पालना गर्दे कतिपय पदाधिकारीहरु अहिलेकै भूमिकामा चित्त बुझाउन तयार त्यागीहरु नभएको होइन । तर, ओलीको सचिवालयका टिमका पदाधिकारीमा एकले अर्कालाई स्वीकार नगर्ने रोग पनि उत्तिकै छ । यसबाहेक ओलीको टिममा नपरे इश्वरको क्याम्पमा जानसक्ने खतराहरु  छन् ।
एमालेको मुखपत्र नवयुगको पछिल्लो ईअंक जसमा ओलीको लामो अन्तर्वाता प्रकाशीत छ, त्यसमा ओलीले इश्वरहरुको उम्मेदवारीलाई वडो हल्का टिप्पणी गरेका छन् । ओलीले भनेका छन् ‘केपी ओली सर्वसम्मत, सर्वस्वीकार्य छैन भन्नका लागि उहाँहरुले उम्मेदवारी दिने हो । जित्ने सम्भावना छैन भन्ने सबैलाई थाहा छ ।’

बद्लिएको राजनीतिक परिदृश्यबीच युवा आकाक्षा र आवाजलाई सम्बोधन गर्न एमाले कुन हदसम्म सफल हुने हो ? केन्द्रीय समितिको भावि बनोटले देखाउँने छ ।

बन्दसत्रमा एमाले प्रतिनिधिहरु कसरी खुल्दछन्, कुन रणनीतिमा बन्दसत्र र निर्वाचन कार्यक्रमहरु तय हुन्छन् त्यसले आगामी राजनीतिको कोर्स तय गर्ने छ । एमाले भित्र पनि पुस्तान्तरणको चर्को माग र दबाव छ । यही पृष्ठभूमिमा महाधिवेशन चयन गर्दा एकजना अनिवार्य ४० वर्ष मुनिको प्रतिनिधित्व गरिएको थियो ।
युवा आकर्षित गर्ने ४० मुनिकाहरुको प्रतिनिधित्व बढाउने नीति कोटा पु्¥याउने प्रयोजनका निम्ति सफल भएपनि मुलुकको जनसांख्यिक धरातलमा एमालेको प्रतिनिधित्वले मेल खाइरहेको छैन । महाधिवेशनका करिव २२ सय प्रतिनिधिबीच ४० मुनिका करिव १८ प्रतिशतमात्र प्रतिनिधि छन् । मुलुकको जनसंख्याको करिव ४१ प्रतिशत १६ देखि ४० वर्ष उमेर समुहको युवाको जनसंख्या छ ।एमालेको महाधिवेशन प्रतिनिधित्वमा भने ५०—५९ वर्षकाहरुको संख्या अधीक करिव ३५ प्रतिशत छ । त्यस्तै ४०—४९ वर्षकाहरु करिव २७ प्रतिशत । ६० वर्ष माथिकाहरुको संख्या १९ प्रतिशत भन्दा धेरै छ ।
एमालेका प्रतिनिधिमा वयस्क र बुढाहरुको बाहुल्य छ । ६० वर्ष माथिका करिव १० प्रतिशत जनसंख्याबाट एमाले प्रतिनिधि करिव १९ प्रतिशत छन् । मुलुकको जंनसख्या करिव ४१ प्रतिशतको तुलनामा एमालेमा ४० वर्ष मुनिका १८ प्रतिशतमात्र प्रतिनिधि चुनिएका छन् । जुन मुलुकको बद्लिएको राजनीति, युवाहरुमा देखिएको पुस्तान्तरणको आकाक्षाबीच न्यून हो । बद्लिएको राजनीतिक परिदृश्यबीच युवा आकाक्षा र आवाजलाई सम्बोधन गर्न एमाले कुन हदसम्म सफल हुने हो ? केन्द्रीय समितिको भावि बनोटले देखाउँने छ ।

तस्बिर: एमाले मुखपत्र नवयुगबाट साभार