प्रश्नै प्रश्नले घेरिएको छ शशांकको नायकत्व
समाचार टिप्पणी
काठमाडौं, १९ साउन ।
राष्ट्रिय राजनीतिमा मुलुकको एउटा शक्ति हो कांग्रेस र मुलुकको राजनीतिमा अभिभावकीय भूमिकाको व्याख्या गर्न रुचाउने कांग्रेसजन आफ्नो घर भित्र भैरहेका खैलाबैला, भेला, एकता अभियानहरुबाट ‘बेखर’ त छैन ?
काठमाडौं, १८ साउन ।
नेपाली कांग्रेसको इतरपक्ष भनिने पूर्व सभापति शेरबहादुर देउवाको गुट यतिखेर केन्द्रीय भेलाको तयारीमा छ । बीपी पुत्र डा.शशांक इतरपक्षको नायककोरुपमा अगाडि सारिएका छन् ।
इतरपक्षको तयारीसँगै एकता गराउने भेला आयोजनाको प्रचार पनि छ । गगनकुमार थापा नेतृत्वको कांग्रेस जो संस्थापनपक्ष भनिन्छ उ पार्टी महाधिवेशनको तयारी गरिरहेको प्रचारमा छ । पार्टी केन्द्रीय कार्यलयबाट नीतिहरु प्रतिपादन भैरहेका छन् र एकपछि अर्को गर्दे निर्देशन पनि जारी भैरहेका छन् । सानेपा क्रियाशील देखिएको देखिदैछ यतिबेला राजनीतिक वृतमा ।
राष्ट्रिय राजनीतिमा मुलुकको एउटा शक्ति हो कांग्रेस र मुलुकको राजनीतिमा अभिभावकीय भूमिकाको व्याख्या गर्न रुचाउने कांग्रेसजन आफ्नो घर भित्र भैरहेका खैलाबैला, भेला, एकता अभियानहरुबाट ‘बेखर’ त छैन ? गहिरा प्रश्नहरु छन् गगनका सामुन्ने ।
यता नयाँ पार्टी स्थापना गर्ने तयारीकासाथ भेला आयोजनामा दिलोज्यान दिइरहेको पक्ष आफै पनि प्रश्नहरुको घेरामा छ । सामान्यजस्ता लाग्ने भेला आयोजकहरुसँग सम्बन्धित प्रश्नहरु सामान्य भने देखिदैनन् ।
प्रश्नहरुः
पूर्णबहादुर खड्का किन अनुपस्थिति ?

साउन १६ गते चुनदेवीबाट डा.शशांकलाई भेला आयोजकको संयोजक तोक्ने बैंठकमा पूर्णबहादुर खड्का उपस्थित थिएनन् । इतरपक्षका प्रारम्भदेखिका नेता, शेरबहादुर देउवाका औपचारिक विरासत पूर्णबहादुरको अनुपस्थितिले इतरपक्ष ‘अपूर्ण’ आयोजक समिति गठन गर्ने निचोडमा पुगेको त होइन ? भेला आयोजकको कमाण्डरको हैसियतमा शशांकले भनेका थिए ‘पार्टी भित्रको वर्तमान अवस्था, मुलूकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक–सांसकृतिक लगायतका नागरिकका जीवनसंग जोडिएका विविध गंभिर सवालहरुमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरुलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्य दिशा सहित पार्टीलाई सवल र सक्षम बनाउँने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ ।’
शशांकको ‘मेरै संयोजकत्वमा’ भन्ने शब्दवलीले उनी पूर्णबहादुरको विकल्प हुन् भन्ने सन्देश दिएको छ । के पूर्णबहादुरलाई उनका समवयी नेताहरुले स्वीकार नगरेका हुन् ? उनलाई रुघा लागेर आउँन नसकेको बताइयो । के पूर्णबहादुर इतरपक्षको सर्वाधिक महत्वपूर्ण बैंठकमा आउँनैनसक्ने अशक्त बिरामी थिए ? वा ऐन मौकामा बहाना बनाएर पन्छिने उनको पहिल्यैदेखिको बानी व्यवहारकै कारण उनी त्यहाँ उपस्थित हुन् सकेनन् ,आएनन् ?इतरपक्षका खास नेताहरुको नाम लिनुपर्दा ७ सात जनाको नाम आउँछ । पूर्णबहादुर, कृष्ण सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, शंशाक कोइराला, रमेश लेखक, प्रकाशरण महत । एनपि सावद, मीनबहादुर विश्वकर्मा पनि नेताहरुकै परिधिमा गनिन्छन् ।
गगनलाई सभापति स्वीकार गर्न नसक्ने मनोविज्ञानबाट गठन भएको इतरपक्षको कमान पार्टीका पूर्व सभापति शेरबहादुर देउवा जो विदेशमा छन्, उनै हुन् ? वा होइनन् ? सिटौला, निधि, सिंह र कोइराला कसैको पनि पहिलो चाहना पूर्ण होइनन् ? पूर्ण किन बन्न सकेनन् सर्व स्वीकार्य । कांग्रेस देउवा गुटका यी निमित्त नायकहरु सबै आफैलाई पूर्ण ठान्नै गर्दछन् । एकले अर्कोलाई नेता स्वीकार्ने उदारमना छैन् उनीहरुमा । पार्टीको नियमकानूनको व्याख्या, अपब्याख्या गर्नसक्नेहरुको जमात खासमा शकुनी राजनीतिक अभ्यास गर्देछन् ।
शशांक कसरी संयोजक बने ? के बीपी पुत्र हुनुनै उनको ओज हो जसले पुर्णहरुलाई निस्तेज बनाउन सकेको हो ? शशांक देउवाको पहिलो कार्यकालका महामन्त्री हुन् । ‘निवास’को राजनीतिकधरालाई उनले पहिल्यै बुढानीलकण्ठमा समर्पित गरिसकेका हुन् । हुनसक्छ पूर्ण प्राविधिक कार्यवाहक र देउवाको खास विरासत शशांक हुन् । के शशांकले आफ्ना बाबुको राजनीतिक विरासत लिन र धान्न सक्छन् ? इतरपक्ष अहिले चौबाटाको मादल जस्तो देखिएको छ । यो समुहमा ‘हिन्दूवादी’ कलेबरमा रंगिने खतराहरु छन् ।‘मेलमिलाप’ को गित गाउँदै नेपाली जनताले फालिसकेको राजतन्त्रलाई ‘सवैधानिक’ श्रीपेच लगाइदिनुपर्दछ भन्नेहरु पनि छन् । सबै खाले अराजकहरुको संयोजन गर्नु वीपी वाद हो ? शशांक कताबाट निर्देशीत भएर देउवाको निमित्त नायक बनेका हुन ? अनत्तरित छन् प्रश्नहरु ।
डा. शेखर कता ?

यो प्रश्नको उत्तर सायद डा. शेखरलाई पनि थाहा छैन । कांग्रेस सभापतिको दौडमा अघिल्लो अधिवेशनदेखि लागि परेका शेखर पछिल्ला कांग्रेस राजनीतिक आरोह अवरोहरुमा यता न उताका हुन पुगे । के उनले विश्राम लिएका हुन् ? ‘पर्ख र हेर’ अवस्थाबाट गुज्रिरहेको देखिन्छ उनको नियति । एकताको उनको सुत्र, कामयाव हुन सकिरहेको छैनन् उनका नजिकका पारिवारिक सदस्यहरु शेखरमा वैराग्यभावको प्रधानता छ । उनी लामो समय निवासमा दिन काटी रहेको कथन उनकै दौतरीहरु कथन सुनाउँछन् ।
भेला आयोजक समिति गठनको क्रममा शेखरकाबारे सोधिएको प्रश्नमा शशांकको उत्तर थियो — विराटनगरमा हुनु हुन्छ, फोनमा कुरा भैरहेको छ । आजै पनि फोन भएको थियो । हामीसँगै हुनुहुन्छ । शशांकले भनेजस्तै शेखरले शशांकलाई नेता मानेर समर्पण भावमा मौनतामा बस्न रुचाएका हुन् ? शेखरका नजिकका धरान, विराटनगरका उनका शुभचिन्तकहरु जो कतिपय सामाजिक संजालमा सक्रिय थिए । उनीहरु पनि शशांकको उदय पछि मौन जस्तै छन् । कुनै प्रतिक्रिया जनाएका छैनन्, निस्क्रिय छन् । के ‘निवासको’ राजनीतिक विरासतलाई शशांकको काधँमा सुम्पिएर केशव ÷नोना पुत्र शेखर र गिरिापुत्री सुजाता, कोइराला वंश परम्परालाई देउवाको पाउँमा चढाउन तत्पर भएका हुन् ? कांग्रेस राजनीतको धरोधर ‘निवास’को मुल खाँबो शेखर हुन कि शशांक ? प्रश्नहरुको उत्तर मोबाइल फोनले दिइरहेका छैनन् । शेखर शशांकसँगै छन कि ‘पर्ख र हेर’ फर्मुला फिट हुन नसकिरहेको अहिलेको समयमा विस्मात मानिरहेका छन् ?
को को छन् मुल आयोजक समितिमा ?
साउन २९—३१ सम्म काठमााडौंमा आयोजना हुने ५५१ सदस्सीय मूल आयोजक समिति गठन भएको घोषणा त गरिएको छ । भेलामा विभिन्न प्रस्ताव गर्ने र जिम्मेवारी तोकिएका १६ वटा आयोजक समिति हुने भनिएको छ । मुख्य नायक कोइराला बाहेक अन्य समितिमा अरु को को छन् ? सार्वजनिक गरिएको छैन । मुल आयोजक समितिमा पार्टीका १४ औ अधिवेशनका केन्द्रीय सदस्यसहित प्रदेश, जिल्ला, क्षेत्र र स्थानीयतहसम्मका पदाधिकारीहरु हुने भनिएको छ ।
प्रचार समितिका संयोजक मीन विश्वकर्माले मूल आयोजक समितिका सदस्यहरुको नाम टापइगर्ने काम भैरहेको छ भने जवाफ नै खास उत्तर हो ? केन्द्रदेखि स्थानीयतहसम्मका पदाधिकारीहरु मध्ये शंशांकको संयोजकत्वको ५५१ को लामो लिस्ट सार्वजनिक गर्न मिल्दैन ? के ले रोकेको हो ?

