डा. केसी र सरकार पक्षबीच छलफल प्रारम्भ
काठमाडौं , १० साउन ।
अनशनरत डा.गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीबीच धनगढीको सेती अस्पतालमा छलफल सुरु भएको छ । डा.केसीका सहयोगी डा।अमृत जैशीका अनुसार केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भएको छ ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा सहभागी छन। डा.केसीका तर्फबाट उनका सहयोगी डा.अमृत जैशी र पवन थापा सहभागी छन ।
डा. केसीले सरकारलाई साउन ५ गतेसम्म माग सम्बोधन गर्न समय दिएका थिए । आफ्ना मागलाई बेवास्ता गरिएको उल्लेख गर्दै केसीले साउन ७ गतेदेखि अनशन सुरु गरेका हुन्।
केसीले राखेका ५ माग
१. स्थापित नियम र मूल्यमान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।
२.चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।
३.राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् ।
४.सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् ।
५.२०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस् ।
तस्बिर: सामाजिक संजाल

