काठमाडौं, १२ साउन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । मङ्गलबार दिउँसो उपचारका क्रममा उनको निधन भएको हो ।
नेपाली कांग्रेसको कर्मठ कार्यकर्ता भएर जीवनपर्यन्त योगदान गर्नुभएका श्रेष्ठ क्यान्सर पीडित थिए । उनको ८३ वर्षको उमेरमा निधन भएको हो विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत थिए ।

श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बुधबार बिहान सानेपास्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यही साउन ६ गते बिपी स्मृति दिवशको कार्यक्रमममा श्रेष्ठलाई वरिष्ठ नेताको सम्मान दिएको हो ।

पार्टी अध्यक्ष गगनकुमार थापाले श्रेष्ठको निधनमा फेसबुकमा लेखेका छन् ।

भावपूर्ण श्रद्धाञ्जली

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हाम्रा आदरणीय अभिभावक गोपालमान श्रेष्ठ दाईको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ।

नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ। स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ।

पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो समर्पित,निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति हो।
आदरणीय गोपालमान दाईप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली१ साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंको निष्ठा र समर्पणको बाटोमा हामी निरन्तर हिँडिरहनेछौँ।
उहाँप्रति श्रद्धाञ्जली अर्पणका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ।

नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्गदम्बेले  भनेका छन् ।
हार्दिक श्रद्धाञ्जली
नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व कार्यवाहाक सभापति श्रदेय गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा आज भएको असामयिक निधनको खबरले म अत्यन्त दुःखी र मर्माहत भएको छु ।
स्वर्गीय श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । २०१७ साल, विद्यार्थी जीवन देखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गर्नुभएको उहाँले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२(०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो । लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफलताका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उहाँले पुर्योउनुभएको योगदान सदैव स्मरणीय रहनेछ ।
पटक(पटक जननिर्वाचित प्रतिनिधि, उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्दै उहाँले राष्ट्र, लोकतन्त्र र नेपाली कांग्रेसको सुदृढीकरणमा पुर्याउउनुभएको योगदानले उहाँलाई नेपाली राजनीतिको सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरेको छ । उहाँको सरलता, निष्ठा, त्याग र समर्पण भाव भावी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत रहनेछ । यस दुःखद् घडीमा स्वर्गीय गोपालमान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
भीष्मराज आङदेम्बे
नेता, नेपाली कांग्रेस संसदीय दल