विशेष अधिवेशनका अगुवा गुरुराज भन्छन् : अदालतको आदेशले कांग्रेसको अभियान रोकिदैन
नेपाली कांग्रेसलाई आवश्यक परेको कुरा विभाजनको बहस होइन, एकताको संकल्प, अविश्वासको राजनीति होइन, रूपान्तरणको नेतृत्व हो।
काठमाडौं, २२ साउन ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिता सम्बन्धी गरेको आदेशबाट कांग्रेसको अभियानमा नरोकिने बताएका छन् । कांग्रेसको आधिकारिक सामाजिक संजालबाट सार्वजनिक गरिएको मन्त्यव्यमा घिमिरेले कांग्रेसको अभियानले अझ गति प्रक्रने विश्वास गरेका छन् । कांग्रेसमा विशेष अधिवेशन बोलाउनुपर्दछ भन्ने अगुवा मध्येका घिमिरेले भनेका छन् ‘ कानुनी प्रक्रियाले आफ्नो बाटो लिन्छ, तर संगठन सुदृढीकरण,आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनर्स्थापनाको अभियान कुनै पनि परिस्थितिमा रोकिने छैन।यसले अझ गति पक्रने छ।’
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतले पुनरावलोकनको चरणमा प्रवेश गराएको छ। विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो विश्वास केवल शब्दमा होइन, व्यवहारमा पनि प्रतिबिम्बित हुनुपर्छ भन्ने मान्यताका साथ अदालतको प्रत्येक कानुनी प्रक्रियालाई हामी सम्मान गर्दछौं घिमिरेले भनेका छन् । ‘यो पनि उत्तिकै सत्य हो कि नेपाली कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्धारित भएको हो’ घिमिरेले भनेका छन् ‘ त्यसैले कानुनी प्रक्रियाले आफ्नो बाटो लिन्छ, तर संगठन सुदृढीकरण,आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनर्स्थापनाको अभियान कुनै पनि परिस्थितिमा रोकिने छैन।यसले अझ गति पक्रने छ।’
नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएका गतिरोधबारे टिप्पणी गर्दे घिमिरेले संवाद, संस्थागत प्रक्रिया र विधान नै लोकतान्त्रिक पार्टीका सबैभन्दा विश्वसनीय आधार हुन् भनेका छन् । ‘लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु हो, तर असहमतिलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु होइन। संवाद, संस्थागत प्रक्रिया र विधान नै लोकतान्त्रिक पार्टीका सबैभन्दा विश्वसनीय आधार हुन्’ घिमिरेले भनेका छन् ‘ संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थालाई होइन, व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्छ, बल पुर्याउँछ।’
‘नेपाली कांग्रेसलाई आवश्यक परेको कुरा विभाजनको बहस होइन, एकताको संकल्प, अविश्वासको राजनीति होइन, रूपान्तरणको नेतृत्व हो। त्यसैले सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन हार्दिक आग्रह गर्दछु’ घिमिरेले भनेका छन् ।

