काठमाडौं, १८ साउन ।
नेपालको पूर्वी नाक काँकडभिट्टाबाट निर्यात हुने दुई प्रमुख बाली अलैची र चिया एउटामा उत्सानजनक आकर्षण छ भने अर्कोमा त्यसको विपरित निरासजनक स्थिति छ ।
गएको आर्थिक वर्ष पूर्वी नाकाबाट निर्यात भएको अलैची निकै उत्साहवर्धक देखिन्छ । अलैँची निर्यात ६४ प्रतिशतले बढेर एक वर्षको आम्दानी झण्डै ५ अर्बले बढेको छ । यता चियाको अवस्था भने खस्ता छ । आँकडामा अलैँची उत्पादन, मूल्य र निर्यातका बढोत्तरी छ । यता चिया भने  निर्यात परिणाम र पैसा दुबैमा गिरावट छ । वितेको आर्थिक वर्षमा अधिल्लो आर्थिक वर्षको तुलनामा चिया  करिव ६५ करोडले कमी छ ।

अघिल्लो वर्षको तुलनामा अलैँची करिव २१ लाख किलो बढी निर्यात भएको तथ्याङ्क छ । गत वर्षको तुलनामा उत्पादनकासाथै किसानले राम्रो मूल्य पाएको स्थानीय बताउँछन् । गत वर्ष एक मन(४०किलो)को ९० हजार देखि ९५ हजार मूल्य रहेको अलैँची यो वर्ष १ लाख २ हजारदेखि १लाख २५ हजारसम्म पुगेको थियो ।

अलैँची आकर्षण
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२र८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१र८२ मा यस नाकाबाट रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार रु चार अर्ब ९६ करोड २९ लाख ३३ हजारले वृद्धि भएको हो । प्रतिशतका आधारमा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।
कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८१र८२ मा भने ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो । काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तरराष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो ।
नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलँैची प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्राआर्जनमा समेत योगदान पुर्याउँदै आएको छ । उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तार गर्न सके आगामी वर्षमा अलैँची निर्यात अझ बढ्ने सम्भावना रहेको भन्सार अधिकृत माङ्कल राईले बताए ।

चियामा चिन्ता
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो । आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।
परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९ हजारको गिरावट आएको छ । प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ । नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध र अन्तरराष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको न्यौपाने बताउँछन् ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ । निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा असर पार्ने देखिन्छ ।

तस्बिर : सामाजिक संजालबाट ।समाचार राससको समाचारमा आधारित ।