हालको महसुल संरचनाको समग्र समीक्षा गरेर नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय दिइएको छ । समितिले तयार पारेको प्रतिवेदनको आधारमा प्राधिकरणले नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ ।

काठमाडौं, १४ साउन ।
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको समग्र समीक्षा गरी नयाँ दर प्रस्ताव गर्न समिति गठन गरेको छ । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०४० औं बैंठकले समिति गठन गरेको हो । बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरेर नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय दिइएको छ । समितिले तयार पारेको प्रतिवेदनको आधारमा प्राधिकरणले नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ ।
सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
विद्युत खपतमा भ्याट लगाएकोमा व्यापक आलोचना खेप्दै आएको सरकारले विद्युत मूल्यमा समायोजन गरेर राहत दिने योजना अन्तर्गत महसुल निर्धारण समिति गठन भएको देखिन्छ ।
प्राधिकरणका अधिकारीहरुका अनुसार विद्युत आपुर्तिको अवस्थालाई ध्यानमा राखेर दुई खाले महसुल लाग्ने संभावना छ । वर्षा याममा माग भन्दा धेरै विद्युत उत्पादन हुने र हिउँदमा भारतबाट आयात गरेर आपुर्ति व्यवस्था मिलाइरहेको प्राधिकरमा लामो समयदेखी महसुल समीक्षाको आवाज उठिरहेको थियो ।
नयाँ महसुसमा हिउँद र वर्षाको फरक फरक दररेट हुने अनुमान छ । त्यस्तै, न्यूनतम उपभोगको सीमामा पनि परिवर्तन हुने संभावना छ ।
वर्षा याममा अधिक खपत, हिउँदमा फारु गरेर विजुली उपयोग होस् भन्ने रणनीतिमा नयाँ महसुलको गृहकार्य भएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले हाल कायम रहेको न्यूनतम ५० युनिटको व्यवस्थामा परिवर्तन गरेर १५० युनिटसम्म भ्याट नलाग्ने व्यवस्थाका काम भैरहेको बताउने गरेका छन् ।