मुलुकभरका अस्पताल र स्वास्थ केन्द्रमा चिकित्सक हडताल, आकस्मिक बाहेकका सबै सेवा बन्द
स्वास्थ्य मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह ।
काठमाडौ, १२ साउन ।
स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघको आव्हानमा मंगलबार देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गरिएको छ ।
संघले सोमबार विज्ञप्ति प्रकाशीत गर्दे चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउन आग्रह गरेको छ। ‘‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्याउँछ’ भन्ने सन्देश दिँदै स्वास्थ्य क्षेत्रलाई भयरहित र सुरक्षित बनाउनका लागि दबाब दिन यो विरोध कार्यक्रम आव्हान गरिएको हो।
संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।
सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भर्त्सना गरेको छ।
यता चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ । मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको वक्तव्यमा उल्लेख छ ।
मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक पहल भइरहेको बताएको उल्लेख गर्दे विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।
स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।
चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा मंगलबार सर्वपक्षीय भेलाको निर्णय पछि थप आन्दोलनमा कार्यक्रम सार्वजनिक गर्ने उल्लेख छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ । मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

