कर्फ्यू आदेश विपरित बिहानैदेखी आगजनी, तोडफोड भएपछि सेना परिचालन भएको छ । भारतीय सीमा नजिक रहेको विवादग्रस्त क्षेत्र सुरक्षा दृष्टिकोणले संवेदनशील क्षेत्र मानिन्छ ।

काठमाडौं, ११ असार ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तान गन्जमा आइतबार राती शिव भक्तहरूले डिजे बजाएपछि डिजे बजाउने र मध्यरातमा होहल्ला नगर्न आग्रह गर्ने दुई समूहको विवाद बढेर मृत्युसम्म पुगेको हो । आज, बिहानैदेखी जिल्ला प्रशासनले सो क्षेत्र र आसपास कर्फ्यू लगाएको छ ।
कर्फ्यू आदेश विपरित बिहानैदेखी आगजनी, तोडफोड भएपछि सेना परिचालन भएको छ । भारतीय सीमा नजिक रहेको विवादग्रस्त क्षेत्र सुरक्षा दृष्टिकोणले संवेदनशील क्षेत्र मानिन्छ ।
आइतबार राती दुई समूहको विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ भने ८ जना स्थानीय युवा घाइते भएका छन् । युवाहरूको आक्रमणमा परी ८ जना प्रहरी समेत घाइते भएको जनाइएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता हुन् । मेहताको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये दुईजनाको अवस्था गम्भीर छ । घटनामा स्थानीय, प्रहरी समेत २१ जना घाइते भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार साउने सोमबारको बोल बम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो ।
स्थिति तनावग्रस्त बन्दै गएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।समूहबिचको झडपमा कप्तान गन्ज बजारको घर,मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएका छन् ।
हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र तथा देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यू जारी छ । आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत तोकिएको छ।

तस्बिर: सामाजिक संजाल