देवानगञ्ज घटनाका मृतक परिवार र गृहमन्त्रीबीच ७ बुँदे सहमति
सहमतिमा दुवै मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने, देवानगञ्ज गाउँपालिका ३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने भनिएको छ ।
काठमाडौं, १४ साउन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कसियागञ्जमा भएको दुःखद् घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबीच बिहिबार राती सहमति भएको छ।
साउन १० गते घटेको घटनालाई लिएर भएको छलफलपछि गृह मन्त्रालयले पीडित पक्षका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

सम्झौतामा दुवै मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने, मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटना अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुन बमोजिम यथाशीघ्र कार्यान्वयन गरिने सहमति पत्रमा उल्लेख छ ।
देवानगञ्ज गाउँपालिका ३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति छ ।
मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिनेछ। यससँगै आज दिउँसो २:०० बजे दुबै मृतकको अन्तिम संस्कार गर्ने सहमति भएको छ।

