खिम्ती—ध्वाङ्ग जलविद्युतमा एनएमबी बैंकको एक अर्ब २४ करोड लगानी
गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।
काठमाडौँ, १३ साउन ।
दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।
आयोजना प्रवद्र्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैङ्कबीच हालै ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैङ्कका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैङ्किङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका हुन ।
कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ भएर बहने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषद्बाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँचमार्ग, गोदाम, आवासगृह निर्माणलगायत पूर्वतयारीको काम सम्पन्न भइसकेको छ ।
यस्तै, सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कुल रु एक अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनामा रु एक अर्ब २४ करोड बैङ्क ऋणबाट व्यवस्थापन गरिनेछ । बाँकी रु ५६ करोड स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये रु ३५ करोड जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए ।
कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ । रासस
Photo: Nepal Energy Forum

